News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी–२० विश्वकपमा लगातार तीन हारपछि सोमपाल कामीले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गरे।
- नेपालले वेस्ट इन्डिजसँग ९ विकेटले हारेर टी-२० विश्वकपबाट बाहिरिएको छ।
- सोमपालले ब्याटिङ सुधार आवश्यक ठानेर टेस्ट राष्ट्रसँग सिरिज आयोजना गर्न क्यानको पहल महत्वपूर्ण भने।
३ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा लगातार तीन हार बेहोरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामीले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।
इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि त्यसपछि टोलीले निरन्तर राम्रो क्रिकेट खेल्न नसकेको उनले स्वीकार गरे। ‘हामी यसभन्दा धेरै राम्रो टिम हौं। तर पछिल्ला खेलमा राम्रो क्रिकेट खेल्न सकेनौं। अवसर पाउँदा अझ बलियो भएर फर्किन्छौं’ सोमपालले भने, ‘आगामी दिनमा राम्रो खेल्दै देशलाई गर्व गराउने प्रयास गर्छौं।’
नेपालले आइतबार वेस्ट इन्डिजसँग ९ विकेटको हार बेहोरेपछि टी-२० विश्वकपबाट बाहिरिएको छ । सोमपालले यस खेलमा टसले पनि असर गरेको बताए । ‘विकेट गाह्रो थियो, कन्डिसन पनि सजिलो थिएन। टस हार्नुको असर पनि पर्यो’ उनले भने। उनका अनुसार विपक्षी वेस्ट इन्डिज फरक स्तरको टोली भएकाले चुनौती झन् बढेको थियो।
इटलीविरुद्धको हार आफूलाई भावनात्मक रूपमा धेरै गाह्रो लागेको उनले बताए। ‘तीन वटा विश्वकप खेले पनि यदि मैदानमा शतप्रतिशत दिन सकेनौं भने त्यसको अर्थ हुँदैन। इटलीसँगको हारले मलाई धेरै दुःखी बनायो’ उनले भने।
उनले टोलीको ब्याटिङ पक्ष सुधार्नुपर्ने आवश्यकता औंल्याए। ‘खेल जित्न रन बोर्डमा राख्नैपर्छ। विकेट राम्रो छ, बाउन्ड्री सानो छ। हामीले ब्याटिङमा अझ धेरै मेहनत गर्नुपर्छ’ उनले स्पष्ट पारे।
टेस्ट राष्ट्रहरूसँगको खेलबारे उनले नेपाल क्रिकेट संघ (क्यान)को पहल महत्वपूर्ण हुने बताए। ‘टेस्ट राष्ट्रसँग राम्रो सिरिज आयोजना गर्नुपर्छ, त्यो बोर्डमा निर्भर गर्छ’ उनले भने। अफगानिस्तानसँगको सम्भावित सिरिजबारे भने उनले नेपाल तयार रहेको बताए, ‘हामी अफगानिस्तानलाई नेपालमा स्वागत गर्न तयार छौं।’
सोमपालले समर्थकहरूसँग क्षमायाचना गर्दै भने, “पहिलो खेल र अहिलेको प्रदर्शनबीच ठूलो फरक देखियो। हामी आफैं पनि निराश छौं। समर्थकहरूसँग माफी चाहन्छौं।”
प्रतिक्रिया 4