News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन गर्न विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाएको छ।
- नियमन आयोगले वर्गीकरण परिवर्तनले प्राधिकरणको वार्षिक आम्दानीमा पर्ने असर र त्यसको न्यूनीकरणबारे विवरण मागेको छ।
- आयोगले विस्तृत अध्ययनसहित प्रस्ताव पेस गर्न भनेको छ र आवश्यक विवरण प्राप्त भएपछि निर्णय गर्ने जनाएको छ।
३ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन गर्न विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाएको छ ।
प्राधिकरणले ग्राहक वर्गीकरण नियमावली तथा कार्यक्रम अनुसार उपभोक्ताको वर्ग छुट्याइदिन अनुरोध गर्दै पत्राचार गरेको हो ।
पत्रपछि आयोगले त्यसबारे थप विवरण मागेको छ । नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धितालले उपभोक्ता वर्गीकरण परिवर्तन गरिदिन प्रस्ताव गरिएको बताए ।
प्राधिकरणले नयाँ विद्युत दर (रेट) निर्धारण मागेको नभई उपभोक्ता वर्गीकरण परिवर्तन माग गरेको उनको भनाइ छ ।
आयोगले उपभोक्ता वर्गीकरण परिवर्तन गर्दा प्राधिकरणको वार्षिक आम्दानीमा के कस्तो असर पर्छ ? भनेर त्यसको विवरण मागेको छ ।
‘उपभोक्ता वर्गीकरण परिवर्तन गर्दा प्राधिकरणको वार्षिक आम्दानीमा कस्तो असर पर्छ र त्यो असरलाई प्राधिकरणले कसरी न्यूनीकरण गर्छ भन्ने उचित जस्टिफिकेसन सहित विवरण पेस गर्न हामीले पत्र लेखिसकेका छौं,’ उनले भने ।
प्राधिकरणले हालका उपभोक्तालाई उनीहरूको वर्गीकरण गरेर अर्को वर्गमा राखिदिन अनुरोध गरेको हो ।
‘होटलको व्यावसायिक वर्गीकरणभित्र पर्थ्यो, तर अब औद्योगिकभित्र पारियो भने अहिलेको दरमा फरक पर्छ, हामीले त्यही जानकारी माग गरेका हौं,’ अध्यक्ष धितालले भने ।
वर्गीकरण परिवर्तन आफैंमा दर निर्धारण नभए पनि त्यसले प्रत्यक्ष रूपमा महसुलमा असर पार्छ । अहिले केही उपभोक्ता व्यावसायिक, औद्योगिक वा सामुदायिक जस्ता फरक श्रेणीमा राखिएका छन् । कुनै होटल व्यावसायिक श्रेणीमा छ भने औद्योगिकमा सार्दा तिर्नुपर्ने महसुल फरक हुन्छ ।
यसकारण वर्गीकरण परिवर्तनले प्रत्यक्ष रूपमा प्राधिकरणको वार्षिक राजस्वमा प्रभाव पर्ने आयोगको ठहर छ ।
आयोगले प्राधिकरणसँग वर्गीकरण परिवर्तन गर्दा वार्षिक आम्दानीमा कति असर पर्छ ?, त्यसको असरलाई प्राधिकरणले कसरी समायोजन वा न्यूनीकरण गर्छ ? भन्ने विषयमा जानकारी माग गरेको हो ।
विभिन्न ग्राहक समूह (व्यावसायिक, औद्योगिक, सामुदायिक आदि) मा वर्गीकरण परिवर्तन हुँदा समग्र आय घट्न सक्ने संकेत देखिएकाले आयोगले विस्तृत अध्ययन सहित प्रस्ताव पेस गर्न भनेको हो ।
यसरी व्यापक वर्गीकरण परिवर्तन प्रस्ताव पहिलो पटक आएको आयोगले जनाएको छ । आवश्यक विवरण प्राप्त भएपछि मात्रै आयोगले निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्राधिकरणबाट मागिएको विवरण प्राप्त भएपछि आयोगले अध्ययन गरी उपभोक्ता वर्गीकरण परिवर्तनबारे अन्तिम निर्णय लिने छ । यस्तो निर्णयले विद्युत् उपभोक्ताले तिर्नुपर्ने महसुल, प्राधिकरणको आम्दानी संरचना तथा समग्र विद्युत् बजार व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा छ ।
प्राधिकरणको बोर्ड बैठकले नै निर्णय गरेर वर्गीकरणका लागि पत्राचार गरेको थियो । आयोगले लेखेको पत्रको जवाफ दिने गृहकार्य अघि बढेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4