News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय बिजुलीमा ध्यान केन्द्रित हुने बताए।
- शाक्यले सुदूरपश्चिममा अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर विद्युत् गुणस्तर सुधार्ने जानकारी दिए।
- उहाँले उद्योगीका लागि विद्युत् निरन्तरता र भोल्टेज गुणस्तरीय हुनु आवश्यक रहेको उल्लेख गरे।
२० पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित हुने बताएका छन् ।
‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुगेका उनले विभिन्न वितरण केन्द्र र सबस्टेसन निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘पहिलाका दिनमा लोडसेडिङ थियो, त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो, अब बिजुली पुर्याएर मात्रै हुँदैन,’ उनले धनगढीको कार्यक्रममा भने, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ, गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन, बिजुली भरपर्दो हुनुपर्यो ।’
उनले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबैभन्दा बढी विद्युत् खपत गरेर प्राधिकरणको आम्दानीमा मात्रै टेवा पुर्याउने होइन, विद्युत् उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्ने बताए ।
‘उद्योगीले विद्युत् कच्चापदार्थका रूपमा प्रयोग गर्नुहुन्छ, त्यो बिजुली प्रयोग गरेर त्यो भन्दा चार–पाँच गुणा बढी योगदान थप्नु हुन्छ,’ उनले भने, ‘विद्युत् उपभोक्ता हाम्रो आम्दानीका लागि मात्रै होइनन्, देशकै अर्थतन्त्रको योगदानका लागि महत्त्वपूर्ण भएको हुनाले उहाँहरूको सम्मान गर्दै गर्दा हाम्रो दायित्व मात्रै पूरा गरेका होइनौं, अर्थतन्त्रमा योगदान दिनुभएको र रोजगारीको पनि अवसर दिनुभएकाले धन्यवादका रूपमा यो अभियान चलाएका हौं ।’
उनले गुणस्तरीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको भन्दै अझ उद्योगीका लागि झन् आवश्यक हुने उल्लेख गरे ।
‘एक पटक केही समय बन्द हुँदा कि जेनेरेटर चलाउनुपर्ने हुन्छ वा उनीहरूको उत्पादन खेर जाने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसैले उद्योगीका लागि विद्युत् निरन्तरता अत्यावश्यक छ, त्यसका लागि विद्युत् भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’
उनले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै सुदूरपश्चिम क्षेत्रको विद्युत् विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको पनि जानकारी दिए ।
‘यो क्षेत्रका लागि यो राम्रो छ, त्योसँगै सुदूरपश्चिम क्षेत्रमा अन्य धेरै आयोजना पनि आइरहेको हुनाले यो ठाउँको विद्युत् गुणस्तर राम्रो हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘हामी छिट्टै जति ठूलो उद्योग आउँदा र उनीहरूले माग्दा पनि दिन सक्ने अवस्थामा पुग्नेछौं ।’
उनले कर्णाली र सुदूरपश्चिम निरीक्षण भ्रमण क्रममा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको पनि निरीक्षण भ्रमण गरे ।
उनले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानका उपाय सहित तालिका बनाएर अघि बढ्नका लागि निर्देशन दिए ।
प्रतिक्रिया 4