News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भई समूह चरणबाटै बाहिरियो।
- कप्तान रोहित पौडेलले ब्याटिङ युनिट असफल भएको र स्तर उकास्नुपर्ने बताएका छन्।
- उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउँदै नेपालका लागि विश्वकपमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्।
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो । लगातार तीन खेलमा पराजित भएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले ब्याटिङ युनिट असफल भएको बताएका छन् ।
नेपालले तीन खेल खेल्दा पहिलो खेलमा इंग्ल्याण्डलाई ठूलो स्कोर पछ्याउँदा पनि टक्कर दिएको थियो । तर त्यसपछि इटली र वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालको ब्याटिङ फिक्का जस्तै रह्यो ।
वेष्ट इन्डिजसँगको खेलपछि होस्ट ब्रोडकास्टरसँगको कुराकानीमा रोहितले नेपाली ब्याटिङ फेरि असफल भएको बताएका हुन् । ‘ब्याटिङ युनिटको रूपमा हामी फेरि असफल भयौं र अब हामीले स्तर उकास्नैपर्छ,’ रोहितले भने ।
वेस्ट इन्डिजविरुद्ध नेपालले पावर प्लेमा जम्मा २२-३ रन मात्र बनाएको थियो । खेलमा उपपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु बाहेक अरु खासै चल्न सकेनन् । यस्तै दीपेन्द्र र सोमपाल कामीले एक मात्र अर्धशतकीय साझेदारी गरेका थिए ।
रोहितले ब्याटिङमा साझेदारी बन्न नसकेको पनि स्वीकारे । ब्याटिङमा साझेदारी गर्दै ठूलो स्कोरमा बदल्नु जरुरी रहेको पनि उनले बताए । ‘हामी ब्याटिङ साझेदारी बनाउन चुकिरहेका छौं । २० वा ३० रनको साझेदारी त बनिरहेका छन्, तर त्यसलाई ठूलो साझेदारीमा रूपान्तरण गर्न सकिरहेका छैनौं’ उनले भने, ‘ब्याटरको रूपमा जसले राम्रो सुरुआत पाउँछन्, उनीहरूले त्यसलाई ठूलो स्कोरमा बदल्न सकिरहेका छैनन् । सुधार गर्नुपर्ने क्षेत्र त्यही हो ।’
आइतबार वानखेडे स्टेडियममा विहानको खेल थियो र त्यसमा वेस्ट इन्डिजले टस जितेपछि नेपालले पहिले ब्याटिङको निम्तो दियो । जसमा नेपालले ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजविरुद्ध विहान ब्याटिङ गर्दा चुनौतीपूर्ण भएको कप्तान रोहितले बताए । ‘विहान पहिले ब्याटिङ गर्दा चुनौतीपूर्ण थियो, विशेषगरी म्याथ्यु फोर्ड, अकिल होसेन र जेसन होल्डरले पावरप्लेमा जस्तो बलिङ गरे । उनीहरूले अवस्थाको निकै राम्रो उपयोग गरे’ रोहितले भने ।
सुरुवातमा विकेट कठिन भएको रोहितको भनाइ थियो । दीपेन्द्रको इनिङ्सबारे सोध्दा रोहितले उनले अवसरको प्रतिक्षा गर्दै त्यसको फाइदा उठाएको र सबैले त्यो सिक्नुपर्ने बताए । ‘उनले आफ्नो समय लिएर निकै राम्रो खेले । उनले अन्तिममा प्रहार गरे । तर सुरुवातमा विकेट कठिन हुँदा उनले अवसरका लागि धैर्य गरे अनि पछि फाइदा उठाए । हामी सबैले त्यसबाट सिक्नुपर्छ’ रोहितले भने ।
नेपालको इनिङ्समा दीपेन्द्रले सर्वाधिक ५८ रन बनाए । उनी टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी समेत हुन् र यस क्रममा उनी विश्वकपमा नेपालबाट व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी पनि बने । सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकपमा डेब्यू गर्दा ओपनर सुवास खकुरेलले तेस्रो खेलमा अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए ।
वेस्ट इन्डिजविरुद्ध नेपालले ४६ रनमै ५ विकेट गुमाएर संकटमा पर्दा दीपेन्द्रले छैटौं विकेटका लागि गुल्सन झासँग २७ रनको साझेदारी गरे । त्यसपछि सोमपाल कामीसँग सातौं विकेटको लाथि ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यस विश्वकपमा पहिलो खेल खेलेका मिडियम पेसर सोमपालले ब्याटिङमा अविजित २६ रन योगदान गरे । यो खेलपछि सोमपाल नेपालबाट तीनवटै टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी पनि बने ।

यस विश्वकपमा नेपालले तीन खेल खेल्दा उपकप्तान दीपेन्द्र सिंह बाहेक अन्य खेलाडीको ब्याटबाट खासै रन बन्न सकेको छैन । दीपेन्द्रले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध ४४ रन बनाएका थिए । त्यस खेलमा नेपालको तर्फबाट उच्च स्कोर बनाउने उनै थिए ।
यस्तै दोस्रो खेलमा उनी इटली विरुद्ध १७ रनमा आउट भएका थिए । त्यसमा खेलमा आरिफ शेखले नेपालबाट २७ रन बनाएका थिए ।
तीन खेलमा गरी दीपेन्द्रले १०९ रन बनाएका छन् । अन्य खेलाडीले १०० रन पनि कटाउन सकेका छैनन् ।
कप्तान रोहितको ब्याटबाट पनि कन्सिस्टेन्सी रन बन्न सकेको छैन । पहिलो इंग्ल्याण्ड विरुद्ध ३९ रन बनाएका रोहितले दोस्रो खेलमा इटलीविरुद्ध २३ रन जोडेका थिए । तर वेस्ट इन्डिजविरुद्ध भने ५ रनमा आउट भए ।
यस्तै नेपालको ओपनिङ जोडी पनि खासै चल्न सकेको छैन । सबैभन्दा बढी अपेक्षा गरिएको ओपनरहरूले खासै रन बनाउन सकेनन् ।
पहिलो खेलमा इंग्लयान्डविरुद्ध आक्रमक ब्याटिङ गर्दै २९ रन बनाएका कुशल भुर्तेल त्यसपछिका खेलमा क्रमश: ५ र १ रनमा आउट भए ।
यस्तै आसिफ पहिलो खेलमा ७ दोस्रो खेलमा २० र तेस्रो खेलमा ११ रन बनाएर आउट भए ।
यसअघि लोअर अर्डरमा फिनिसरको भूमिकामा खेलिरहेका दीपेन्द्र सिंह ऐरी चौथो नम्बरमा प्रमोट भएपछि नेपालको लोअर खर्डर खासै चल्न सकेको छैन ।
लोकेश बमले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध अविजित ३९ रन बनाउँदै सबैको प्रंशसा पाएका थिए । तर त्यसपछि उनी इटलीविरुद्ध ३ र वेस्ट इन्डिजविरुद्ध १३ रनमा आउट भए ।
नेपाली टिममा गुल्शन झाबाट पनि ब्याटिङमा ठूलो अपेक्षा थियो । तर सातौं नम्बरमा ब्याटिङ गरेका यी बायाँहाते खेलाडीले अपेक्षा अनुसार ब्याटिङ गर्न सकेनन् । गुल्शन पहिलो खेलमा ३ र दोस्रो खेलमा १ रनमै आउट भएका थिए भने वेस्ट इन्डिज विरुद्ध डबल डिजिट (११)मा स्कोर गरेका थिए ।
नेपाली टोलीमा एक मात्र बायाँ हाते ब्याटरको रुपमा रहेका गुल्शनको रोलबारे विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।
नेपालको ब्याटरहरूको प्रदर्शनको यो तथ्याङकले पनि देखाउँछ कि ब्याटिङमा नेपालको प्रदर्शन कस्तो भइरहेको छ भनेर । रोहितले भने जस्तै नेपालका खेलाडीहरूले अपेक्षा अनुसार ब्याटिङ गर्न सकेका छैनन् ।
वानखेडे स्टेडियमको बाउन्ड्री छोटो भएको र ब्याटिङ प्याराडाइजको रुपमा चिनिने गरेपनि नेपाली टिमको ब्याटिङ हेर्दा भने ठिक उल्टो जस्तो देखिएको छ ।
यस्तै कप्तान रोहितले अहिले हट टपिकको रुपमा रहेको सामाजिक सञ्जालको विषयमा पनि आफ्नो प्रतिक्रिया दिए । वेस्ट इन्डिजसँगको खेलअघि प्रि म्याच प्रेस कन्फेरेन्समा उपस्थित नेपाली टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले गर्दा खेलाडीहरूको ध्यान भंग भएको र त्यसले ब्याटिङमा असर गरेको प्रतिक्रिया दिएका थिए । त्यसपछि यो बहसकै विषयको रुपमा उठिरहेको छ ।
यसअघि रोहितलाई यही विषयमा प्रश्न सोध्दा उनले यो खेलाडीको व्यक्तिगत विषय भएकोले खासै बोल्न चाहेनन् । तर प्रशिक्षकको बोल्ड स्टेमेन्टपछि भने रोहितले पनि फरक प्रतिक्रिया दिए । यस्तै वेस्ट इन्डिजसँगको खेलपछि पोष्ट म्याचमा उपस्थित भएका सोमपाल कामी र गुल्शन झाले पनि सामाजिक सञ्जालबाट टाढा हुनु राम्रो रहेको बताए ।
रोहितले पनि खेलपछि पोस्ट म्याच ब्रोडकास्टरसँगको कुराकानीमा खेल बाहिरको कुरा बाहिर नै राख्दा ठिक हुने बताए । ‘बाहिरको हल्ला बाहिरै राख्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । यदि खेलाडीहरूले त्यसलाई सुने भने उनीहरूका लागि राम्रो प्रदर्शन गर्न गाह्रो हुन्छ’ उनले भने ।
रोहितले टोली हारिरहेको बेला सबैलाई सकारात्मक राख्नु झन् आवश्यक हुने र त्यही प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया 4