News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली उच्च अदालतले बलिउड अभिनेता राजपाल यादवको चेक बाउन्स मुद्दामा सोमबार जमानत निवेदनमाथि सुनुवाइ गर्दैछ।
- राजपाल यादवले पारिवारिक विवाह कार्यक्रममा सहभागी हुन अन्तरिम जमानत मागेका छन् र अदालतले मुद्दा सोमबारसम्मका लागि स्थगित गरेको छ।
- हिन्दी फिल्म उद्योगका सोनू सूद, सलमान खान, अजय देवगन लगायतले राजपाल यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । दिल्ली उच्च अदालतमा बलिउड अभिनेता राजपाल यादवको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ । करिब ९ करोड भारु ऋण र चेक बाउन्स सम्बन्धी मुद्दामा उनी अहिले तिहाड जेलमा छन् ।
१२ फेब्रुअरीमा अदालतले ७ वटा चेक बाउन्स मुद्दामा उनलाई जमानत दिन अस्वीकार गरेको थियो । उनका वकिलको अनुरोधमा नै सुनुवाइ १६ फेब्रुअरीका लागि सारिएको हो ।
राजपाल यादवले पारिवारिक विवाह कार्यक्रममा सहभागी हुन अन्तरिम जमानत माग गरेका छन् । बिहीबार यादवको अन्तरिम जमानत निवेदनमाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतले अभिनेता र उनका वकिल दुवैलाई कडा टिप्पणी गरेको थियो ।
न्यायाधीश स्वर्णकान्ता शर्माको इजलासले स्पष्ट शब्दमा भनेको थियो, ‘तपाईं जेल जानुको कारण भनेकै तपाईंले आफ्नो वाचा पूरा नगर्नु हो ।’ अदालतले फाइल हेर्दा अहिले मात्रै थाहा भएका धेरै कुरा रहेको पनि उल्लेख गरेको थियो ।
उदाहरणका लागि, राजपालले अघिल्लो अदालतको आदेश सर्वोच्च अदालतमा चुनौती दिएका थिए, तर सर्वोच्च अदालतबाट उनलाई कुनै राहत मिलेन् ।
अभिनेता पक्षका वकिलले अदालतमा भनेका थिए, ‘हामीले जमानतको निवेदन दर्ता गरिसकेका छौं । अर्को पक्षसँग जवाफ माग्न सकिन्छ । मुद्दा सोमबारसम्मका लागि सार्न सकिन्छ, त्यतिन्जेल म केही न केही लिएर आउँछु ।’
अदालतले त्यसपछि मुद्दा सोमबारसम्मका लागि स्थगित गरेको थियो र उजुरीकर्तासँग जमानत निवेदनबारे जवाफ मागेको थियो । एकातिर यादव अदालतबाट राहतको प्रतीक्षामा छन् भने अर्कोतिर हिन्दी फिल्म उद्योगबाट उनका लागि निरन्तर सहयोग र समर्थनको घोषणा भइरहेको छ ।
अभिनेताका म्यानेजर गोल्डीका अनुसार धेरै मानिस राजपालको सहयोगका लागि अघि आएका छन् । तीमध्ये सोनू सूद, सलमान खान र अजय देवगन जस्ता अभिनेता पनि छन् । गोल्डीले डेभिड धवनसँग पनि कुरा भएको बताएका छन् । रतन जैन र वरुण धवनसहित धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
जब गोल्डीसँग राजपालले तिहाड जेलमा आत्मसमर्पण गर्नु अघि सहयोग मागेका थिए कि थिएनन् भनेर सोधियो, उनले यसबारे कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “यस विषयमा म केही भन्न चाहन्नँ । राम्रो कुरा के भने, उनको अवस्था बिग्रिएपछि उद्योग चट्टानझैँ उनको साथमा उभिएको छ र यसको प्रशंसा हुनुपर्छ । सबैले सहयोग गर्ने वाचा गरेका छन्, तर यस्ता आर्थिक प्रक्रिया एकै रातमा हुँदैनन् ।’
यादवकी पत्नी राधा यादवले पनि सहयोग मिलिरहेको बताएकी छन् । तर उनले सलमान, अजय वा अक्षय कसैको नाम भने लिइनन् । राजपालको अवस्था कस्तो छ भनेर सोध्दा उनले भनिन्, “अहिलेसम्म मैले बुझेसम्म उनी ठीकै छन् । हाम्रो पूरै परिवार साथमा छ । फ्यान र उद्योगबाट पाइरहेको समर्थन र मायाका लागि हामी सबै निकै आभारी छौं । अहिले म कसैको नाम लिन सक्दिनँ, तर यति भने भन्न चाहन्छु कि उद्योगका धेरै मानिस अघि आएर सहयोग गरेका छन् । यस समयमा म नाम र रकम बताउन सक्दिनँ ।’
राधाले थपिन्, अहिले उनी यति मात्रै भन्न सक्छिन् कि रिहा भएपछि राजपाल आफैंले मिडियासँग कुरा गर्नेछन् र यही विषयमा थप स्पष्टता दिनेछन् ।
प्रतिक्रिया 4