News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका कारण नेपाली फिल्महरू ‘श्री बुकुरो’ र ‘बिगुल’ प्रदर्शन स्थगित भएका छन्।
- लोकप्रिय ब्याण्ड नेपथ्यले आफ्नो देशब्यापी टूरबाट मताधिकार प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ।
- चुनावको सुरक्षा कारण फागुनमा ठूला सांगीतिक टूर र कन्सर्ट आयोजना नहुने भएका छन्।
काठमाडौं । सेलिब्रेटीलाई पनि चुनाव लागेजस्तो देखिन्छ । यहाँ चुनाव लाग्नुको अर्थ दलसँग जोडिएर भोट माग्न जानुको अर्थमा भन्न खोजिएको होइन । कलाकारले सामाजिक सञ्जालबाटै चुनावबारेका आफ्नो धारणा राखिरहेका छन् ।
प्रदर्शन भैरहेका फिल्महरू ‘श्री बुकुरो’, ‘बिगुल’ ले बुधबारदेखि तत्काललाई प्रदर्शन स्थगित गरेका छन् । चुनावपछिको उपयुक्त समयमा फिल्म ल्याउने उनीहरूको तयारी छ ।
फागुनभर हलमा फिल्मको खडेरी हुने देखिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको माहोललाई हेरेर निर्माताले तत्काललाई फिल्म रोकेका छन् । यसबीच, सानाठूला विदेशी फिल्म त आउनेछन्, तर तिनमा दर्शकीय उपस्थिती कस्तो हुनेछ भन्ने प्रश्नको विषय हो ।
१५ फागुनमा राजेश हमालको ‘प्रवासी जीवन’ र २९ फागुनमा ‘लालीमा’ आउनेछन् । चुनावको प्रभावको कारण फागुनसम्म नेपाली फिल्म आउने सम्भावना छैन । ठूला फिल्मले चैत अन्त्य अथवा नयाँवर्ष २०८३ बाट मात्र फिल्म रिलिजको क्यालेन्डर तोक्न थालेका छन् ।
चर्चित लोकरक ब्याण्ड ‘नेपथ्य’ ले आफ्नो पछिल्लो देशब्यापी टूरबाट नागरिकलाई मताधिकार प्रयोग गर्न आग्रह गरिरहेको छ । मुख्य गायक अमृत गुरुङले शनिबारको बन्दीपुर कन्सर्टबाट भोट दिन आग्रह गरे । यो ब्याण्डले आफ्ना सांगीतिक टूरबाटै देश, राष्ट्रियता र शान्तिलाई अघि सारेको छ ।
कतिपय कलाकार भने चुनाव र राजनीतिलाई लिएर तटस्थ सुनिएका छन् । चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ का मुख्य गायक राजु लामाले आफू आजसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको बताउँदै आफूलाई कुनैपनि दलसँग जोडेर भ्रम नफैलाउन सार्वजनिकरुपमा अपिल गरेका छन् ।
लामा लेख्छन्, ‘म एक विशुद्ध कलाकार, कलाकारिता मेरो पेशा अनि धर्म हो । मेरो आत्मा र मुटुमा नेपाल देश र नेपाली जनता हुनुहुन्छ । म कुनै पनि राजनीतिक दलमा आजसम्म आबद्ध छैन । सबैप्रति मेरो सदभाव छ । कृपया मलाई कुनैपनि राजनीति दलसँग जोडेर भ्रम, अफवाह नफैलाउन हुन भनी सम्बन्धित सबैमा आग्रह गर्न चाहन्छु ।’
अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी लेख्छन्, ‘चुनाव हो, नतिजा त जेसुकै आउला । तर नयाँ शक्तिहरूको चर्चाले अन्य दललाई प्रशस्त मिहेनत गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने थप दबाब सिर्जना गरेको छ । यो कुराले भविष्यमा देश लगायत सबै पक्षलाई फाइदै गर्ला ।’
गिरी अघि लेख्छन्, ‘ म कुनै एक दल वा उम्मेदवारलाई भोट हाल भन्दिन । किनकि एक कलाकारको नाताले सबै प्रति मेरो समान ब्यबहार हुन जरूरी छ । तर एक मतदाताको नाताले चाहिँ म उकुसमुकुस हुने गरेर एउटै बिचारको दास बन्दिन ।’
गायिका एलिना चौहानले पार्टी होइन, सहि व्यक्ति रोजौं भन्दै फेसबुकमार्फत आग्रह गरेकी छन् ।
चौहान लेख्छिन्, ‘ तपाईंहरू नेताको अगाडि गएर रुन छोड्नूस । कसैले केही गर्नेवाला छैन । चुनावको बेला आएर दुई शब्द सान्त्वना दिँदैमा जनताको पीडा समाधान हुँदैन । त्यसपछि फेरि उही हालत, उही ताल कसैले फर्केर हेर्दैन । बेरोजगारी, महँगी, बाटो, स्वास्थ्य, शिक्षा यी समस्या भाषणले होइन, कामले समाधान हुन्छ । जुनै जोगी आए पनि कानै चिरेका भनेजस्तै, अनुहार फेरिएर मात्रै देश फेरिँदैन । अब हाम्रो जिम्मेवारी भनेको भोट सोचेर हाल्नु हो । कसले काम गर्छ, कसले गर्दैन, प्रश्न गरौँ, हिसाब मागौँ । भोट हाम्रो भविष्य बनाउने शक्ति हो । यसपालि कसैको कुरा सुनेर होइन, आफ्नो विवेकले निर्णय गरौँ । बिन्ती छ पार्टी होइन, सही व्यक्ति रोजौँ ।’
अभिनेता महेश त्रिपाठी लेख्छन्, ‘ म पनि चुनाव केन्द्रीत भए हैं। नेता कार्यकर्ता मात्र किन चुनाव केन्द्रीत हुनु ? हामी नागरिक पनि हौँ न । झन ठूलो जिम्मेवारी त हाम्रो छ । मैले मतदान गर्ने कास्की क्षेत्र नं ३ मा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूले आ-आफ्नो मनोनय दर्ता गरिसक्नु भएको छ । म अहिले मेरो निर्वाचन क्षेत्रका उम्मेदवार, उहाँहरू आबद्ध पार्टी र एजेन्डाको विषय अध्ययन गर्दै छु । कसले गर्न सक्छ त मेरो प्रतिनिधित्व ? मेरो चाहनाको कुरा गर्नुहुन्छ भने मलाई मेरो शासक होइन, प्रतिनिधित्व चाहिएको छ । म तपाईं हामी र हाम्रो सही प्रतिनिधित्व गर्न सक्ने व्यत्ति नै मेरो मतको हकदार हुनुहुनेछ ।’
त्रिपाठी अघि लेख्छन्, ‘नागरिकको रुपमा यो अत्यन्त संवेदनशिल जिम्मेवारी हो । त्यस अर्थ म यसपटकको मतदान भावनामा बहकिएर वा परम्परालाई पछ्याएर गर्ने मनसायमा छैन ।’
चुनावको सुरक्षा संवेदनशिलतालाई हेरेर फागुनमा मुलुकभर ठूला सांगीतिक टूर र कन्सर्ट पनि आयोजना हुनेछैनन् । यसको असर, विदेश टूरमा पनि देखिनेछ । कलाकारले चैत अन्त्य वा नेपाली नयाँवर्षको सुरुवातदेखि धमाधम टूरको घोषणा गरिरहेका छन् ।
प्रतिक्रिया 4