७ फागुन, डडेलधुरा । फोहोर व्यवस्थापनको विषयलाई लिएर डडेलधुराको अमरगढी नगरपालिका-६ मा गठित संघर्ष समितिले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचत बहिष्कार गर्ने घोषणा गरेको छ ।
फोहोर विरुद्ध संघर्ष समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस्तो घोषण गरेको हो ।
संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा उक्त क्षेत्रमा “कागजी खेती” गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो।
तर पछि सोही स्थानलाई फोहर व्यवस्थापन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालेपछि स्थानीयवासीले आपत्ति जनाएका हुन् । नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको समितिको आरोप छ ।
फोहर विरुद्ध संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले स्थानीयवासीको भावना विपरीत निर्णय गर्न खोजिएको भन्दै निर्वाचन बहिष्कार गर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘नगरपालिकाले सुरुमा कागति खेती गर्ने भनेर जनतालाई विश्वास दिलायो, तर पछि फोहर व्यवस्थापन केन्द्र बनाउने योजना अघि बढायो । हामीले बारम्बार विरोध र आवाज उठायौं तर हाम्रो मागलाई बेवास्ता गरियो। त्यसैले अब हामीले प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हौं।’
समितिका अनुसार अमरगढी–६ अन्तर्गत भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नभएको स्थानीयको दाबी छ।
उक्त क्षेत्र आसपास खानेपानीका मुहान, सिँचाइका स्रोत, विद्यालय जाने बाटो तथा बस्ती नजिकै रहेकाले वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीय धिरेन्द्र भाटले अव्यवस्थित डम्पिङ साइटले दैनिक जीवनमा गम्भीर असर पर्ने बताएका छन् । गाउँको २०० मिटर अगाडि करिब १४ रोपनी जग्गामा बन्न लागिरहेको डम्पिङ साइड वातावरण प्रभाव मूल्याङ्कनको दृष्टिकोणबाट पनि प्रभावकारी नहुने भएकोले विरोध गर्नुपरेको उनको भनाइ छ ।
उनले भने, ‘पटक-पटक विरोध कार्यक्रम, छलफल तथा ध्यानाकर्षण गराउने प्रयास गरे पनि नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया नआएको गुनासो गरेका छन् । बरु नगरपालिकाले निर्णय कार्यान्वयनका लागि हस्तक्षेपकारी शैली अपनाएको आरोप समेत लगाइएको छ।
बिहीबार आयोजित घोषण सभामा करिब ३०० भन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको थियो । भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि सभा निर्वाचन २०८२ बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिले जनाएको छ ।
साथै, स्थानीयको माग सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिइएको छ।
प्रतिक्रिया 4