News Summary
Generated by OK AI. Editorially reviewed.- सामान्यतया विपक्षीमाथि कडा प्रहार गर्ने ओली यसपटक लिखित मन्तव्यमा केन्द्रित रहे । उखानटुक्का पनि सुनाएनन् ।
- उनले कुनै पनि राजनीतिक दलको नाम नलिई ’सहकार्य’ र ’निकास’ को कुरा गरे।
- युवा उम्मेदवारहरूलाई साथमा राखेर उनले एमालेको आगामी पुस्ताप्रतिको भरोसा देखाउन खोजे ।
८ फागुन, काठमाडौं । नेपाली राजनीतिमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई कटाक्ष गर्दै व्यंगात्मक शैलीमा अभिव्यक्ति दिने नेताको रूपमा चिनिन्छन् ।
उनी प्राय: विपक्षीविरूद्ध कडा शब्दमा आलोचना गर्दै निर्धक्कसँग आफ्ना मनमा लागेका कुराहरू सार्वजनिक मञ्चमा अभिव्यक्त गरिरहेका हुन्छन् ।
सार्वजनिक समारोहहरूमा ओली जति आक्रमक सुनिन्छन्, उत्तिकै आत्मविश्वासी पनि देखिन्छन् । नेपाली राजनीतिका लागि एमाले अध्यक्ष ओली र उखान टुक्का त एकअर्काका परिपूरक नै हुन् भन्दा पनि अतियोक्ति नहुन सक्छ ।
व्यंग, कटाक्ष र हास्य प्रयोग गरेर विपक्षीमाथि आत्मविश्वासका साथ आक्रामक शैलीमा प्रत्यक्ष प्रहार गर्ने छवि भएका उनै ओली बिहीबार भने शान्त र शालीन सुनिए ।
आसन्न निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिकका लागि नयाँ बानेश्वरको तारे होटल एभरेष्टमा आयोजित समारोहमा उनी न विपक्षीविरूद्ध आक्रामक सुनिए, न उनले उखान टुक्का नै प्रयोग गरे । निर्धारित समयभन्दा एक घण्टा ४५ मिनेट ढिलो गरी सुरू भएको चुनावी घोषणा पत्र सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री ओली शान्त सुनिए ।
सात जना युवा उम्मेदवारलाई बायाँ र छ जना उम्मेदवारलाई दायाँ राखेर उभिएका उनी केही गम्भीर पनि देखिए ।
चुनावी घोषणा पत्र सार्वजनिक गरेर उनले लिखित मन्तव्य दिन सुरू गरे । मन्तव्यको सुरूवातमा प्रजातन्त्रको शुभकामना दिएका ओलीले राष्ट्रियता र लोकतन्त्र दुबैको सम्झना गराउने भएकाले ७ फागुनलाई घोषणा पत्र सार्वजनिकको मिति तय गरेको जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन २०७९ को स्मरण गर्दै ओलीले तत्कालीन समयमा मुलुक राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको स्मरण गरे ।
‘मुलुकको राजनीति दुई ध्रुवमा विभाजित थियो। हामीले त्यतिबेला राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षाका लागि, राजनीतिक स्थायित्व र जनउत्तरदायी शासन व्यवस्थाका लागि मत मागेका थियौं,’ उनले भने, ‘त्यस प्रतिकूल अवस्थामा पनि यहाँहरूले दिनुभएको साथ–समर्थन र दर्शाउनुभएको भरोसाप्रति हाम्रो पार्टी पुन: हार्दिक आभार व्यक्त गर्दछु ।’
जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएका ओलीले २३ र २४ भदौ पनि मुलुकमा फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलिएको टिप्पणी गरे ।
उनले जेनजी आन्दोलनलाई संविधान र समग्र व्यवस्थामाथिको धावा भने पनि आक्रोशित भने सुनिएनन् ।
‘स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ,’ ओलीको भनाइ थियो, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ ।’
निर्वाचनको संघारमा आममतदाताले पुराना राजनीतिक दल र नेताहरूमाथि प्रश्न गरिरहँदा आफ्ना पनि केही प्रश्नहरू रहेका उनले बताए । त्यसक्रममा पूर्वप्रधानमन्त्री ओलीले चारवटा प्रश्न पनि गरे ।
यी हुन् ओलीका प्रश्नहरू
पहिलो, भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
दोस्रो, भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?
तेस्रो, भदौ २३ र २४ का घटनाहरु स्वत:स्फूर्त थिए कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो, आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ?
चौथो, सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधिसभाको विघटन किन गरियो ?
अध्यक्ष ओलीले आफूले गरेका चारवटै प्रश्नहरू कुनै ‘कन्सिप्रेसी थ्यौरी’ नभएका र प्रश्नहरूको जवाफ संविधान, व्यवस्था र सार्वभौमसत्ताको रक्षाका लागि खोज्नै पर्नेमा जोड दिए ।
‘यी प्रश्नहरू निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन बनाइएको “देशी/विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सिप्रेसी थ्योरी)” होइन,’ उनले भने, ‘संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।’
मुलुकमा व्याप्त अस्थिरताको अन्त्य र राजनीतिक स्थिरताका लागि आफूहरूले दशक लामो कठिन यात्रा गरेको बताए । ‘संविधान जारी हुनुअघि मात्र हैन, त्यसपछि पनि दलहरूबीच कटुता र बेमेल रहिरह्यो । सरकार बनाउने र ढाल्ने अस्वस्थ दौडले जनतामा निराशा बढायो,’ उनले भने ।
ओलीले त्यही निराशा अन्यका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सहकार्य गरिएको पनि जिकिर गरे । तर, सम्बोधनका क्रममा उनले कुनै पनि दलको नाम लिएनन् । ओलीले भने, ‘त्यो निराशा अन्त्य गर्न दलहरूबीच सहकार्यको प्रक्रिया थालिएको थियो ।’
आरोप खण्डन, अडानमा कायम
प्रतिनिधि सभाका तीन ठूला दलहरूले पालैपालो सत्ता दोहन गरेको आरोप लागिरहेका बेला अध्यक्ष ओलीले त्यसको खण्डन पनि गरे । ‘पछिल्लोपटक ठूला पार्टीहरू मिलेको कारण समस्या आएको हो कि भन्ने धेरैको प्रश्नमा म यहाँ स्पष्ट पार्न चाहन्छु, ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन,’ उनले भने ।
दलहरूबीचको एकता टुटाउन र मुलुकमा अस्थिरता निम्त्याउन संकट निम्ताइएको ओलीको दाबी थियो । ‘संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो,’ उनले भने, ‘संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भएपछि खोजिएको अर्को बाटो, भदौ २३ र २४ गतेको घटना हो ।’
पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरतालाई देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोको सबैभन्दा ठूलो तगारोको रूपमा चित्रण गरे । ‘देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो राजनीतिक अस्थिरता नै हो,’ उनको भनाइ थियो, ‘त्यसैले वैधानिक सीमाभित्र रहेर स्थिरताको लागि सक्दो प्रयास गर्नु गलत थिएन, होइन ।’
निराशा हटाउनका लागि समृद्धिको सपना देख्नु आफ्नो कुनै अपराध नभएको ओलीको भनाइ थियो । उनले जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता नगरिने पनि बताए ।
पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलनका क्रममा जलाइएका सरकारी संरचनाको पुननिर्माण गरेर निजी क्षेत्रको ढलेको मनोबललाई उठाउनुपर्ने र व्यवस्थाप्रतिको भरोसा फर्काउनु पर्ने जिम्मेवारी थपिएको पनि बताए ।
‘आज हाम्रासामु अर्को जिम्मेवारी थपिएको छ।सिंहदरबार, अदालत, संसद् भवन र अन्य जलाइएका संरचनाहरुको पुनर्निर्माण गर्नुछ,’ उनले भने, ‘निजी र व्यवसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ । शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ ।’
ओलीले २४ भदौमा आन्दोलनका क्रममा भएको विध्वंशलाई योजनाबद्ध आक्रमणको संज्ञा दिए । ‘एकचोटी दोहोर्याएर भन्छु, भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन,’ उनले भने, ‘नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो ।’
२४ भदौको घटनामा सामेल केहीले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका र उनीहरूलाई चिन्न ढिलो गर्नु नहुने भए पनि एमालेको प्राथमिकतामा देश रहेको ओलीको भनाइ थियो । ‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिले ।देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यवस्था, यी सबैभन्दा माथि केही छैन,’ उनले भने ।
अध्यक्ष ओलीले एमाले निर्माणको पक्षमा र उत्तेजनाको विपक्षमा रहेको अभिव्यक्ति पनि दिए । ‘हामी निर्माणका पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं । हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं,’ उनले भने, ‘त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं । हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसैले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं ।’
ओलीले एमालेको गन्तव्य र संकल्प स्पष्ट भएको पनि जिकिर गरे । ‘हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली । हाम्रो संकल्प स्पष्ट छ, सुशासन, विकास, समृद्धि, समानता । त्यसैका लागि घोषणापत्रमा हामीले गर्ने कामको सूची प्रस्तुत गरेका छौं,’ उनले भने ।
एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बन्ने र पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा सहित तत्काल गर्ने ११ काम अघि बढाउने एमालेले लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4