+

ओमानका कप्तान जतिन्दरले भने- अस्ट्रेलियालाई हराउने यो राम्रो अवसर हो

२०८२ फागुन  ८ गते १३:५८ २०८२ फागुन ८ गते १३:५८
ओमानका कप्तान जतिन्दरले भने- अस्ट्रेलियालाई हराउने यो राम्रो अवसर हो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमान क्रिकेट टिमका कप्तान जतिन्दर सिंहले टी-२० विश्वकप २०२६ को अन्तिम खेलमा अस्ट्रेलियालाई हराउने सुवर्ण अवसर रहेको बताएका छन्।
  • जतिन्दरले अस्ट्रेलियाविरुद्धको खेललाई सही समय भन्दै टोली सकारात्मक र उत्साहित रहेको उल्लेख गरेका छन्।
  • उनले ओमानलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउन फ्रेन्चाइज क्रिकेट आवश्यक रहेको र पर्याप्त प्रतिस्पर्धात्मक खेल नपाउँदा अनुभवको कमी हुने बताए।

८ फागुन, काठमाडौं । ओमान क्रिकेट टिमका कप्तान जतिन्दर सिंहले टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा खेल्दा अस्ट्रेलियालाई हराउने सुवर्ण अवसर यही भएको बताएका छन् ।

शुक्रबार बेलुका हुने खेलअघिको पत्रकार सम्मेलनमा कुरा गर्दै जतिन्दरले अन्तिम खेललाई अवसरका रूपमा लिएको बताएका हुन् । जिम्बाबे, श्रीलंका र आयरल्यान्डसँग लगातार भारी पराजय बेहोरेको ओमानले अस्ट्रेलियासँग बेलुका सवा ७ बजे खेल्दै छ ।

कप्तान जतिन्दरले अस्ट्रेलियाविरुद्धको खेललाई ‘सही समय’ बताउँदै टोली सकारात्मक रहेको बताएका छन्। ‘यो हाम्रो लागि अवसर हो, हाम्रा खेलाडीहरू यो खेललाई लिएर निकै उत्साहित छन्। टी–२० भनेको मोमेन्टम र साना–साना क्षणको खेल हो, ती क्षणहरूलाई सही ढंगले उपयोग गर्न सके त्यस दिन जे पनि सम्भव हुन्छ’ कप्तान जतिन्दरले भने, ‘अहिले अस्ट्रेलिया राम्रो लयमा छैन, त्यसैले उनीहरूलाई हराउने यो नै सबैभन्दा उपयुक्त समय हो।’

यसअघि सन् २०२४ को विश्वकपमा पनि अस्ट्रेलियासँग पराजित भएको ओमान यसपटक चकित पार्ने लक्ष्यमा छ।

जतिन्दरले टी–२० क्रिकेट ‘मोमेन्टम’ को खेल भएकाले सही समयमा राम्रो प्रदर्शन गर्न सके हरेक कुरा सम्भव रहेको बताए । प्रतियोगिताबाट बाहिरिसकेको अस्ट्रेलियासँग गुमाउन केही नभए पनि त्यसको दबाब ओमानका लागि अवसर बन्न सक्ने उनको विश्वास छ। उनले टोलीका खेलाडीहरू उत्साहित र आत्मविश्वासी रहेको बताए।

दीर्घकालीन रूपमा ओमानलाई प्रतिस्पर्धी बनाउन फ्रेन्चाइज क्रिकेट आवश्यक रहेको पनि उनले उल्लेख गरे। सन् २०२५ मा ओमानले जम्मा १५ टी–२० अन्तर्राष्ट्रिय र ८ एकदिवसीय मात्र खेलेको भन्दै पर्याप्त प्रतिस्पर्धात्मक खेल नपाउँदा अनुभवको कमी हुने बताए।

ओमानमै फ्रेन्चाइज लिग सुरु भए वा खेलाडीहरूले विदेशमा अवसर पाए राष्ट्रिय टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ।

अस्ट्रेलिया क्रिकेट ओमान क्रिकेट जतिन्दर सिंह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय