+
+
Shares

शिवरात्रिमा पशुपतिमा एक युवकको शंकास्पद मृत्यु, अनुसन्धानमा तानिए ‘बाबा’

शिवरात्रीमा पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:०२

८ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपतिमा  एक युवकको शंकास्पद मृत्यु भएको छ ।

शिवरात्रिको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धान अघि बढाएको थियो ।

मृत व्यक्तिको शरीरमा निलडाम र चोटपटक देखिएपछि मृत्यु शंकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा खटिएको छ ।

मृतक संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘मृतकको शरीरमा चोटपटक देखिएपछि घटना शंकास्पद देखिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खड्काले भने । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।

शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने प्रहरीले बताएको छ ।

प्रहरी स्रातेका अनुसार अनुसन्धान गर्दा यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा एक बाबा जोडिन आएको देखिएको प्रहरी स्रोतले बतायो ।

शिवरात्रिमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो । उक्त मोबाइल अहिले मृत फेला परेका गिरीले चोरेको आरोप बाबाको थियो ।

‘बाबाले नै अहिले मृत भेटिएका गिरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्ने बुझिएको छ, त्यसको भोलिपिल्ट तिनै व्यक्ति मृत भेटिएका छन्,’ स्रोतले भन्यो, ‘मोबाइल नभेटिएपछि प्रहरीले छाडेका तिनै व्यक्तिलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभरि यातना दिएर हत्या गरेको हुन सक्ने हाम्रो विश्लेषण छ ।’

लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय भने नेपालमै बस्थे । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् । राति अहिले मृत फेला परेका गिरीसँगै बसेको देखिएका ‘बाबा’ अहिले भने फरार छन् ।

फरार बाबाको पहिचान भइसकेको तर पक्राउ पर्न मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । ती युवकको घटना भने अहिलेसम्म गुपचुप छ । यसबारे औपचारिक रूपमा प्रहरी केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?