+
+
Shares

रास्वपा बाराका संगठन विभाग प्रमुख चौधरीले गरे पार्टी परित्याग

रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् ।

सुनील गाउँले सुनील गाउँले
२०८२ फागुन ८ गते १९:३३

८ फागुन, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् ।

चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर-४ बाट उम्मेदवार थिए । चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए ।

‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेको प्रति असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने ।

चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेशका २५ उम्मेदवारहरू मध्ये सर्वाधिक मत समेत ल्याएका थिए ।

चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ ।

जिल्ला कमिटिका सहसचिव समेत रहेका चौधरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

आसन्न निर्वाचनका लागि बाराका तीन वटा निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्ति ल्याएर टिकट दिइएपछि बारामा रास्वपाका संस्थापकहरूले धमाधम पार्टी छाडिरहेका छन् । संगठन विभाग प्रमुख चौधरी रास्वपा गठनको पहिलो दिनबाटै संगठित भएका थिए ।

यसअघि बारा क्षेत्र नम्बर-३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर-४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेको जिल्ला सभापति स्वर्णकारले बताए ।

रास्वपाले बाराका चार मध्य तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा-२ मा उम्मेदवार छन् ।

बारा-३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा-४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा १ (१) मा निर्वाचित रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ ।

बारा-१ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?