+
+
Shares
स्थलगत :

काठमाडौं-५ घरदैलो : प्रदीप पौडेललाई जेनजीको अन्तिम मौका

घरदैलोमा हिँडेका २२ वर्षीय पुकार श्रेष्ठ भन्दै थिए- कांग्रेस ‘टु प्वाइन्ट ओ’ भएकोले उहाँलाई अन्तिम मौका दिँदैछौं । जितेर पनि काम गर्न सक्नुभएन भने त्यसपछि के हुन्छ, आफैं अनुमान गर्नुस् ।

केशव सावद केशव सावद
२०८२ फागुन ८ गते १९:३७

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिएका महामन्त्री प्रदीप पौडेल आसन्न निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार छन् ।

राजनीतिमा नैतिक हस्तक्षेपमार्फत नागरिकमा भविष्यप्रति आशा जगाउँदै समयसापेक्ष नीतिगत सुधार, जनउत्तरदायी राज्य प्रणाली र समृद्ध नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको पौडेल बताउँछन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेकपा एमालेका ‘हेभिवेट’ नेता ईश्वर पोखरेललाई पराजित गरेर उनले संसदीय यात्रा सुरु गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पौडेल आफ्नो निर्वाचन क्षेत्रमा विकासका आधारहरू खडा गरेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘तर यतिले मात्रै पर्याप्त छैन । तीनै तहका सरकारबीच बलियो समन्वय र सहकार्य गर्दै ५ नम्बर क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धताका साथ उम्मेदवारी दिएको छु ।’

पौडेल चुनावी प्रचारका क्रममा क्षेत्र नम्बर ५ लाई देशकै नमुना बनाउनका लागि कांग्रेसलाई बलियोसँग साथ दिन मतदातासमक्ष आग्रह गरिरहेका छन् । ‘रुख चिह्नमा यहाँको मतरूपी बलियो साथको आवश्यकता छ,’ उनी भनिरहेका सुनिन्छन्, ‘यहाँले दिनु हुने अमूल्य मतले नै परिवर्तनको सुरुवात हुनेछ ।’

चुनाव प्रचार-प्रसारका क्रममा महामन्त्री पौडेलले शुक्रबार टोखा नगरपालिका-६ मा घरदैलो गरेका छन् । वडा नम्बर ६ को कार्यालय नजिकै सम्पर्क कार्यालयको उद्घाटन गरेर महामन्त्री पौडेलले बिहान सवा ८ बजेबाट ११ बजेसम्म धापासी क्षेत्रमा घरदैलो गरेका हुन् ।

पौडेलको धापासी क्षेत्रमा हुने घरदैलोको रिपोर्टिङका लागि बिहान साढे ७ बजे वडा कार्यालयनजिक पुग्दा सम्पर्क कार्यालयमा पाँच जना कार्यकर्ताहरू बसिरहेका थिए ।

लाउडस्पिकिरमा गीत बजिरहेको थियो, ‘गगन-गगन भन्छ हिमाल-पहाड- मधेश ।’ १५ मिनेटपछि उम्मेदवार पौडेल सम्पर्क कार्यालयमा झुल्किए । उनी त्यहाँ पुग्दासम्म कांग्रेस कार्यकर्ताहरू आउने क्रम सुरु भइसकेको थियो ।

बिहान ८ बजेतिर चुनावी प्रचार-प्रसारका लागि वडा नम्बर ६ मा स्थापना गरिएको सम्पर्क कार्यालय उद्घाटन गरेपछि कांग्रेस कार्यकर्ताहरूले चिया-खाजा खाए । बिहान ८:२० बजे कांग्रेस उम्मेदवार पौडेलको घरदैलो सुरु भयो ।

उम्मेदवारभन्दा अघि-अघि लाउडस्पिकर बोकेको स्कुटीमा पौडेल घरदैलोमा आएको सूचना पाएपछि प्रायः धापासीबासी कोही गेटमै, कोही बार्दली उभिएका देखियो । सकडभन्दा केही दूरीमा रहेका घरहरूमा पनि स्थानीय झ्यालबाट हेरिरहेको देखिन्थ्यो ।

पौडेलको घरदैलोमा मतदाताको ठूलै उत्साह देखिन्थ्यो । घरदैलोमा सहभागी कांग्रेस कार्यकर्ता निशा पाण्डे भन्दै थिइन्, ‘वडा नम्बर ६ कांग्रेसको गढ भएकाले यस्तो दृश्य देखिएको हो ।’ स्थानीय तह निर्वाचन २०७९ मा यहाँ वडाध्यक्ष र तीन जना सदस्यहरू कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि टोखा नगरपालिका-६ मा वडाध्यक्ष र तीन जना सदस्यहरू कांग्रेसबाटै विजयी भएको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

धापासीको लुइँटेल कोलोनी नजिकै व्यवसाय गर्दै आएकी नाम खुलाउन नमानेकी महिला व्यवसायीका अनुसार धापासी क्षेत्रमा गण्डकी प्रदेश (स्याङ्जा, तनहुँ, लमजुङ, पर्वतलगायत) का मानिसहरूको बाक्लो बस्ती छ ।

कांग्रेस नेता पौडेल तनहुँका बासिन्दा भएका कारण भेगीय सम्बन्धले पनि धापासीमा फरक दृश्य देखिएको उनको भनाइबाट अनुमान गर्न सकिन्थ्यो ।

फरक आस्था राख्ने पनि प्रदीपका ‘फ्यान’

दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा गन्तव्यतर्फ जाँदै गरेका मानिसहरूले पनि रोकिएर कांग्रेस नेता पौडेललाई शुभकामना दिँदै तस्वीर खिचेको घरदैलोका क्रममा देखियो ।

वडा नम्बर ५ मा पर्ने सडकमा विपरीत दिशाबाट आउँदै गरेको स्कुटीबाट एक युवा सडक किनारामा रोकिए । उनले स्कुटीमै सवार महिला र आफ्नो बीचमा राखेर उम्मेदवार पौडेलसँग आफ्नो मोबाइलमा तस्वीर कैद गर्न लगाउँदै जितको शुभकामना दिए ।

उनी थिए, वडा नम्बर ६ का बासिन्दा गणेश न्यौपाने । न्यौपानेले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई नेपाली कम्युनिस्ट पार्टीको कार्यकर्ताका रूपमा चिनाए ।

‘म नेपाली कम्युनिस्ट पार्टीको मान्छे हो । तर सदस्यता कसैको पनि लिएको छैन,’ उनले भने, ‘उहाँ जत्तिको मान्छेले नजिते अरूको काम छैन, उहाँ जत्तिको कांग्रेसले जित्नुपर्छ । यसरी कुरा बुझौं ।’

७६ वर्षीया वृद्धाले भनिन्- जित्नू, वृद्धवृद्धाको रक्षा गर्नू

अघिल्लो निर्वाचनमा काठमाडौं-५ बाटै निर्वाचित पौडेलसँग घरदैलोका क्रममा योजना माग गर्ने, गुनासो गर्नेभन्दा पनि उनलाई फेरि जितको शुभकामना दिनेहरू बढी देखिन्थे ।

धापासीको नैनडोलस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले आफूसँग मत माग्दा पौडेललाई समय आएपछि गुनासो पोख्ने जवाफ दिए । ‘गुनासो पोख्ने दिन आउँछ । अहिले नपोखौं,’ उनले भने, ‘अहिलेको समय भनेको तपाईंले माग्नुभएको छ, हामीले दिने हो । हामीले मागेको बेला तपाईंले दिने हो ।’

कृष्ण मन्दिर हुँदै कांग्रेसको घरदैलो टोली अगाडि बढ्यो । लुइँटेल कोलोनी जाने बाटोभन्दा केही पर पुगेपछि कार्यकर्ताहरूले पौडेललाई एउटा घरको गेट भित्र लगे । उम्मेदवारको स्वागतका लागि एक वृद्धा हातमा फूल र रुद्राक्षको माला भएको थाली बोकेर उभिएकी थिइन् ।

ती महिलाले पौडेललाई माला लगाउँदै भित्र प्रवेश गरेका अन्य कार्यकर्तामाथि फूल बर्साइन् । हँसिलो मुद्रामा देखिएकी वृद्धाले अनलाइनखबरसँग भनिन्, ‘मेरो नाम शोभा शर्मा हो । ७३ वर्षकी भएँ । साह्रै असल छन् यी बाबु । यता टोलमा मर्दापर्दा आइरहन्छन् ।’

अनलाइनखबरसँगको छोटो कुराकानी गर्दा शोभामा नेता पौडेल कतै चुनाव हार्छन् कि भन्ने चिन्ता पनि झल्कियो । ‘राम्रो मान्छे जिते हुन्थ्यो भन्ने लाग्छ । युवा पनि छन् । तर सबै घण्टी-घण्टी भनिरहेका छन्,’ उनले भनिन् ।

घरदैलोमा कार्यक्रममा रहेका कार्यकर्ताहरू उम्मेदवार पौडेलले बाटोको दायाँ-बायाँ किनारामा रहेका घरका गेट भित्र लगेर एकपछि अर्को गरी लगिरहेका थिए । कतै भने उनी टाढैबाट नमस्कार गर्दै अघि बढिरहेका थिए ।

बिहान १० बजेर ५० मिनेट गइसकेको थियो । टोली एउटा साँघरो गल्ली भएर वडा कार्यालय रहेको दिशातर्फ अघि बढिरहेको थियो । त्यही गल्लीमा ७६ वर्षीया सुभद्रा पाण्डे घरको पहिलो तलाको झ्लालबाट साँघुरो गल्लीतर्फ आँखा डुलाइरहेकी थिइन् ।

परैबाट स्कुटरमा बाँधिएको लाउडस्पिकरमा बजिरहेको कांग्रेसको चुनावी गीतले होला उनको ध्यान खिचेको । उम्मेदवार पौडेल बाटोबाटै दायाँ-बायाँ घरका झ्याल, बार्दलीमा देखिने स्थानीयलाई नमस्कार गर्दै अघि बढिरहेका थिए ।

सुभद्राले माथिल्लो तलाबाटै कांग्रेसका कार्यकर्ताहरूलाई बाटोमा रोकिन इशारा गरिन् । केही पर पुगिसकेका उम्मेदवार पौडेललाई आवाज लगाएर कार्यकर्ताले फिर्ता बोलाए । सुभद्रा फूलको माला हातमा समातेर झरिन् ।

उनले नेता पौडेललाई माला पहिर्‍याउँदै भनिन्, ‘जुन उद्देश्यले उठेका छौ, त्यो उद्देश्य पूरा होस् । हामी जस्ता वृद्धवृद्धाको रक्षा होस् । फेरि कोही अस्ति जस्तो हटाउन नलागुन् ।’ २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

प्रदीपलाई जेनजीको पनि साथ

७६ वर्षीया वृद्धाले जेनजी आन्दोलनका जसरी फेरि पनि कसैले नहटाओस् भन्ने कामना गरिरहँदा पौडेलको घरदैलोमा जेनजी उमेर समूहको प्रतिनिधित्व गर्ने युवाहरूको पनि उल्लेख्य सहभागिता देखिन्थ्यो ।

जसमध्ये एक थिए- वडा नम्बर ४ घर भएका २२ वर्षीय पुकार श्रेष्ठ । उनी पौडेल पुग्नु अगावै सम्पर्क कार्यालयमा पुगिसकेका थिए । पुकार ६ जना दौंतरीका साथ घरदैलोमा आएका थिए ।

७६ वर्षीया वृद्धाले गरेको कुरा सुनाउँदै अनलाइनखबरले पुकारसँग प्रतिक्रिया लियो । उनले गगन थापा सभापति भएपछि कांग्रेस बदलिएको ठानेर पौडेललाई एकपल्ट आफूहरूले ‘चान्स’ (मौका) दिन लागेको प्रतिक्रिया दिए ।

‘गगन थापा आएपछि कांग्रेस चेन्ज भएको छ । प्रदीप पौडेल युवा नेता हो । उहाँलाई अन्तिम चान्स दिने हो,’ पुकारले भने, ‘हामीले दिने भोट होइन, चान्स हो ।’

उनले ‘चान्स’ दिँदा काम गर्न नसके परिणाम ठिक नहुने चेतावनी पनि दिए । ‘कांग्रेस टु प्वाइन्ट ओ भएको छ । जितेर पनि काम गर्न सकेन भने जेनजी टु प्वाइन्ट ओ हुन्छ,’ पुकारले सुनाए, ‘जेनजी मात्रै हुँदा भदौमा त्यस्तो भयो । जेनजी टु प्वाइन्ट ओ हुँदा के हुन्छ, आफैं अनुमान गर्नुस् ।’

काठमाडौं-५ मा कांग्रेस महामन्त्री पौडेलसँगै उनका चिरपरिचित प्रतिद्वन्द्वी ईश्वर पोखरेल (नेकपा एमाले) फेरि चुनावी प्रतिस्पर्धामा छन् । पटक-पटक मिलजुली सरकारमा सहभागी भएर विभिन्न मन्त्रालय सम्हालिसकेका कमल थापा (राप्रपा) ले पनि यसपालि काठमाडौं-५ बाटै उम्मेदवारी दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले यहाँ कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सस्मित पोखरेल, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दानिन्द्र जोशीसहित २५ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेस महामन्त्री पौडेल १५ हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० मत पाएका थिए ।

रास्वपाका उम्मेदवार डा. प्रणय शम्शेर राणा पाँच हजार ४७७ मतसहित तेस्रो भएका थिए । उनी बिहीबार मात्रै रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । राणाको पार्टी प्रवेशले काठमाडौं-५ मा महामन्त्री पौडेलको जित थप सहज बनेको कांग्रेस नेताहरूको बुझाइ छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?