News Summary
Generated by OK AI. Editorially reviewed.- ‘सेन्टी भाइरस’ नामक फिल्म शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ।
- यो फिल्ममा काभ्रे जिल्लाको गाउँमा हुने स्थानीय निकाय चुनाव र राजनीतिको कथा प्रस्तुत गरिएको छ।
- फिल्ममा दम्पतीबीच फरक राजनीतिक पक्षमा उभिँदा वैवाहिक द्वन्द्व उत्पन्न हुने विषयलाई हास्यसँगै सामाजिक टिप्पणीका रूपमा देखाइएको छ।
काठमाडौं । यतिबेला धमाधम राजनीति र चुनावको कथावस्तुबारेको फिल्मलाई युट्युबमा रिलिज गर्ने ट्रेन्ड नै चलेको छ । ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ पछि ‘सेन्टी भाइरस’ लाई शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।
२१ फागुनमा तय गरिएको आसन्न प्रतिनिधिसभा निर्वाचनअघि यी फिल्मलाई युट्युबमा धमाधम सार्वजनिक गरिनुलाई समय र सन्दर्भको हिसाबमा अर्थपूर्णरुपमा लिइएको छ । रोचक के छ भने, यी तीनैवटा फिल्मको केन्द्रीय कथावस्तुमा राजनीति र चुनाव जोडिएको छ ।
‘सेन्टी भाइरस’ मा काभ्रे जिल्लाको गाउँमा हुने स्थानीय निकायको चुनाव र राजनीतिको कथा छ । त्यहाँको एक गाउँमा हुने चुनावको वरिपरि कथा घुम्छ, जहाँ राजनीतिक प्रतिस्पर्धाले एउटै परिवारभित्र तनाव सिर्जना गर्छ ।
ध्रुवराम आफ्ना पार्टीका उम्मेदवारको पक्षमा उभिन्छन् भने उनकी पत्नी जुनेली सोही चुनावमा उम्मेदवार बनेका आफ्नै बाबुको समर्थन गर्छिन् । फरक-फरक पक्षमा उभिँदा दम्पतीबीच वैवाहिक द्वन्द्व उत्पन्न हुन्छ, जसलाई फिल्मले हास्यसँगै स्थानीय राजनीति र सम्बन्धको सामाजिक टिप्पणीका रूपमा प्रस्तुत गर्छ ।
सन् २०२० मा रिलिज भएको रामबाबु गुरुङ निर्देशित यो फिल्म चल्दाचल्दै मुलुकमा कोभिड लकडाउन सुरु भएको थियो । यो फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो ।
यो फिल्मको शीर्ष भूमिकामा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अभिनय गरेका छन् । पछिल्लो समय अमेरिकामा रहेका धुर्मुसले उतैबाट यो फिल्मको लिंक सेयर गरेका छन् । ओएसआर युट्युब च्यानलमा फिल्म रिलिज भएको हो ।
प्रतिक्रिया 4