९ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।
‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन,’ नेपालले भने, ‘यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’
नेपाल रौतहट-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् ।
सहसंयोजक नेपालले सदियौँदेखि मिलेर बसेका दुवै समुदाय अझ पनि मिलेरै जानुपर्ने बताए । ‘दुवै समुदायले एक-अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो,’ उनले भने ।
अहिले देखिएको समस्याको समाधान पनि आपसी संवादबाट मात्रै सम्भव हुने बताउँदै उनले कोही पनि पक्ष उत्तेजनामा आएर सद्भाव खलबल्याउन नहुने पनि बताए ।
यस्तै स्थिति सामान्यीकरण गर्न सरकारसँग पनि अपिल गरे । त्यसका लागि आफूले गृहमन्त्रीसँग कुराकानी गरेर तत्कालका लागि कर्फ्यु लगाउन सुझाव दिएको बताए । उनले भने, ‘मैले गृहमन्त्रीजीसँग कुराकानी गरेको छु । जनकपुरका डीआईजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि निरन्तर समन्वय गरिराखेको छु । कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जत, प्रतिष्ठामा आँच नआओस् भन्नेतर्फ सचेत गराएको छु ।’
प्रतिक्रिया 4