News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले क्यानडाको टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरी नेपाली र क्यानडाली पर्यटन व्यवसायीबीच बीटुबी सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ।
- क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाललाई हिमाल, साहसिक गतिविधि, संस्कृति र आध्यात्मिकताको संयोजन भएको रूपान्तरणकारी अनुभव भएको बताए।
- नेपाल पर्यटन बोर्डका अनुसार क्यानडाबाट वार्षिक १५–१६ हजार पर्यटक नेपाल आउने गरेका छन् र क्यानडा सम्भावित शीर्ष १० स्रोत बजारमध्ये एक बन्न सक्ने आकलन गरिएको छ।
१० फागुन, काठमाडौं । क्यानडाको आउटबाउन्ड बजारमा नेपाललाई शीर्ष साहसिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले ओटावास्थित नेपाली दूतावाससँग सहकार्यमा टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ ।
यही फेब्रुअरी २० देखि २२ सम्म सञ्चालनमा रहेको विश्वप्रसिद्ध आउटडोर एड्भेन्चर शोको पूर्वसन्ध्यामा सम्पन्न ‘नेपाल इभिनिङ’ मार्फत क्यानडाको ट्राभल व्यवसायीसँग प्रत्यक्ष सञ्जाल विस्तार, व्यापारिक सहकार्य र बजार प्रवर्द्धनलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।
कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाल केवल पर्यटकीय गन्तव्यमात्र नभई ‘रूपान्तरणकारी अनुभव’ भएको उल्लेख गर्दै हिमाल, साहसिक गतिविधि, संस्कृति र आध्यात्मिकताको अद्वितीय संयोजनले क्यानडाका पर्यटकलाई आकर्षित गर्ने बताए ।
उनले सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमा रहेको स्मरण गराउँदै ट्रेकिङ, पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ र जंगल सफारीजस्ता गतिविधिले नेपाललाई विश्वस्तरीय साहसिक गन्तव्य बनाएको धारणा राखे ।
राजदूत पौड्यालले नेपालमा पछिल्ला वर्ष पूर्वाधार, सेवा गुणस्तर र हवाई पहुँचमा सुधार भएको उल्लेख गर्दै क्यानडाका नागरिकका लागि आगमनमा भिसा तथा विद्युतीय यात्रा अनुमति जस्ता सहज व्यवस्थाले भ्रमण प्रक्रिया सरल भएको जानकारी दिए ।
उनले क्यानडाका पर्यटन व्यवसायीलाई नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन आह्वान समेत गरेका छन् ।
पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटकीय विविधता, सुधारिएको पूर्वाधार तथा निजी क्षेत्रको सशक्त संलग्नताबारे प्रस्तुति दिएका थिए ।
बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले ‘नेपाल इभिनिङ’ को उद्देश्य नेपाली र क्यानडाली पर्यटन व्यवसायीबीच व्यवसाय–देखि–व्यवसाय (बीटुबी) सम्बन्ध विस्तार गर्दै दिगो साझेदारी निर्माण गर्नु रहेको बताए ।
बोर्डका अनुसार क्यानडा उत्तर अमेरिकी क्षेत्रबाट नेपाल आउने स्थिर स्रोत बजारका रूपमा छ । वार्षिक रूपमा करिब १५–१६ हजार क्यानडाका पर्यटक नेपाल आउने गरेका छन् ।
साहसिक पर्यटनप्रति उच्च आकर्षण र बहुआयामिक जनसांख्यिक संरचनाका कारण क्यानडा सम्भावित शीर्ष १० स्रोत बजारमध्ये एक बन्न सक्ने आकलन गरिएको छ ।
कार्यक्रममा टोरन्टोस्थित ट्राभल एजेन्सी तथा टुर अपरेटर, पर्यटन बोर्डका अधिकारी, नेपाली निजी क्षेत्रका पर्यटन व्यवसायी र दूतावासका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया 4