११ फागुन, सुर्खेत । देशभर चुनावी रौनक छाइरहेका बेला राउटे बस्ती भने सुनसान छ । राउटेका टहराहरूमा नत कोही नेता जान्छ, न राउटेहरूलाई नै चुनावको केही परवाह छ ।
अनेकथरी एजेन्डामा भोट माग्ने उमेदवारका प्राथमिकता राउटे समुदाय पदैन । किनकि उनीहरू मतदाता नै छैनन् । यदि राउटेहरू मतदाता मात्र हुन्थे भने, नेताहरू अनेकौँ आश्वासन पोकापन्तरा बोके राउटे बस्तीमा बरालिइरहेका हुनसक्थे ।
चुनाव नलागेपनि राउटेहरूलाई फागुन २१ गते भइरहेको प्रतिनिधिसभा निर्वाचनबारे जानकार छन् । यद्यपि, नेताहरू बस्तीमा नआएकामा उनीहरूलाई कुनै गुनासो छैन । ‘चुनाव हुँदैछ भन्ने थाहा त छ । यो दुनियाँ (आम मान्छे)को चुनावले हामीलाई केही फरक पदैन्,’ राउटे मुखिया सूर्यनारायण शाही भन्छन्, ‘जसले जिते पनि राउटेका लागि राम्रो गरोस् ।’
देशका प्रधानमन्त्री उम्मेदवारलाई समेत राउटेहरू चिन्दछन् । बदलिएको राजनीतिक घटनाक्रमबारे धेरथोर खबर पनि राख्छन् । ‘बालेन, गगन र केपी ओलीमध्ये एक जना प्रधानमन्त्री हुन्छ रे ! काठमाडौंमा ठुलो आन्दोलन भयापछि बालेन आयाको छ । जो आयापन देशमा राम्रो होस्,’ मुखिया सूर्यनारायण भन्छन् ।

राउटे समुदायका लागि देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री को बन्यो भन्नेसम्म चासोको विषय हुन्छ । अन्य विषयप्रति उनीहरू खासै चासो राख्दैनन् । ‘हामी जंगलका राजा, प्रधानमन्त्री दुनियाँको राजा हुन्छ । दुई राजा (मुखिया र मुख्यमन्त्री-प्रधानमन्त्री) बिच कुराकानी गर्नुपर्ने भएकाले हामीलाई चासो हुन्छ,’ अर्का मुखिया प्रकाश शाही भन्छन् ।
चुनाव चलिरहँदा के गर्दैछन् राउटे ?
पछिल्ला दिनमा राउटे समुदाय पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका-७, लमनामा बस्दै आएको छ । मदन भण्डारी मध्य पहाडी लोकमार्गकै छेउमा राउटेहरूले टहरा बनाएका छन् । त्यहाँ ४२ परिवार राउटे बस्छन् ।
आइतबार बस्तीमा पुग्दा राउटेहरू आफ्नै दैनिकीमा व्यस्त थिए । ८ वर्षीया बालिका विनोद शाहीको आगलागीमा परेर मृत्यु भएपछि बस्ती सार्ने तयारीमा रहेको राउटे युवा खगेन्द्र शाहीले बताए । ‘हाम्रो समुदायमा कोही बित्यो (मृत्यु) भने बस्ती सार्ने चलन छ । यो पटक धेरै टाढा जाँदैनौँ’, उनले भने, ‘यही नजिकै ठाउँ हेरेका छौँ । त्यही सर्छौँ ।’
राउटे बस्ती अगाडि राजमार्गको फराकिलो सडकमा दैनिक पार्टीका झन्डा लगाएका गाडीहरूको ओहोर-दोहाेरो गर्छन् । तर, ती झन्डावाला गाडी र झन्डा बोक्नेहरू राउटे बस्तीमा भने पस्दैनन् ।
बस्तीदेखि तीन सय मिटर अगाडि लमना चोक छ । यही चोकमा प्राय: सबै राजनीतिक दलहरूले आफ्नो चुनावी सभाको आयोजना गर्ने गरेका छन् । गाउँ बस्तीमा दैनिक जसो कुनै न कुनै दलको कार्यक्रम भइराख्छ ।
‘हामीसँग नागरिकता छैन । नागरिकता नभएपछि भाट हाल्ने कुरा पनि भएन । त्यही भएर नेताहरू हामीलाई भेट्न आउँदैनन्’, राउटे युवा खगेन्द्र भन्छन्, ‘नागरिकता भइदिएको भए त हामीसँग पनि भोट माग्न आउँथे होलान् ।’
राउटे नेपालको एक लोपोन्मुख समुदाय हो । फिरन्ते जीवन बिताउँदै आएको यो समुदायले हालसम्म नेपाली नागरिकता लिएको छैन । एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने र खेतीपाती नगर्ने मान्यता यो समुदायको छ । सरकारले दैलेखको गुराँस गाउँपालिकाले वडा नं. ८ ठेगाना राखेर २०७५ सालमा अस्थायी परिचयपत्र दिएको छ ।
राउटेले सामाजिक सुरक्षा भत्ता पनि यहीँ परिचयपत्रको आधारमा पाउँछन् । लोपोन्मुख राउटे समुदायको हालको जनसंखया १३३ रहेको छ । जसमा मताधिकार प्रयोग गर्न उमेर पुगेका(१८ वर्ष) को संख्या ७३ छ ।
नागरिकता लिनुपर्छ र भोट हाल्नु पर्छ भन्ने मान्यता आफ्नो समुदायमा नरहेको अर्को मुखिया प्रकाश शाही बताउँछन् । ‘हामी यही देशको मान्छे हो । नागरिकता भएपनि नभए पनि हामीलाई यो देशको मान्छे होइन कसले भन्ने थियो र ?’ प्रकाश मुखिया भन्छन्, ‘हामी एकै ठाउँमा पनि बस्दैनौँ, कागज (नागरिकता) बोकेर कहाँ हिँड्नु ?’
राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी तीन गोत्र छन् । हरेक गोत्रका एक/एक गरी तीन मुखिया हुन्छन् । राउटे मुखियाले नै बस्तीमा नीति र थिति बसाल्ने गरेको प्रकाश मुखिया बताउँछन् । आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे कर्णाली र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
राउटेहरू बिरामी भए झारफुकमा विश्वास गर्छन्, उपचार गर्न मान्दैनन् । पछिल्ला वर्षहरूमा भने अप्ठेरो परेमा बाँचिन्छ भन्ने आसले अस्पताल जाने गरेका छन् । बस्ती नजिक ठुलो स्वास्थ्य चौकी भने छैन । उनीहरूलाई उपचारका लागि प्रदेश राजधानी सुर्खेतमै पुर्याउनुपर्छ ।
उनीहरू आफ्नै मौलिक सिप र कलाको प्रयोग गरी काठका सामाग्री बनाउँछन् । नजिकको बस्ती वा बजारमा पुगेर खाद्यान्न र कपडा साटेर जीविकोपार्जन गर्छन् ।
राउटेलाई चासो छैन, नेतालाई हुनुपर्छ
राउटेहरूलाई मुलुकको कानुनी व्यवस्थासँग कुनै सरोकार छैन । समुदाय सञ्चालन गर्न आफ्नै व्यवस्था छ, आफ्नै मुखिया छन् । जहाँ जान्छन्, आफ्नै नीति र नियममा चल्छन् । राउटेको पुरानो प्रचलन र मुखियाको विचार नै कानुन मान्छन् ।
राउटेलाई देशको चुनावको मतलब नभएपनि दल र उम्मेदवारहरूले भने उनीहरूलाई बेवास्ता गर्न नमिल्ने राउटेहरूका पक्षमा कलम चलाउँदै आएका सुर्खेतका पत्रकार तथा अभियन्ता नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटे नेपालकै सभ्यता अंग हो । यति बेला यो सभ्यता नै सङ्कटमा छ,’ उपाध्याय भन्छन्, ‘राउटेको संरक्षणका लागि प्रस्ट नीतिको आवश्यक छ । तर यो क्षेत्रका उम्मेदवारहरूको प्राथमिकतामा राउटेहरू छैनन् ।’
पछिल्लो समय राउटे समुदाय संकटमा छ । राउटे महिलामाथि यौनजन्य दुर्व्यवहारका घटना बढेका छन् । राउटे समुदायको उत्थान, सशक्तीकरण र हेरचाहका लागि भन्दै सरकार र गैरसरकारी संस्थाहरूका भद्रगोल लगानीका कारण राउटेको जनसंख्या घटिरहेको छ ।

राज्यको यथोचित ध्यान नपुग्नु, अत्यधिक मदिरा सेवन, कमजोर जनस्वास्थ्य, कुपोषण र उपचारमा पहुँच नहुनु, गुणस्तरहीन परम्परागत आवासमा बसोबास र मौसमअनुकूल लत्ताकपडा अभावजस्ता कारणले राउटे सभ्यता नै संकटमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको एक प्रतिवेदनले चिन्ता प्रकट गरेको छ ।
राउटे बस्ती स्थानान्तरणसँगै घुम्ती प्रहरी चौकीको स्थापना गर्नुपर्ने, ‘घुम्ती एकीकृत सेवा केन्द्र’ मार्फत उनीहरूलाई पञ्जीकरण, खाद्यान्न, राहत तथा स्वास्थ्यलगायत सेवा सञ्चालन गर्नुपर्ने, राउटे महिला तथा बालबालिकाको पोषणका लागि ‘घुम्ती पोषण गृह’ स्थापना गर्नुपर्ने अयोगले सुझाव दिएको छ ।
राउटेहरूसँग नागरिकता नभए पनि, मतदान गर्ने अधिकार नभए पनि उमेदवारहरुको चासो हुनुपर्ने पत्रकार उपाध्याय बताउँछन् । ‘राउटेको संरक्षण सबै दल र उमेदवारहरुको दायित्व हो । यसमा सबै उम्मेदवार चुकेका छन्’, उनले भने, ‘हाम्रा उम्मेदवारहरूले भोट बैंकभन्दा अलिकति पर गएर सोच्थे भने, आज उनीहरूको प्राथमिकतामा राउटे हुन्थे ।’
कर्णाली प्रदेशका कुनै पनि दल तथा उम्मेदवारका घोषणापत्रमा राउटेको विषय समेटिएको छैन ।
प्रतिक्रिया 4