११ माघ, सुर्खेत । २० माघ २०३३ मा बाँकेको नेपालगञ्जमा नेपाली कांग्रेसका नेता बीपी कोइराला आउने कार्यक्रम थियो । त्यति बेला दलहरूलाई खुला रूपमा कार्यक्रममा गर्न बन्देज थियो । बीपीले सम्बोधन गर्ने कार्यक्रमका लागि गुपचुपमै भव्य तयारी गरिएको थियो ।
त्यही कार्यक्रममा भाग लिन जुम्लाबाट नेपालगञ्जमा पुगेका थिए २१ वर्षीय युवा ललितजंग शाही । ‘हामीले राँझा एअरपोर्टमा बीपीलाई स्वागत गरेर कार्यक्रमस्थल पुर्यायौं । त्यहाँ बीपीसँग मेरो कुरा भयो,’ त्यो दिन सम्झिँदै शाही भन्छन्, ‘बीपीको विचार सुनेरै म त्यही दिनदेखि भूमिगत रूपमा कांग्रेस राजनीतिमा लागें ।’
बीपीको विचारबाट प्रभावित भएर राजनीतिमा लागेका तिनै २१ वर्षे ललितजंग आज ७० वर्षका भए । कांग्रेस कर्णाली प्रदेशका सभापतिसमेत रहेका शाहीलाई पार्टीले राष्ट्रिय सभाको उम्मेदवार बनाएको थियो । कांग्रेस-एमाले गठबन्धनको उम्मेदवार रहेका शाही आइतबार राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । नेकपाका उम्मेदवार बुद्धप्रसाद शर्मालाई पराजित गर्दै उनी राष्ट्रिय सभामा चुनिए ।
कांग्रेस राजनीतिमा करिब ५० वर्ष बिताएका पाका नेता शाही अब राष्ट्रिय सभा सदस्य भएर नीति निर्माणमा महत्त्वपूर्ण भूमीका खेल्ने बताउँछन् । उनी कांग्रेस कर्णालीमा बौद्धिक र इमानदार नेताको रूपमा चिनिन्छन् ।
भूमिगतकालमा बहुदलको पक्षमा वकालत गरेका शाही देशमा बहुदल वा निर्दल भन्ने विषयमा जनमतसंग्रह हुँदा कालीकोटको जुकाटे बुथमा कांग्रेसका तर्फबाट बहुदलको एजेन्ट बसेका थिए । पछि २०४५ सालमा शाही नेपाली कांग्रेस जुम्लाको उपसभापति बने । २०४९ देखि २०५३ सम्म कांग्रेस जुम्लाको कार्यवाहक सभापतिसमेत भएर उनले काम गरे ।
२०६४ को पहिलो संविधानसभा चुनावमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शाही त्यो बेला पराजित भएका थिए । जसले गर्दा पछिल्लो समय केही राजनीतिक वृत्तमा उनलाई ‘बागी उम्मेदवार’ का रूपमा चित्रणसमेत गरिन्छ । तर शाही भने त्यसलाई स्पष्ट रूपमा अस्वीकार गर्छन् । उनले विभिन्न अन्तर्वार्तामा आफू कहिले पार्टीविरुद्ध नउभिएको बताउँदै आएका छन् ।

‘म बागी थिइनँ, पार्टीकै संस्थागत निर्णयअनुसार वैकल्पिक उम्मेदवार थिएँ,’ शाहीले भन्ने गरेका छन् । तत्कालीन केन्द्रीय नेतृत्व र स्वर्गीय नेता भीमप्रसाद श्रेष्ठको उपस्थितिमा भएको निर्णयअनुसार आफू वैकल्पिक उम्मेदवार बनेको उनको दाबी छ ।
२०७० को दोस्रो संविधानसभा चुनावमा जुम्लाबाट निर्वाचित शाहीले नेपालको संविधान २०७२ निर्माणमा भूमिका खेले । जुम्ली जनताले दिएको त्यो जिम्मेवारी आफूले संविधान निर्माणमार्फत पूरा गरेको उनी बताउँछन् । जसलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि मान्छन् ।
१९ मंसिर २०७८ मा सम्पन्न कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट शाही प्रदेश सभापतिमा विजयी भए । तत्कालीन कांग्रेसको संस्थापन समूह (शेरबहादुर देउवा पक्ष) बाट सभापतिमा लडेका ललितजंगले संस्थापन इतर समूहका निकटतम प्रतिस्पर्धी कालीकोटका भूपेन्द्रजंग शाहीलाई १०५ मतले हराएका थिए । ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा भूपेन्द्रले भने ३१७ मत प्राप्त गरेका थिए ।
२०७९ को चुनावमा प्रदेश सभामा चुनाव लडेका शाही कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारसँग प्रतिनिधिसभामा पराजित कांग्रेस नेता देवेन्द्रबहादुर २०७९ को चुनावमा प्रदेशसभामा लड्न चाहन्थे ।
तर, पार्टीले प्रदेश सभापति ललितजंगलाई टिकट दियो । कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन हुँदा जुम्ला प्रदेशसभा (१) कांग्रेसको भागमा परेको थियो । गठबन्धनको आडमा चुनाव जित्न चाहेका ललितजंगले आफ्नै पार्टीका बागी उम्मेदवारसँग पराजित हुनुपर्यो ।
प्रदेशको भावी मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा उत्रिएका उनले नराम्रो पराजय बेहोरे । तीनै प्रदेशसभामा पराजित शाहीलाई पार्टीले राष्ट्रिय सभामा जिताएर पठाएको छ ।
शाही राष्ट्रिय सभा अध्यक्षका उम्मेदवारसमेत रहने उनी निकट नेताहरू बताउँछन् । तर उनी भने आफूले अहिले नै राष्ट्रिय सभा अध्यक्षमा दाबी नगरेको तर पार्टीले जिम्मेवारी दिए बहन गर्न तयार रहेको बताउँछन् ।
‘राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार पछि पार्टीले नै निर्णय गर्ने कुरा हो । अहिले नै मेरो दाबी भन्ने हुँदैन्,’ शाहीले अनलाइनखबरसँग भने, ‘तर पछि पार्टीले जिम्मेवारी दिएपछि राष्ट्रिय सभाको नेतृत्व गर्न भने तयार छु ।’
राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित शाहीले संविधान लिक बाहिर गएको र त्यसलाई ट्र्याकमा ल्याउन आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । संविधान संशोधन गरेर राजनीतिक स्थायित्व कायम गराउने र नीति निर्माणमा प्रभावकारी भूमिका खेल्नु नै आफ्नो प्राथमिकता भएको उनले बताए ।
शाही आफूलाई राजनीतिमा प्रचारभन्दा काममा विश्वास गर्ने नेता ठान्छन् । जुम्लाको चन्दननाथ नगरपालिका-५, खलङ्गा निवासी शाही २०१२ साल कात्तिक १५ गते जन्मिएका हुन् ।
अनुभव, निरन्तरता र संस्थागत राजनीतिमा विश्वास गर्ने शाहीको यात्रा अब राष्ट्रिय सभातर्फ मोडिएको छ । उनले राष्ट्रिय सभा सदस्यको रूपमा कर्णालीका मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4