११ फागुन, पाल्पा । पाल्पा-२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार ठाकुरप्रसाद गैरेले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेको छन् । फागुन २१ गते हुने निर्वाचनलक्षित गर्दै सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा पूर्वसांसद समेत रहेका गैरेले पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम अघि सारेका हुन् ।
केन्द्रीय स्तरको २५ सूत्रीय कार्ययोजनासँगै पाल्पा-२ का लागि विशेष स्थानीय कार्यक्रमहरू समेटिएको प्रतिबद्धता पत्रमा आर्थिक विकासदेखि सुशासनसम्मका एजेन्डा समावेश छन् । प्रतिज्ञापत्रमा आर्थिकतर्फ आगामी आधा दशकभित्र मुलुकको अर्थतन्त्र १०० खर्ब र एक दशकभित्र २०० खर्ब पुर्याउने महत्वाकांक्षी लक्ष्य लिइएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत भुक्तानी सन्तुलनलाई राष्ट्रको पक्षमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने र सुदृढ वित्तीय प्रणाली विकास गर्ने योजना अघि सारिएको छ ।
सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता कायम गर्दै बचतकर्ताको हित संरक्षण गरिने प्रतिबद्धता जनाइएको छ । साथै, स्वदेशमै रोजगारी सिर्जना गर्दै स्वदेशमै कामको वातावरण बनाइने उल्लेख गरिएको छ ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पाल्पा-२ का सडक र पुलहरूको स्तरोन्नति तथा नयाँ सडक निर्माणलाई तीव्रता दिने योजना छ । तानसेनलाई मौलिक सांस्कृतिक सहरका रूपमा विकास गर्ने विशेष कार्यक्रम अघि सारिएको छ । ग्रामीण बस्तीहरूलाई आधुनिक ग्रामीण सहरको ढाँचामा रूपान्तरण गर्ने तथा सुशासन र विकासको आधारका रूपमा डिजिटल पूर्वाधार विस्तार गरिने जनाइएको छ ।
पर्यटन प्रवर्द्धनका लागि पाल्पालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘उजिरसिंह पार्क’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने योजना उल्लेख छ । वनलाई पर्यापर्यटन र आयआर्जनसँग जोड्दै पर्यटन वन अवधारणा विकास गर्ने उल्लेख छ ।
कृषि तथा जलस्रोत क्षेत्रमा खेतीयोग्य जमिनमा कुलो र नहर विस्तार गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने, अर्गानिक तथा रैथाने बालीमा जोड दिने र आधुनिक कृषि प्रविधिमार्फत खाद्य आत्मनिर्भरता हासिल गर्ने कार्यक्रम अघि सारिएको छ । हरित ऊर्जाको विकास गरी स्वदेशी खपत बढाउने र अतिरिक्त ऊर्जा निर्यात गर्ने लक्ष्य छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पाल्पालाई शैक्षिक तथा स्वास्थ्य सेवाको केन्द्र बनाउने प्रतिबद्धतामा छ । यस्तै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने तथा आधारभूत वर्गका नागरिकलाई स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा उपलब्ध गराउने योजना छ ।
प्रतिक्रिया 4