+
+
Shares

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा सातजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको झारखण्डको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनामा सवार सातै जनाको मृत्यु भएको छ।
  • रेडबर्ड एयरवेजको बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँचीबाट दिल्लीका लागि उडेको थियो र ७:३० बजे सम्पर्कविहीन भएको थियो।
  • एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरोले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गर्ने र ब्ल्याक बक्सबाट तथ्य खुल्ने अपेक्षा गरिएको छ।

१२ फागुन, काठमाडौं । भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो ।

रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान सम्पर्कविहीन भएको र पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा. विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ । सबै शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

४१ वर्षीय सञ्जय कुमारलाई गम्भीर अवस्थामा उपचारका लागि राँचीबाट दिल्ली लैजान एयर एम्बुलेन्स व्यवस्था गरिएको थियो । उनी ६५ प्रतिशतसम्म जलेका कारण केही दिनदेखि देवकमल अस्पतालमा उपचाररत थिए । परिवारका सदस्यका अनुसार उनको अवस्था अत्यन्त नाजुक भएकाले सडकमार्गबाट लैजान सम्भव नभएको र चिकित्सकको सुझावमा एयर एम्बुलेन्स प्रयोग गरिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार दुर्घटना भएको बेला क्षेत्रमा तीव्र हावा, भारी वर्षा, चट्याङ र ठूलो गर्जन भइरहेको थियो । खराब मौसमका बीच ठूलो आवाजसहित विमान खसेको उनीहरूले बताएका छन् ।

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले विमानले कोलकातासँग ७:३४ बजे सम्पर्क गरेपछि राडार सम्पर्क गुमाएको जनाएको छ । विमान वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्वमा सम्पर्कविहीन भएको थियो ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने बताइएको छ । ब्ल्याक बक्सबाट दुर्घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?