News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पा सिमेन्ट इन्डस्ट्रिजले १२ फागुनदेखि सर्वसाधारणका लागि ७५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।
- कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँमध्ये २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
- कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो र ४ अर्ब ११ करोड बिक्री आम्दानी गरेको थियो।
१२ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आम सर्वसाधारणका लागि मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ ।
यसअघि कम्पनीले प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गरेपछि बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन हुन लागेको छ ।
यो सेयरमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हाल बजारमा ४ सिमेन्ट कम्पनी सूचीकृत छन् । सर्वोत्तम, शिवम्, घोराही र सोनापुर सिमेन्ट बजारमा सूचीकृत छन् । अंकित मूल्य १ सयमा प्राथमिक सेयर जारी गर्ने यो एक मात्रै सिमेन्ट कम्पनी हो ।
कस्तो छ कम्पनी ?
तानसेन ब्रान्डमा ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको यो कम्पनीले भारतमा निर्यात समेत गर्ने गरेको छ । दैनिक १ हजार ८ सय टन क्लिंकर र २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । नवलपरासीको सुनवलमा फ्याक्ट्री सञ्चालनमा छ ।
कम्पनीको वित्तीय स्थिति मध्यम छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै २०८०/८१ मा ६ करोड ९८ लाख, २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
२०८१/८२ मा वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ । कम्पनीको बिक्री आम्दानी तथा वित्तीय लागतले नाफालाई प्रभाव पार्दै आएको देखिन्छ ।
२०८१/८२ मा ४ अर्ब ११ करोड बिक्री आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब २२ करोड तथा २०७९/८० मा ४ अर्ब १२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पछिल्लो समय बैंकको ब्याजदर घट्दा वित्तीय लागत घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा यस्तो लागत ५५ करोड ८४ लाख छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड ५२ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८१र८२ अन्त्यसम्म लामो अवधिको ऋण ५ अर्ब ६६ करोड रहेको छ । छोटो अवधिको ऋण ७५ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन कोषबाहेक) ११९ रुपैयाँ छ । पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ छ । १ अर्ब ७ करोड रुपैयाँ जगेडा कोषमा रहेको कम्पनीले जनाएको छ ।
साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको रहनेछ भने ८० प्रतिशत संस्थापक समूहको छ ।
कम्पनीका अध्यक्ष राजेशकुमार अग्रवाल हुन् । उनले ३६.१२ प्रतिशत सेयर स्वामित्व लिएका छन् । त्यस्तै अर्का संस्थापक विष्णुकुमार अग्रवालले पनि ३६.१२ प्रतिशत स्वामित्व लिएका छन् ।
प्रतिक्रिया 4