१३ फागुन, रोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा तयारी तीव्र पारिएको छ ।
मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले जानकारी दिए ।
निर्वाचनमा एक हजार ६२२ जना कर्मचारी खटाइएको र उनीहरुलाई आवश्यक अभिमुखीकरणसमेत दिइसकेको जानकारी उनले दिए ।
फागुन ३ गतेदेखि जिल्लाका १० वटै स्थानीय तहका ७२ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । ‘मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन स्वयंसेवक परिचालन गरेका छौं’, खतिवडाले भने ।
शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सबै अग्रसरता हुनुपर्ने र त्यहीँ अनुरुप आफूहरुले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । ‘रोल्पामा सबै मतदाताले शान्तिपूर्ण रूपमा मतदान गरेर चुनाव सम्पन्न गर्नुपर्छ भन्ने हो तर त्यसका लागि सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ र हामी लागि रहेका छौं’, क्षेत्रीले भने ।
एक हजार २९ जना निर्वाचन प्रहरी, ६१० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी र ४५० जना नेपाली सेना गरी कुल २ हजार ३ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
अहिले रोल्पाका १० वटै स्थानीय तहमा निर्वाचन प्रहरी,नेपाल प्रहरी,शस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको प्रशासनले बताएको छ ।
जिल्लामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन् । तीमध्ये ७४ हजार ६ सय ९० पुरुष र ७४ हजार ९०७ महिला मतदाता छन् ।
निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १८० स्थायी मतदान केन्द्र र ८६ मतदानस्थल तोकिएका छन् ।
प्रतिक्रिया 4