१३ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा समेत शिर झुकाउनुपर्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि नगर्ने बताएका हुन् ।
पुनले जनप्रतिनिधिका रुपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गरेका छन् । उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताएका छन् । यस्तै जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ सय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिंचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरेका छन् ।
‘रोल्पाको सडक सञ्जाल विस्तार गर्नका लागि मदन भण्डारी लोकमार्ग होस् वा शहीदमार्ग निर्माण र कालोपत्रे गर्ने मैले खेलेको भूमिका यहाँहरुलाई थाहा छ । जिल्लाभरि नै उदाहरणीय विद्यालय भवन भनेका छन् । शिक्षामा गुणस्तर वृद्धि भएको छ । संघीय र स्थानीय सरकारको साझेदारीमा १० वटै पालिकाका प्रशासनिक भवनहरु संघीय र स्थानीय सरकारको साझेदारीा करिब बनिसकेका छन्,’ उनले भनेका छन् ।
सबै पालिकामा १०/१५ बेडका अस्पताल बनेका र केही बन्ने प्रक्रियामा रहेको उनले बताएका छन् । २०६२/६३ सालको जनआन्दोलनताका १२ प्रतिशत विद्युतीकरण भएको तथ्यांक उनले प्रस्तुत गरेका छन् ।
‘जनयुद्ध र जनआन्दोलन’मा योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रुपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता उनले जनाए । ‘रोल्पालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु । राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरुलाई रोजगार/स्वरोजगार बनाउने अभियानमा लाग्नेछु,’ पुनले भनेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, नेकपा एमालेका गोकुलप्रसाद घर्ती, नेपाली कांग्रेसका सुदन कुमार वली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चुडामणि वली, राप्रपाका अम्मर बहादुर थापा क्षेत्रीसहित १० जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4