+
+
Shares
बारा–३ स्थलगत :

स्थानीय मुद्दा गौण, प्रधानमन्त्रीको अनुहारमा समाधान देख्छन् मतदाता

अधिकांश मतदाताका कुरा सुन्दा यसपटक प्रतिनिधिसभा निर्वाचन स्थानीय मुद्दासँग भन्दा प्रधानमन्त्रीको कुर्सी केन्द्रित देखियो । स्थानीय मुद्दाका सवाल पनि प्रधानमन्त्रीका अनुहारले नै समाधान गरिदिने विश्वास बारा–३ का मतदाताले गरेको देखिन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ फागुन १४ गते ७:३०

१४ फागुन, बारा (कलैया) । बिजुलीका पोलमा दलका झण्डा र उम्मेदवारका पोस्टर । गीत बजाउँदै ओहोर–दोहोर गरिरहेका गाडी र बाइक ।

नेपाल–भारत सीमासँग जोडिएको बारा–कलैयालाई प्रतिनिधिसभा चुनावले छपक्कै छोपेको छ । चिया चौतारोदेखि सडकपेटीसम्म चुनावकै चर्चा छ ।

चोक–चोकमा अनलाइनखबरले भेटेका अधिकांश मतदाताका कुरा सुन्दा यसपटक प्रतिनिधिसभा निर्वाचन स्थानीय मुद्दासँग भन्दा प्रधानमन्त्रीको कुर्सी केन्द्रित देखियो । स्थानीय मुद्दाका सवाल पनि प्रधानमन्त्रीका अनुहारले नै समाधान गरिदिने विश्वास बारा–३ का मतदाताले गरेको देखिन्छ ।

बाराको बरेवा टोलमा छिर्दा यहाँका स्थानीय मतदाताहरू पुराना राजनीतिक अभ्यासबाट थकित देखिए । स्थानीय व्यवसायी हिरालाल प्रसादका अनुसार, उनी यसपटक नयाँ प्रयोग गर्नेवाला छन् । सडकपेटीमा व्यवसाय चलाएका ४५ वर्षीय हिरालाललाई अब धेरै धुलो खानु छैन । पुराना उम्मेदवारहरूले पटकपटक आशा देखाए पनि फास्ट ट्र्याककै करिब तीन किलोमिटर सडक पक्की नभएकोमा उनमा आक्रोश छ ।

‘यसपटक हामी मतदाता परिवर्तन चाहन्छौँ । वरपरका मान्छेहरू भन्छन्, नयाँ मान्छे ल्याऔं, युवा ल्याऔं,’ हिरालालले अनलाइनखबरसँग भने ।

२०७९ सालको चुनावमा बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार २७९ मत ल्याएका थिए ।

यसरी बाराले जिताएर पठाएकी साह एमाले–माओवादी केन्द्र गठबन्धन सरकारको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा कृषि तथा पशुपन्छी विकास मन्त्री भइन् । यसअघि पनि उनले केन्द्र सरकारमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी थिइन् । तर मधेशको राजनीतिक आन्दोलनसँगै हुर्किएकी नेतृ साहले जनताका लागि केही नगरेको गुनासो हिरालालले गरे ।

अन्य पुराना दलप्रति पनि उनलाई विश्वास छैन । बरु काठमाडौं महानगरपालिकामा रहँदा बालेन शाहले राम्रो विकास गरेको बुझाइ उनमा छ । अनलाइनखबरसँग स्थानीय समस्या पनि सुनाएका उनले यसको समाधान अब केन्द्रबाट प्रधानमन्त्रीले नै गरिदिने आसय व्यक्त गरे ।

अगाडि धुलाम्य बाटो देखाउँदै उनले भने, ‘यो बाटो १३–१४ वर्षदेखि अधुरो छ । प्रत्येक नेता आउँछन्, उद्घाटन गर्छन् । यसपालि त पक्का बन्छ भन्छन् । तर बन्दैन । १३/१४ वर्षदेखि मैले कति धुलो खाएँ होला ।’

बरेवा टोलमै भेटिएका श्याम यादव, जो कानुन अध्ययन गर्दैछन् । उनको बुझाइमा यहाँका समस्यालाई कुनै नेताले गम्भीरतापूर्वक लिएका छैनन् । भन्छन्, ‘अहिले पहिलाभन्दा अवस्था फरक छ । पुराना दलहरूलाई हेर्‍यौं, अब नयाँलाई एकचोटी मौका दिऔं । यदि गरेनन् भने अर्कोचोटी फेरि चेन्ज गर्न सकिन्छ । शक्ति हाम्रै हातमा त छ नि ।’

यादवले नयाँ भन्दै संकेत गरेको पार्टी न त मधेशमा पछिल्लो समय वैकल्पिक दाबी गर्दै उदाएको जनमत पार्टी हो, न अन्य कुनै मधेशी दल । उनलाई यसपटक आफ्नै भूभागको प्रतिबिम्व प्रधानमन्त्रीको कुर्सीमा हेर्नु छ । पुराना उम्मेदवारहरूले जितेर गए पनि विकास नभएको गुनासो उनको पनि छ ।

‘हामीलाई व्यक्तिगत रूपमा कसैलाई केही चाहिएन, तर समुदायिक रूपमा सबैलाई सहयोग हुने काम हुनुपर्छ,’ यादव थप्छन्, ‘यहाँका मुख्य समस्या धेरै छन् । फास्ट ट्र्याक १४ वर्षदेखि अधुरो छ । मटिअर्वा नाकाबाट महेन्द्र राजमार्ग जोड्ने यो मेन बाटो साढे तीन किलोमिटर मात्र बाँकी छ, तर विकास भएको छैन ।’

गल्ली–गल्लीमा अलि राम्रो भए पनि मुख्य बाटोमा धुलो–धुवाँ खाइरहेको सास्ती उनले सुनाए । उनका अनुसार बाटोका कारण व्यापार र दैनिकी प्रभावित भएको छ । यो क्षेत्रमा शिक्षा र स्वास्थ्यको सवाल पनि उत्तिकै महत्वपूर्ण छन् । राम्रो स्कुल–कलेज छैनन् । समुदायिक स्कुलमा भवन छ, शिक्षक नै हुँदैनन् ।

‘११ बजे गए विद्यार्थी भेटिँदैन, २ बजे गए शिक्षक भेटिँदैन । स्वास्थ्य सेवामा पनि उस्तै ढिलासुस्ती छ । कलैया अस्पतालमा उपकरण छन्, डाक्टर छन्, तर उपचार राम्रो गर्दैनन् । सुत्केरीको लागि समेत ढिला हुन्छ, उपचार विश्वसनीय हुँदैन । गम्भीर भए काठमाडौं पुग्नुपर्छ,’ यादवले समस्याका फेहरिस्त सुनाउँदै भने, ‘यसपटक त हिसाब लिनुपर्छ ।’

युवा मतदाता प्रीति साह पनि यसपटक परिवर्तनको पक्षमा आफूहरू रहेको बताउँछिन् । काठमाडौं महानगरपालिकामा बालेन शाहले गरेको कामबाट प्रभावित भएकाले आफूले देश बनाउने जिम्मा उनलाई दिन चाहेको इच्छा सुनाइन् ।

‘अब त परिवर्तन त गर्नुपर्यो नि ?,’ २७ वर्षीया साह भन्छिन्, ‘यहाँ शिक्षा र स्वास्थ्यमा आधारभूत व्यवस्था पनि छैन । म आफैँ बाहिर पढ्नुपरेको छ, घर छाडेर । यो अवस्था किन आयो भनेर समीक्षा गर्नुपर्दैन ?’

प्रीति हाल एलएलएम (कानुनमा स्नातकोत्तर) गर्दैछिन् । उनका अनुसार त्यहाँ एउटा स्कुल छ, तर निकै पुरानो । त्यसैले काठमाडौंको शिक्षा सुधारेको बालेनलाई हेर्ने उनको चाहना छ ।

बालेन आबद्ध पार्टी रास्वपाबाट यस क्षेत्रमा ई. अरबिन्द साह उम्मेदवार छन् । साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन् । त्यसपछि ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले उक्त तहमा नेपालमै पहिलोपटक आईसीटी इन एग्रिकल्चर विषयमा थेसिस गरेका थिए । हाल उनी ग्रामीण विकास विषयमै एमफिल/पीएचडी अध्ययनरत छन् ।

नेपाली कांग्रेसले बदलिएको दाबी गरे पनि तत्कालको लागि आफूले मन बनाइसकेको र यदि अहिले जिताएकाले काम नगरे मात्र अन्य विकल्प सोच्ने उनले बताइन् । त्यसमा पनि कांग्रेसले नयाँ भने पनि पुरानै अनुहारलाई उम्मेदवार बनाएको उनको बुझाइ छ । यो क्षेत्रमा नेपाली कांग्रेसले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई उम्मेदवार बनाएको छ ।

बारा र मधेशको राजनीतिमा जरा गाडेका मन्सुर कांग्रेस भित्र अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने अग्रणी नेतामध्ये एक मानिन्छन् । बारा जिल्ला सभापति पनि बनेका उनी २०५६ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए, जससँगै उनको राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश भयो । त्यसयता उनी निरन्तर पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आए ।

दोस्रो संविधानसभाका सदस्यसमेत बने । २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि श्रम तथा रोजगार मन्त्री नियुक्त भए । पार्टी भित्र १४औँ महाधिवेशनबाट मुस्लिमतर्फ सहमहामन्त्री निर्वाचित भएका उनी दोस्रो विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भए ।

मन्सुरसँगै अरबिन्द साह, ज्वालाकुमारी साह, भरतप्रसाद साह, रामबाबुकुमार यादव लगायतका २४ उम्मेदवार यस क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्, जसमा ८ जना स्वतन्त्र उम्मेदवार छन् । यसअघि ज्वालाकुमारी साहले जितेको यो क्षेत्रमा एक लाख १३ हजार ५२१ मतदाता रहेका छन् ।

सीमा–नाकामा ‘ठूलालाई चैन, सानालाई ऐन’

बाराको भारतसँग जोडिएको सीमा–नाका मटिअर्वाका बासिन्दाको मुख्य गुनासो सीमा क्षेत्रको व्यापार र सुरक्षा हो । स्थानीय रमेशप्रसाद गुप्ता (४१ वर्ष) सुरक्षा संवेदनशिलता र व्यवसायको हिसाब आफूहरूको लागि ठूलो मुद्दा भएको बताउँछन् ।

गुप्ता भन्छन्, ‘यहाँको समस्या त्यही बोर्डरतिर व्यापार व्यस्त हुन्छ, तर प्रशासनले आउनै दिँदैन । सुरक्षाको हिसाबले पनि अलि चुनौतीपूर्ण छ । त्यसमा पनि हामी जस्ता साना व्यपारीलाई प्रशासनले निकै दु:ख दिन्छ ।’

नाका छेउमा सामान्य पसल चलाइरहेका गुप्ताका अनुसार भारतीय पक्षबाट मालसामान ल्याउँदा समस्या पर्छ । प्रशासन र सुरक्षा संयन्त्रले अनावश्यक दु:ख दिँदा डर लाग्छ । नाकाबाट हुने काममा ‘ठूलालाई चैन, सानालाई ऐन’ लाग्छ । ठूला व्यवसायीले निस्फिक्री सामान छिराउँदा सामान्य व्यापारीलाई अनावश्यक दु:ख दिइन्छ ।

उनको जस्तै गुनासो हिरालाल प्रसादको पनि छ । उनका अनुसार, एक हजारदेखि २० हजार रुपैयाँसम्मका सामान किन्न पनि स्थानीयहरू भारतको बोर्डरपारि जान्छन् । साइकल, मोटरसाइकल वा अटोमा सामान ल्याउँछन् ।

ग्राहक पनि यसरी जाँदा, अनि स्थानीय व्यापारीलाई सामान ल्याउँदा प्रशासनले पनि दु:ख दिने हुँदा लोकल व्यापार सुकेको हिरालालले बताए ।

‘यो एरियामा यसपटक परिवर्तनलाई साथ दिने हो,’ नेपाल–भारत सीमा–नाकामा दैनिक सास्ती भोग्ने मटिअर्वा भन्सारका ३४ वर्षीय नागेश्वरप्रसाद गुप्ताले अनलाइनखबरसँग भने । उनका अनुसार यो क्षेत्रमा पहिला छाता र सूर्यको प्रभाव थियो । तर उनीहरूले जितेपछि फर्केर आएनन्, काम पनि गरेनन् । त्यसैले आफू मलेसियाबाट मत हाल्नकै लागि गाउँ आएको उनले बताए ।

‘विदेशमा हेर्दा फरक देखिन्छ । आफ्नो ठाउँमा केही भएको छैन । बाटो–घाटो राम्रो भएन, नाला बनेन । विद्यालय छ, शिक्षक छैनन्,’ गुप्ताले समस्याका फेहरिस्त सुनाए, ‘विद्यालयमा कम्प्युटर आयो भन्थे, तर देखिएन ।’

आक्रोशित सुनिएका गुप्ताले सिमानाका समस्या सुनाउँदै थपे, ‘बोर्डरको समस्या झन् ठूलो छ । सानो भन्सार छ, तर ठूला व्यापारीलाई सहज छ । घरायसी सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्छ । ठूला व्यापारीलाई मिलोमतोमा छिराइदिन्छन्, साना र घरायसीलाई दु:ख छ ।’

त्यसैले यसपटक यी सबै बेतिथी फाल्न आपूm मलेसियाबाट आइपुगेको दाबी गर्ने गुप्ताले प्रधानमन्त्रीको अनुहारमा अपेक्षा राखेका छन् । अझ कतिपय त उम्मेदवार, दल केही नचिने पनि कुनै प्रधानमन्त्रीको उम्मेदवारकै भरमा मतदान गर्न गइरहेको उनले बताए ।

बढ्दो लागुऔषध कुलत

स्थानीय श्याम यादवले बारा–३ मा लागुऔषधको कुलत युवाहरूमा बढ्दो रहेको बताए । उनका अनुसार शिक्षा जस्तो आधारभूत आवश्यकता नै पर्याप्त नहुँदा युवामा चेतनासहितको सारक्षरता छैन । यसले उनीहरूलाई रोजगार पाउन गाह्रो छ । व्यवसाय गर्ने सबैको अवस्था छैन । त्यसैले युवामा लागुऔषधको कुलत डरलाग्दोसँग फैलिरहेको गुनासो उनको छ ।

‘घर–घरमा यस्तो अवस्था छ,’ यादव चिन्तित सुनिए, ‘छोराछोरीले अभिभावकको कुरा टेर्दैनन् । छिमेकी बोल्दा पनि झगडा हुन्छ । यी स–साना कुराको समाधान दिने नेता हामीलाई चाहिएको छ । मलाई त कुनै दलसँग पनि विश्वास छैन । त्यही पनि यसपटक बालेनलाई हेर्ने हो ।’

तर, जितेपछि नेता फेरिफेरि भेट्न आउलान् भन्ने उनलाई लाग्दैन । व्यक्तिगत रूपमा सम्भव नहुने बुझेका उनले सामूहिक रूपमा जनताका समस्या सुन्न आउनुपर्ने बताउँछन् । ‘विशेषगरी युवा केन्द्रित नीति ल्याउने मान्छे चाहिएको छ । लागुऔषधको कुलत यही गतिमा बढ्यो भने निकै समस्या हुन्छ । अगाडिकाले यसमा काम नगरिदिँदा अहिले समस्या भयो,’ उनले भने ।

‘नयाँ/पुराना होइन, विकास दिने नेतालाई भोट’

कलैया ११ नम्बर वार्डतिरका मतदाता भने केही फरक सुनिए । केही अघिसम्म उनीहरूकहाँ खानेपानीको निकै अभाव थियो । तर पछिल्लो समय उक्त टोलमा १८ वटा हरियो खानेपानीको ट्यांकी वितरण गरिएको रहेछ । यसले खुसी रहेका स्थानीय धर्मराज ठाकुर यस्ता काम गर्ने उम्मेदवारलाई नै प्राथमिकता दिने बताउँछन् ।

‘जसले बढी काम गरेको छ, उसको बढी चर्चा छ । जसले गरेको छैन, उसको पनि छ तर कम,’ ठाकुरले घुमाउरो जवाफ दिए, ‘अब यसमा नयाँ वा पुराना जो पनि पर्न सक्लान् । तर यो ठाउँ पहिलाभन्दा अहिले निकै विकास हुँदै आइरहेको छ । अब हुँदै जान्छ । विकास जसले भन्छ, उसलाई भोट ।’

उनका अनुसार, बारामा मत माग्न आउनेले आफूलाई नयाँ भन्नेदेखि बदलिएर आयौँ भन्नेसम्म छन् । तर व्यक्तिगत रूपमा नयाँ/पुरानाभन्दा पनि विकासका एजेन्डालाई मत दिनुपर्ने उनी बताउँछन् । अहिलेसम्म उम्मेदवारका स्पष्ट कुरा बुझ्न नपाएकाले पनि आफूले एजेन्डा सुनेर निर्णय लिने उनले बताए ।

धर्मराजसँगै बसेका अर्का मतदाताले थपे, ‘जहाँ काम भएको छ, त्यहाँ पहिलाकालाई भोट बढी जान्छ । गरेको छैन भने कम । त्यसो हुँदा कहाँ कति काम भएको छ भन्ने कुरा त नतिजाले बताइहाल्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?