१४ फागुन, बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङका एक जनाबाहेक सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा रहेकोमा २२ जनाले चुनावी बैंक खाता सञ्चालनमा ल्याएका छन् । उम्मेदवारको खर्च र आम्दानी अब त्यही खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङले गर्ने खर्च अनुगमनका संयोजक तथा प्रमुख कोष नियन्त्रक किशोर कुमार श्रेष्ठले जानकारी दिए ।
बागलुङका उम्मेदवारले बढीमा २९ लाख सम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण गर्नका लागि तथा खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको श्रेष्ठले बताए ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर एकमा ११ जना र क्षेत्र नम्बर दुईमा १२ जना चुनावी मैदानमा छन् । जसमध्ये बागलुङ क्षेत्र नम्बर एकमा १० जना उम्मेदवार र बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले चुनावी बैंक खाता खोलेको श्रेष्ठले बताए ।
बागलुङ क्षेत्र नम्बर एकका एक जना उम्मेदवारले खाता खोल्ने प्रकृयामा रहेको उनको भनाइ छ । निर्वाचन आयोगको निर्देशनमा उम्मेदवारले चुनावी प्रायोजनका लागि छुट्टै खाता खोल्न दिएको निर्देशन अनुसार यहाँका उम्मेदवारहरुले खाता खोलेको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको संयोजकत्वमा खर्च आचारसंहिता अनुगमन समेत भइरहेको छ । भड्किलो खर्च रोक्नका लागि आयोगले पहिलो पटक छुट्टै खाता खोल्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले बागलुङका उम्मेदवारलाई भौगोलिक हिसाबले दिएको खर्च सिमा २९ लाखभित्र रहेर निर्वाचनको मैदानमा खटिन यहाँका उम्मेदवारहरु समेत प्रतिबद्धता समेत जनाएका छन् । उम्मेदवाहरुले सभा सम्मेलनमा गरेको प्रत्यक खर्चको विवरण समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १०७ मतदानस्थल र २३० मतदान केन्द्र र कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् ।
प्रतिक्रिया 4