+
+
Shares
विचार :

अनुत्तरित प्रश्न र निर्वाचनको रापताप

अनेकौं चुनौती र आशंका चिर्दै देश अहिले निर्वाचनको दिशामा अगाडि बढेको छ। यो पटकको निर्वाचन मुद्दा भन्दा बढी पपुलिस्ट व्यक्ति केन्द्रित बनेको छ। देश विकासको भिजन भन्दा पनि व्यक्तिको लोकप्रियतालाई भजाएर चुनाव जित्ने र सत्तामा पुग्ने प्रवृत्ति हावी हुन खोजेको देखिन्छ।

सुशील विके सुशील विके
२०८२ फागुन १४ गते १४:२३

२०८४ मा हुने निर्वाचन जेनजी आन्दोलनका कारण २०८२ मै हुँदैछ। निर्वाचनको रापताप बढ्दै जाँदा दल र उम्मेदवारहरूको विगतको योगदान र भावी योजना सहित जवाफदेहीको खोजी गर्ने क्रम बढिरहेको छ।

यस पटकको निर्वाचनमा मुद्दाको बहस कम र व्यक्तिको चर्चा बढी भएको देखिन्छ। पार्टीहरूले विचार, सिद्धान्त र भिजन अगाडि सार्नुभन्दा एकले अर्कालाई गाली गर्ने र आफू ठूलो हुन लागेको देखिन्छ।

पपुलिस्ट राजनीति हावी भएको परिवेशमा जेनजी आन्दोलनदेखि निर्वाचनसम्मका विषयको चर्चा गर्दै जवाफदेहीको खोजीमा यो आलेख केन्द्रित छ।

नेपालका अहिलेसम्मका सबै आन्दोलनका अग्रमोर्चामा उभिएर निर्णायक भूमिका खेल्ने र बलिदान दिने युवाहरू नै हुन्। अहिले पनि युवा पुस्ताले परिवर्तनको आवाज उठाएर आफ्नो पुस्ताको दायित्व पूरा गर्ने तत्परता देखायो।

तर, यो आन्दोलनले यति ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने न आन्दोलनकारीले सोचेका थिए, न अरूले। यति ठूलो क्षतिबाट गुज्रिएको देशलाई अब उन्नतिको मार्गमा अगाडि बढाउने चुनौतीपूर्ण जिम्मा पनि युवा पुस्ताकै काँधमा छ। यो आन्दोलनले यथास्थितिमा फरक ढंगले सोच्न सबैलाई बाध्य मात्र बनाएको छैन; देशको सार्वभौमिकता, राष्ट्रियता, नेपाली समाजको अवस्था, नेपालको भूराजनीतिक अवस्था र समयले सुम्पेका दायित्वबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने संकेत पनि गरेको छ।

जुन उद्देश्यका साथ आन्दोलन गरियो, जुन तरिकाबाट आन्दोलन गरियो, जसरी आन्दोलनलाई हाइज्याक गर्ने काम भयो र ठूलो जनधनको क्षति भयो, यो इतिहासमा एउटा गम्भीर घटनाका रूपमा दर्ज भइसकेको छ। आन्दोलनमा सहभागी भए वा नभएका, यसको पक्ष वा विपक्षका हरेकले इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्नेछ।

यसअर्थमा यो आन्दोलनको वस्तुनिष्ठ समीक्षा जरूरी छ। भलै समग्र समीक्षा गर्ने समय अहिले भएको छैन। तर, अहिले सतहमा देखिएका तथ्यहरूलाई विश्लेषण गर्न भने सकिन्छ। 

अनौठा दृश्य

जेनजी आन्दोलनपछि देखिएका अनेकौं रोचक दृश्य हाम्रो मानसपटलमा ताजै छन्। आन्दोलनसँगै अनेक तथ्य, विश्लेषण र विज्ञताको बाढी आएको देखिन्छ।

स्वदेश तथा विदेशका विभिन्न सञ्चारमाध्यमदेखि अनुसन्धान गर्ने संस्थाहरूले अनेकौं तथ्यहरू पस्केका छन्।

ती तथ्यले यो आन्दोलन योजनाबद्ध भएको र सामाजिक सञ्जालको दुरुपयोग गरेर भड्काइएको विषय उजागर गरेका छन्। पुराना दलहरूको अक्षमताका कारण आन्दोलन भएको भन्ने एउटा धार छ भने देशी–विदेशी तत्वको षड्यन्त्रका कारण विध्वंस भएको भन्ने अर्को धार छ। जेनजी आन्दोलनलाई उत्तेजित बनाउने र पानी बाँडेर सहयोग गर्ने नाममा आन्दोलनलाई हाइज्याक गर्नेहरू नै जेनजी नेता बनेको दृश्य निकै अनौठो छ।

पुराना दल, नेता र व्यवस्थालाई गाली गर्दै देशमा अब जादुको छडीले जस्तै विकास र समृद्धिको शिखर चुम्ने सपना बाँड्नेहरूको भीड देखिन्छ। युवाहरूमा काँधमा राष्ट्रिय झण्डा बोक्ने देशप्रेमको लहर आएको छ। राजनीतिमा लाग्ने त भूत नै सवार भएको छ।

एकथरीले वर्षाको भेल छोपे जस्तै गरी दल दर्ता गरिरहेका छन्। अर्कोतिर पुराना दल र नेताहरूले आफ्नो कमी–कमजोरीलाई स्वीकार गर्न नसक्ने र कहाँबाट कसरी यो अवस्था आयो मेलोमेसो नै नपाएर रन्थनिएको अवस्था पनि देखिन्छ। देशको समग्र अवस्थालाई अध्ययन विश्लेषण गर्दा यस्तै अनौठा दृश्य भेटिन्छन् र अनेकौं प्रश्न मानसपटलमा घुमिरहन्छन्। भविष्यमा देशले लिने दिशा र अहिलेको जटिल अवस्थाबाट देशलाई निकास दिने विषयमा अनुमान गर्न कठिन देखिन्छ।

कसैको हाइज्याकमा परेको भनिएको जेनजी आन्दोलनको आवरणमा कैयौं कुरा दृश्य–अदृश्य शक्तिहरूले षड्यन्त्र गरेको विषय विस्तारै पटाक्षेप हुँदै जाने देखिन्छ।

नेपालको इतिहासमै अहिलेसम्म नभएको जन–धनको क्षति सहितको घटनालाई तथ्यगत रूपमा समीक्षा गर्न र यसले पार्ने प्रभावका बारेमा यो छोटो अवधिमा आकलन गर्न सकिंदैन। तर, प्रारम्भिक अनुमान भने गर्न सकिन्छ। यो आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्दा विभिन्न दृश्य, तर्क र विश्लेषण आइरहेका छन्। घटनाक्रमलाई बुझ्न/बुझाउन र समीक्षा गर्न उठेका प्रश्नहरूको उत्तर पनि खोज्नुपर्ने देखिन्छ।

मार्क्सवादले भन्छ, कुनै पनि घटना हुनुमा प्रधान विषय आन्तरिक नै र बाह्य विषय सहायक हुन्छ। यस हिसाबले पनि नेपाली समाज, राजनीति र दलका नेताहरूले स्वीकार गर्नैपर्ने हुन्छ कि आन्दोलनको प्रधान कारण आन्तरिक नै हो।

जनता र युवा पुस्ताका सवाल सम्बोधन गर्न नसक्दा, उनीहरूसँग प्रभावकारी संवाद नगर्दा, उनीहरूलाई आवश्यक नागरिक शिक्षा नदिंदा भित्रभित्रै तयार भएको असन्तुष्टि र निराशाको टौवामा देशी–विदेशी अराजकतावादी, प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूले आगो झोस्ने काम गरे। यो योजनाबद्ध र नियोजित रूपमा नेपाललार्ई असफल पार्ने खेल अन्तर्गत भएको विभिन्न अध्ययनले देखाएका छन्।

जेनजीको आन्दोलन पछि जेनजीकै समर्थनमा बनेको सरकारमा प्रतिनिधिहरू अधिकांश ज्येष्ठ नागरिक भए। नागरिक सरकारमा रहेका चार जना मन्त्री त पदबाट राजीनामा दिएर रास्वपा नामक पार्टीबाट चुनाव लड्न लागेका छन्। जेनजी उमेर समूहमा नपर्ने विवादित व्यक्ति अहिले जेनजी नेताका रूपमा सरकारलाई थर्काउने र धम्क्याउने गरेका छन्।

कसैले सेयर लिने, कसैले पैसा उठाउने र राजीनामा दिन धम्क्याउने जस्ता काम गरिरहेका छन्। कसैको हाइज्याकमा परेको भनिएको जेनजी आन्दोलनको आवरणमा कैयौं कुरा दृश्य–अदृश्य शक्तिहरूले षड्यन्त्र गरेको विषय विस्तारै पटाक्षेप हुँदै जाने देखिन्छ। 

अनुत्तरित प्रश्न

देशमा समस्या थिए भन्नेमा कसैको विमति छैन। नेपाल भौतिक विकासमा अगाडि बढेको तथ्यांक भए पनि सामाजिक विकास, सुशासन, सेवा प्रवाह र नागरिक सन्तुष्टिमा समस्या थियो। स्मरण रहोस्, यी समस्या आज एकाएक आएका हैनन्। यी त पञ्चायत हुँदै बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पनि हस्तान्तरण हुँदै आएका समस्या हुन्।

वर्षौंदेखिका यी समस्या समाधानको बाटो यही विनाश मात्र थियो कि अरू पनि थिए ! र नेपालको राजनीतिलाई सुधार गर्न, दलहरूलाई रूपान्तरण गर्न, युवा पुस्तालाई नीतिनिर्माण तहमा ल्याउन, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न देशलाई खरानी नै बनाउनुपर्दथ्यो कि अरू पनि विकल्प थिए ? विकल्प थिए भने किन यति ठूलो विनास निम्त्याइयो ? अब यी समस्याको दिगो समाधान हुन्छ भन्ने ग्यारेन्टी कसले गर्छ ?

राष्ट्रिय संस्थाहरूमाथि ठूलो हमला हुँदा देश र जनताका नाममा कसम खाएका सुरक्षा संयन्त्रहरू कमजोर र निरीह देखिनु र राष्ट्रिय विपद्मा मौन बस्नु इतिहासको ठूलो कलंक भएको छ।

पुराना दलसहित राज्यका सबै अंगहरू र आम नेपाली सच्चिने कि सक्किने ?  भन्ने प्रश्न जोडदार रूपमा उठेको छ। अबका दिनमा एकअर्काप्रति बदला लिन गौंडो कुरेर बस्ने कि आफू बदलिने भन्ने प्रश्न पनि छ। संविधान विपरीत गठन गरिएको सरकारले संविधान विपरीत जनताले चुनेको प्रतिनिधि संस्था संसद् विघटन गरेको विषय प्रश्नको घेरा बाहिर छैन।

राष्ट्रिय संस्थाहरूमाथि ठूलो हमला हुँदा देश र जनताका नाममा कसम खाएका सुरक्षा संयन्त्रहरू कमजोर र निरीह देखिनु र राष्ट्रिय विपद्मा मौन बस्नु इतिहासको ठूलो कलंक भएको छ। यो जटिलताबाट देशलाई कसरी संविधान, कानून र विधिको शासनमा फर्काउने शान्ति, सुरक्षा र सद्भाव कायम गर्ने भन्ने प्रश्न अहिले पेचिलो बनेको छ।

जेनजी आन्दोलनका दुई दिनका उथलपुथलकारी घटना, त्यस अगाडि र पछाडि सामाजिक सञ्जालमा अभिव्यक्त भएका विचार हेर्दा स्पष्ट देखिन्छ, नेपाली समाज चरम पछौटेपनबाट गुज्रिरहेको छ।

मिथ्या र भ्रामक समाचारको बाढी, घृणास्पद अभिव्यक्तिले निर्माण गरेको आक्रोशको ज्वालाले देश जलेको, आम नेपाली र मूलत: युवाहरूमा देखिएको विचार शून्यता र अराजक प्रवृत्तिले यही संकेत गर्छ।

पुर्खाको बलिदानले जोगाएको देश, माटो, देशको इतिहास, पहिचान, गरिमालाई समेत चिन्न नसक्ने नागरिक देशमा भएपछि देश कसरी सुरक्षित रहन्छ ? कसरी विकास र समृद्ध हुन्छ ?

भदौ २३ र २४ गते सडकमा आएका युवाहरूको भूमिका देख्दा गम्भीर प्रश्न उठ्छ, राष्ट्रियता, देशप्रेम, सार्वभौमसत्ता, लोकतन्त्र, विधिको शासन जस्ता हरेक नागरिकले बुझ्नै पर्ने र जीवनमा अवलम्बन गर्नै पर्ने नागरिक शिक्षा जेनजीले पाएका थिए वा थिएनन् ?

आफैं सूचनाप्रविधिमा अभ्यस्त र विश्वबारे समेत जानकारी राख्ने भनिएको जेनजीको कलिलो दिमागमा कसले घृणा, आक्रोश, द्वेष, आपराधिक र विध्वंसात्मक सोच घुसायो ? सिर्जनाका संवाहक हुनुपर्ने युवाहरू किन ध्वंसका वाहक भए ? काँधमा देशको झण्डा बोकेर देश जलाउने सोच कसरी आयो ? देश जलाउँदा ती युवाका हात किन कामेनन् ? जेनजी विभिन्न पुस्ता बीचको सेतु कि विखण्डनको अस्त्र हो ? सिर्जनाको संवाहक हो कि विध्वंसको वाहक हो ? काँधमा झण्डा बोकेर देशमा आगो लगाएर खरानी बनाउने युवाको देश प्रेमको परिभाषा संसारको कुन डिक्सनेरीमा पाइन्छ ?

के यस्तै मानसिकताले देश विकास र समृद्धिमा जान सम्भव छ ? आफूले सकेसम्म लुटपाट गर्ने अनि अरू चाहिं रामराज्यको राम जस्तै भइदिनुपर्ने माग राखेर सुशासनको लडाईं जितिन्छ ?  यी प्रश्नको उत्तर आज पनि देशले खोजिरहेको छ।

विगतमा आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेपछि विभिन्न क्षेत्रका मानिसले समर्थन गर्ने र अन्तत: सफल हुने गरेको इतिहास छ। तर, नेतृत्व र मुद्दाले ठोस आकार नै नलिएको जेनजी आन्दोलनलाई शुरु नहुँदै समर्थनमा नख्खु कारागरमा भएका रास्वपाका सभापति, काठमाडौंका मेयर, माओवादी, राजावादी, दुर्गा प्रसाई लगायत सामाजिक सञ्जालमा पकड भएका सेलिब्रिटीहरूले किन उत्तेजित पार्ने काम गरे ?

के यसलाई विस्तारै परिवर्तनकारी र रूपान्तरणकारी आन्दोलनमा विकास गर्न सकिंदैनथ्यो ? आफूले जीवनमा केही गर्न नसकेको कुण्ठाग्रस्त मानसिकताबाट प्रभावित भएर ठीक–बेठीक छुट्याउनै नसक्ने अवस्थाका कलिला बालबालिका र युवालाई किन उत्तेजनाको भारी बोकाएको ?

स्कूलका पोशाकमा आन्दोलनमा बोलाउने को हो ? बालबालिका शान्ति क्षेत्र भन्ने विश्वव्यापी मान्यता हुँदाहुँदै पनि किन आन्दोलनमा बोलाइयो ? ठीक–बेठीक छुट्याउन नसक्ने बालबालिका र युवाको ब्रेनवास गरेर हातहतियारले सुसज्जित सेना, सशस्त्र प्रहरी र तालिमप्राप्त प्रहरीले सुरक्षा गरिरहेको देशको महत्वपूर्ण निकाय संसद् भवनमा आक्रमण गर्न पठाउने को हो ?

शान्तिपूर्ण भनिएको आन्दोलन एकाएक किन हिंसात्मक बन्यो ? संसद् भवन जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरेर तोडफोड र आगजनी गर्ने तहमा पुग्नु तर, जेनजी आन्दोलनले हिंसात्मक आन्दोलनमा आफ्नो हात नभएको बताउनुले यो घटना किन र कसले गरायो भन्ने गम्भीर प्रश्न उठ्छ। यो घटनाको जिम्मेवारी आयोजकले लिनुपर्छ कि घुसपैठ भयो मात्र भन्दा पुग्छ ?

राज्यको सुरक्षा संयन्त्र र मूलत: प्रहरीले कम क्षतिमा भीड नियन्त्रण गर्ने क्षमता किन प्रदर्शन गर्न सकेन ? नेपालको राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भवन सहित, सिंहदरबार, सर्वोच्च अदालत र अन्य महत्वपूर्ण स्थलहरू जलिरहँदा सुरक्षा निकाय र मूलत: सेना किन मौन बस्यो ?

संसारभर नाम चलेको नेपाली सेना, आफ्नै परमाधिपतिको कार्यालय जोगाउन किन लागेन ? राष्ट्रिय धरोहर जोगाउन नसक्ने सेनाले भोलि देश र जनतामाथि योभन्दा ठूलो समस्या आउँदा कसरी जोगाउँछ भन्ने प्रश्न उठेको छ।

आन्दोलनका बेला सेनाले खेलेको भूमिकाले सेना नागरिकको मातहत भएको, संविधान र कानूनको मातहत भएको मान्यताप्रति पनि प्रश्न उठेको छ। यसका साथै अर्को आश्चर्यजनक कुरा त नख्खु कारागारमा थुनामा रहेका रवि लामिछाने जुन तरिकाले विजयोत्सव गर्दै जेलबाट बाहिर निस्के त्यो कानूनी शासनप्रतिको गम्भीर खेलबाड थियो।

एउटा राष्ट्रिय दलको सभापति, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको व्यक्ति र युवाहरूले आशा गरेको व्यक्तिले यो हदको उग्रता देखाउनुले उनी कस्तो सोच बोक्छन् भन्ने स्पष्ट हुन्छ। उनी एक जनाको कारणले देशभरबाट १४ हजारभन्दा बढी कैदीहरू जेलबाट भागे र ठूलो संख्यामा हतियार लुट्ने काम पनि भयो।

यस घटनाले शान्ति सुरक्षामा पारेको प्रभाव, अपराधीको बढेको मनोबल, राज्यको निरीहता, कानूनी शासनको उल्लंघन र दण्डहीनताले दीर्घकालीन रूपमा पार्ने प्रभाव पनि प्रश्नको घेरामा छ।

रास्वपाले जेनजी आन्दोलनमा समर्थन गर्ने, आह्वान गर्ने, सहभागी हुने र जेलबाट रविलाई भगाउन अनेक तिकडम गर्ने कामको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? के यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिई यो दलप्रति विश्वास गर्न सकिन्छ ?

यो विध्वंस राज्य संयन्त्रको कमजोरी, राजनीति र नेताप्रतिको अविश्वास र घृणाबाट उकुसमुकुस भएका नागरिक र युवामाथि गरिएको निर्मम दमनबाट विस्फोट भएको भनेर मात्र मान्न सकिने अवस्था छैन।

देशी–विदेशी प्रतिगामी तत्वहरूको योजनाबद्ध षड्यन्त्र रहेको पनि स्पष्ट देखिन्छ। यसैले जेनजी र दलहरूले यी सबै घटनाबाट शिक्षा लिनु आवश्यक छ।

कथंकदाचित आउने दिनमा पुन: अल्फा पुस्ता पनि यसरी नै अराजक बनेर आएमा के हुन्छ भन्ने विषयलाई पनि हेक्का राख्न आवश्यक छ।

विगतमा राजनीतिमा लाग्न हुँदैन भन्ने, राजनीतिलाई फोहोरी गेम भन्ने युवाहरूलाई देश, समाज, नागरिक दायित्व आदिबारे समयमा बुझाउन सकिएन भने भविष्यमा पनि यस्ता अकल्पनीय दुर्घटना हुन सक्छन्। यसैले निर्वाचनको रापताप बढेको बेला नागरिक शिक्षामा दलहरू र सिंगो देशले ध्यान दिन जरूरी छ। 

समाज र राजनीतिक पुनर्गठनको अवसर

समाज र राजनीतिले आफ्नो अनुहार जेनजी आन्दोलनको ऐनामा हेर्ने मौका पाएका छन्। यो आन्दोलनले दल र नेताहरूको भूमिकामा गम्भीर प्रश्न उठाएपछि दलहरूले सुधारको थालनी गरेका छन्। तर, सुधार जनअपेक्षित भने छैन। महाधिवेशनको अवधि एक वर्ष हुँदाहुँदै पनि एमालेले महाधिवेशन गरेर पदाधिकारीदेखि कार्यसमितिमा ठूलो संख्यामा नयाँ र युवाहरूलाई प्रवेश गराएको छ। कांग्रेसले विशेष महाधिवेशन गरेर पुरानो पुस्तालाई विस्थापित गरी नयाँहरूलाई समावेश गरेको छ। माओवादीले भने एकताका नाममा आफूलाई रूपान्तरण गर्ने विषयलाई टारेको देखिन्छ। नयाँ पार्टीहरूले पनि अधिवेशन गरेर आफूलाई व्यवस्थित गर्ने काममा ध्यान दिएको देखिंदैन। नयाँले जे गरे पनि हुने जस्तो भाष्य बनाइएको छ।

पछिल्लो राजनीतिलाई विश्लेषण गर्दा कतिपय दलहरूका नेताहरूमा अति नेतृत्व मोह, कतिपय दोस्रो तहका नेतृत्वमा नेतृत्वको अति महत्वाकांक्षा र कतिपयमा कुनै पहलकदमी नै नलिने खालको प्रवृत्ति देखिएका छन्।

राजनीतिमा भएका समस्याको जरो पत्ता लगाएर समाधान गर्ने दिशामा पार्टीहरू लागेको देखिंदैन। नेतृत्व परिवर्तनले मात्र समस्या समाधान हुने जस्तो गरी बहस अगाडि बढेको छ।

विगतमा राजनीतिमा लाग्न हुँदैन भन्ने, राजनीतिलाई फोहोरी गेम भन्ने युवाहरूलाई देश, समाज, नागरिक दायित्व आदिबारे समयमा बुझाउन सकिएन भने भविष्यमा पनि यस्ता अकल्पनीय दुर्घटना हुन सक्छन्। यसैले निर्वाचनको रापताप बढेको बेला नागरिक शिक्षामा दलहरू र सिंगो देशले ध्यान दिन जरूरी छ।

तर, समग्र राजनीतिको रूपान्तरण भएन भने न दलहरूमा नयाँ ऊर्जा आउँछ न देश विकासमा थप काम हुन्छ। यसको सुरुवात भने समाज रूपान्तरण र पुनर्गठनबाट मात्र हुन सक्छ। समाज गलत तर राजनीति र नेता राम्रो हुने अपेक्षा गरियो भने त्यो सम्भव हुँदैन।

कुनै भूगोल, जात, उमेर वा लिंगको एउटा नेताले नेतृत्व छोडेर, उस्तै प्रवृति, मानसिकता, सोचविचार भएको व्यक्तिलाई नेतृत्वमा स्थापित गर्दैमा राजनीतिमा देखिएका समस्या समाधान होलान् ? जेनजीले चाहे जस्तै रूपान्तरण सम्भव होला ? नेपाली राजनीतिको लामो अभ्यास हेर्दा यो सम्भव देखिंदैन। यसले सामान्य सुधार भए पनि न त्यो दिगो हुन सक्छ न परिणाम नै दिन सक्छ।

यसैले समग्र राजनीतिमा रूपान्तरण र शुद्धीकरण आवश्यक छ। यसका लागि नेताहरूले आफ्नो आफ्नो पार्टीको नीतिमा, विचारमा, संरचनामा गम्भीर समीक्षा सहित समग्र रूपान्तरणको खाका कोर्नुपर्दछ। यसमा नीति वा विचार र कार्यशैलीमा भएको कमी–कमजोरीको समीक्षा, संरचनात्मक सुधार, नेतृत्व हस्तान्तरण गर्ने समयावधि समावेश हुनुपर्दछ।

स्मरण रहोस्, राजनीति र राजनीतिक दलहरूलाई प्रदूषित बनाउने सबै समस्याको निर्मम समीक्षा गरेर त्यसको दिगो समाधान निकाल्ने प्रतिबद्धता सहितको श्वेतपत्र जारी हुनु अनिवार्य छ। 

चुनावी रापताप र पपुलिजमको हावा

अनेकौं चुनौती र आशंका चिर्दै देश अहिले निर्वाचनको दिशामा अगाडि बढेको छ। यो पटकको निर्वाचन मुद्दा भन्दा बढी पपुलिस्ट व्यक्ति केन्द्रित बनेको छ। देश विकासको भिजन भन्दा पनि व्यक्तिको लोकप्रियतालाई भजाएर चुनाव जित्ने र सत्तामा पुग्ने प्रवृत्ति हावी हुन खोजेको देखिन्छ।

यो पटक आश्चर्यजनक रूपमा पार्टी दर्ता गर्ने लहर नै चल्यो। कुनै सामाजिक संस्था स्थापना गरे जस्तै, कुनै व्यापारिक कम्पनी खोले जस्तै राजनीतिक पार्टीहरू खोलिएका छन्। नयाँ र पुराना पार्टीहरूमा विभिन्न क्षेत्रमा काम गरेका तर राजनीतिक अनुभव नभएका व्यक्तिहरूको प्रवेश र निर्वाचनमा समानुपातिक उम्मेदवार बनेको विषय पनि चर्चामा रहेको छ। यसरी पार्टी प्रवेश गर्ने र समानुपातिक उम्मेदवार बन्ने क्रम बढी नयाँ पार्टीमा भएको र सेलिब्रिटीहरू रहेको देखिन्छ। यसले राजनीतिमा दीर्घकालीन असर पर्ने देखिन्छ।

अहिले नेपालको राजनीतिमा पपुलिजम हावी भएको छ। नयाँ दल र नेताहरू पपुलिस्ट नारा लगाएर उदाएका छन्। अघिल्लो चुनावबाट नै यो संकेत आएको थियो। पपुलिजमले सामाजिक अराजकता निम्त्याउने आकलन पहिलेदेखि नै गरिएको थियो।

अहिले जेनजी आन्दोलनमा देखिएको विध्वंसले देश अराजकतामा प्रवेश गरेको र कानूनी शासन कमजोर भएको स्पष्ट देखिन्छ। सामाजिक सञ्जाल र अल्गोरिदमबाट प्रभावित समाज र पपुलिस्ट राजनीतिले देशलाई दीर्घकालीन रूपमा पुर्‍याउने क्षतिबारे सचेत हुनुपर्ने देखिन्छ।

अहिलेको चुनावी दौड हेर्दा देश बनाउने खाका प्रस्तुत गर्ने भन्दा पनि भीड जम्मा गर्ने, पपुलर उम्मेदवारलाई देखाउने र सामाजिक सञ्जालमा मिस डिसइन्फर्मेसनको बाढी ल्याउने, गालीगलौज र घृणास्पद अभिव्यक्ति दिने, पुराना पार्टी र दललाई होचो देखाएर आफू अग्लो देखिने होडबाजी देखिएको छ। जब राजनीतिमा विचार, सिद्धान्त, मूल्यमान्यताको ठाउँ पपुलिस्ट एजेण्डाले लिन्छ, तब देशको भविष्य अन्योलग्रस्त हुन्छ। अहिलेको देशको अवस्था र चुनावी माहोलले यही संकेत गर्छ।

यस्तो गम्भीर परिवेशमा हुने चुनावले सबै समस्याको निकास दिन नसके पनि संकट समाधानको प्रस्थानविन्दु हुनसक्ने देखिन्छ।

यसका लागि माथि चर्चा गरिएको प्रश्नहरूको जवाफ खोजिनुपर्छ। साथै जिम्मेवार र सचेत नागरिकले देशलाई संविधान, कानून, विधिको शासनमा फर्काउन तथा लोकतन्त्र र संविधानलाई जोगाउन, एजेण्डाविहीन पपुलिस्ट राजनीतिलाई रोकेर विचार, सिद्धान्त र मूल्य र मान्यताको राजनीतिमा पुन: देशलाई फर्काउन विशेष भूमिका खेल्नुपर्नेछ।

देशको राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र विधिको शासनमाथि आएको यो संकटबाट देशलाई जोगाउन संविधान, लोकतन्त्र पक्षधर र प्रगतिशील र वामपन्थी शक्तिहरू बढी जिम्मेवार बन्न जरूरी छ। जेनजी आन्दोलनका मुद्दालाई संस्थागत गर्न र संकटबाट देशलाई निकास दिन पनि जेनजीहरू सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने देखिन्छ। यस पटकको निर्वाचनमा देशलाई साँच्चिकै माया गर्ने नेपालीहरूले विवेकको मत प्रयोग गर्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?