१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन् ।
बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन् ।
प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको तामाङले अनलाइनखबरलाई बताए ।
‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ । कहीँ पनि अलाएन्स हुँदैन पनि,’ प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’
साथै, प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।
‘देशभर कार्यक्रम गर्नुपर्यो । एउटा सभा पूर्वमा राख्नुपर्यो भनेर मैले भनेको छु । विशेषगरी झापामै एउटा सभा राख्नुपर्यो भनेर भनेँ,’ तामाङले थप भने, ‘मैले यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ ।’
प्रचण्डले हिजो (बुधबार) काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’
यही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको टिप्पणी भएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् ।
प्रतिक्रिया 4