News Summary
Generated by OK AI. Editorially reviewed.- महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट ६ महिनाको पुनर्निर्माणपछि बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ।
- सुपरमार्केट अध्यक्ष मीनबहादुर गुरुङले ६ सयभन्दा बढी कर्मचारीको रोजगारी सुनिश्चित भएको बताए।
- भाटभटेनीले आगामी दसैं अगाडि सबै १२ क्षतिग्रस्त शाखा पुन: सञ्चालन गर्ने लक्ष्य राखेको छ।
१४ फागुन, काठमाडौं । जेनजी आन्दोलन क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट करिब ६ महिना पुनर्निर्माणपछि आज बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ ।
सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको उपस्थितिमा विशेष पूजाआजा गरी स्टोर सर्वसाधारणका लागि खुला गरिएको हो ।
सुपरमार्केट अध्यक्ष गुरुङले शाखा उद्घाटन गर्दै यो पुनर्निर्माण केवल व्यापारिक स्वार्थका लागि नभई देशको अर्थतन्त्र र सयौँ कर्मचारीको भविष्यप्रतिको जिम्मेवारीका लागि भएको बताए ।

‘नेपालीले पनि गरेर देखाउँछ है भन्ने एउटा नमुना हामीले देखाउनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘यो हाम्रो निजी स्वार्थका लागि होइन, देशका लागि हो ।’
उनले रिटेल व्यवसायलाई देशको आर्थिक सूचकका रूपमा उल्लेख गर्दै अर्थतन्त्रलाई बिगार्न नहुने भन्ने भावनाले आफूलाई थप ऊर्जा मिलेको बताए ।

६ सय कर्मचारीको रोजगारी सुनिश्चित
अध्यक्ष गुरुङका अनुसार महाराजगञ्ज शाखा पुनर्निर्माण र व्यवस्थापनमा जग्गाको मूल्यबाहेक २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यस शाखामा मात्रै ६ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।
‘उहाँहरू (कर्मचारी) लाई घर जानूभन्दा उहाँहरूको मन कति अमिलो हुन्थ्यो, उहाँहरूलाई खुसी राख्न र जगाउनका लागि पनि यो छिटो निर्माण गर्नु आवश्यक थियो,’ आगलागीपछि उनीहरूको रोजगारी गुम्न नदिनु आफ्नो प्रमुख दायित्व भएको गुरुङले अनलाइनखबरसँग भने ।

दसैंअघि सबै १२ वटै क्षतिग्रस्त शाखा खोल्ने लक्ष्य
भाटभटेनीले आगलागीबाट क्षति पुगेका अन्य शाखा पनि क्रमश: सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसअघि बालुवाटार र कोटेश्वर शाखा सञ्चालनमा आइसकेका छन् । अबको करिब डेढ महिनाभित्र बौद्ध शाखा सञ्चालनमा ल्याइने छ, जहाँ १० दिनसम्म आगो लागेर ठूलो क्षति भएको थियो ।
त्यसपछि पोखरा, चितवन लगायत शाखा पनि क्रमश: सञ्चालनमा ल्याइने छ । अध्यक्ष गुरुङले आगामी दसैं अगाडि नै आगलागीबाट पूर्ण क्षति भएका सबै १२ वटै भाटभटेनीका शाखा पुन: सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

गत २४ भदौमा भएको जेनजी प्रदर्शन क्रममा भाटभटेनीका देशभरिका २८ मध्ये २१ वटा शाखामा क्षति पुगेको थियो । तीमध्ये महाराजगञ्जसहित १२ वटा स्टोर भवनमा लुटपाटपछि आगजनी गरिएको थियो भने ९ वटामा तोडफोड र लुटपाट भएको थियो । उक्त घटनामा कम्पनीले अर्बौंको क्षति बेहोरेको थियो ।
‘आफ्नै घर फर्किए जस्तो लाग्यो’ भन्दै ग्राहक र कर्मचारी हर्षित
लामो प्रतीक्षापछि आफ्नो नियमित किनमेल गन्तव्य खुल्दा ग्राहक उत्साहित देखिएका छन् भने कर्मचारीले ‘आफ्नै घर फर्किएको’ जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।
पुनर्निर्माणपछि खुलेको सुपरमार्केटको पहिलो दिनमै किनमेल गर्न आइपुगेका ग्राहक र सामान मिलाउन व्यस्त कर्मचारीको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो ।
‘यो विश्वकै लागि प्रेरणा हो’
आगलागीपछि ६ महिनासम्म बन्द रहेको शाखा खुल्ने खबरले उत्साहित हुँदै बिहान १० बजे नै किनमेल गर्न आइपुगेको बताउने उद्धव बर्तौलाले भाटभटेनीको यो पुनरागमनलाई विश्वकै लागि प्रेरणाको स्रोतको रूपमा व्याख्या गरे ।

‘खरानीबाट उठेर यति छिटो सञ्चालनमा आउनु सामान्य कुरा होइन, यो नेपालका लागिमात्र नभई सारा विश्वका लागि एउटा प्रेरणा हो,’ उनले भने, ‘उहाँहरूले आफ्नो व्यापारभन्दा पनि आम उपभोक्तालाई कसरी सेवा दिने भन्नेमा चिन्ता गर्नुभयो, जुन प्रशंसनीय छ ।’
बर्तौलाका अनुसार बार्गेनिङ गर्नु नपर्ने, एकै ठाउँमा सबै सामान पाइने र लामो समयसम्म खुल्ने भएकाले भाटभटेनी सबैको प्रिय बनेको हो ।
त्यस्तै अर्का नियमित ग्राहक दीपिका प्रधानले पनि सुपरमार्केट बन्द हुँदा निकै असहज भएको बताइन् । ‘हामीले यो ठाउँलाई धेरै मिस गर्यौं, आगलागी हुँदा यहाँका कर्मचारीलाई के भयो होला भनेर चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘आज फेरि सबैलाई यहीँ देख्दा र पसल खुलेको देख्दा धेरै खुसी लागेको छ ।’
‘हाम्रो त परिवार नै छरपस्ट भएको थियो’
ग्राहकको खुसी एकातिर छ भने कर्मचारीका लागि यो पुनरागमन एउटा भावनात्मक क्षण बनेको छ । आगलागीको त्यो दिन सम्झिँदै १२ वर्षदेखि कार्यरत कर्मचारी बिनु श्रेष्ठले भनिन्, ‘आगलागी हुँदा हामी टुक्रा–टुक्रा भयौं जस्तो लागेको थियो, अब कहाँ जाने, के गर्ने भन्ने भयो ।’

उनले त्यो कठिन घडीमा व्यवस्थापनले देखाएको अभिभावकत्व कहिल्यै भुल्न नसक्ने बताइन् । ‘तर, हाम्रो सर (मीनबहादुर गुरुङ) ले कसैलाई पनि कामबाट निकाल्नुभएन,’ उनले भनिन्, ‘सबैलाई अन्य शाखामा व्यवस्थापन गर्नुभयो, आज आफ्नै घरमा फर्किन पाउँदा ज्यादै खुसी छौं ।’
अर्का वरिष्ठ कर्मचारी सुनिता घिसिङले पनि आफ्नो परिवार छरपस्ट भएको अनुभूतिबाट गुज्रिएको बताइन् । ‘१३ वर्षदेखि यहीँ काम गरियो, यो हाम्रो लागि घर जस्तै हो, आगलागीपछि अब हाम्रो भविष्य के होला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘तर, व्यवस्थापनले हामीलाई रोजगारीको सुनिश्चितता दियो, आज यहाँ फर्किंदा आफ्नो परिवारमा पुनर्मिलन भएजस्तो लागेको छ ।’
अध्यक्ष गुरुङ आफ्नो अभिभावक भएको र जतिसुकै दु:ख परे पनि उनको जस्तो धैर्यता र सहनशीलता सबैले सिक्नुपर्ने उनको भनाइ छ ।

भाटभटेनीमा १४ वर्ष बिताएकी अर्का कर्मचारी राधा नेपालले छोटो प्रतिक्रिया दिँदै भनिन्, ‘अहिले त एकदम खुसी लागिरहेको छ, किनभने हामी सबैजना मिलेर बनाएको हो नि त !’
लामो समयदेखिका ग्राहक अरुण खण्डेलवालले यसलाई देशकै लागि सकारात्मक सन्देशका रूपमा लिए ।
‘भाटभटेनी फेरि उठ्दै छ, फेरि खुल्दै छ,’ उनले भने, ‘यो हाम्रा लागि, देशवासीका लागि धेरै राम्रो कुरो हो, हामी झन् ताकत बनेर उठ्दै छौं ।’ उनले आफू २५ वर्षदेखि भाटभटेनीको नियमित ग्राहक भएको बताए ।
आगलागीको घटनाले ग्राहक र कर्मचारी दुवैलाई निराश बनाए पनि भाटभटेनीको तीव्र पुनर्निर्माण र व्यवस्थापनको कर्मचारीप्रतिको जिम्मेवारीले सबैमा नयाँ उत्साह थपेको छ । यो पुनरागमनले भाटभटेनी एक व्यापारिक केन्द्रमात्र नभई स्थानीय समुदायको एउटा अभिन्न अंग बनिसकेको प्रष्ट पारेको छ ।






तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4