+
+
Shares

१४ फागुनदेखि भाटभटेनी महाराजगञ्ज पुन: सञ्चालन हुने, अध्यक्ष गुरुङ भन्छन्- मलाई हार्ने छुट छैन

करिब-करिब निर्माण सम्पन्न हुन लागेको भवनमा आइतबार विधिपूर्वक वास्तुशान्ति तथा रुद्री पूजा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौ २४ मा आगलागीबाट पूर्ण क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन अत्याधुनिक प्रविधि सहित पुनर्निर्माण भई १४ फागुनदेखि सञ्चालनमा आउने भएको छ।
  • भवनमा आइतबार विधिपूर्वक वास्तुशान्ति तथा रुद्री पूजा गरिएको र करिब २ हजार ५ सय निर्माणकर्मीलाई सम्मान गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए।
  • भाटभटेनी अध्यक्ष मिनबहादुर गुरुङले पुनर्निर्मित भवनमा सुरक्षा मापदण्डमा कुनै सम्झौता नगरिएको र अत्याधुनिक प्रविधि प्रयोग गरेर भवनलाई अझ बलियो र सुरक्षित बनाइएको उल्लेख गरे।

१० फागुन, काठमाडौं । गत भदौ २४ मा भएको जेनजी प्रदर्शनी क्रममा आगलागीबाट पूर्ण क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन अत्याधुनिक प्रविधि सहित पुनर्निर्माण भई १४ गतेदेखि औपचारिक सञ्चालनमा आउने भएको छ ।

करिब-करिब निर्माण सम्पन्न हुन लागेको भवनमा आइतबार विधिपूर्वक वास्तुशान्ति तथा रुद्री पूजा गरिएको छ ।

भवन सञ्चालनमा ल्याउनुअघि घरमा गरिने पूजा जस्तै गरी भवन पवित्र बनाउन लाख बत्ती बालेर वास्तुशान्ति गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

default

उनका अनुसार आज विशेष धार्मिक र भावनात्मक दिनका रूपमा मनाउँदै परियोजनामा खटिएका करिब २ हजार देखि २ हजार ५ सय निर्माणकर्मी (कन्स्ट्रक्सन टिम) लाई सम्मान गरिएको छ ।

भवनको पूजा कार्यक्रममा भाटभटेनी अध्यक्ष मिनबहादुर गुरुङले खरानीको थुप्रोबाट उठेर पुन: सेवा दिन पाउनुलाई ‘गहिरो पीडाबाट निको भएर दुई पाइला अघि बढेको’ महसुस गरेको बताए ।

‘त्यो २४ को घटना म सम्झिन पनि चाहन्नँ, एउटा दुर्लभ र कल्पनाभन्दा बाहिरको घटना थियो,’ उनले भने, ‘जसरी सन् १९४५ मा जापानको नागासाकी वा १९४४ मा म्युनिखमा युद्धले विनाश निम्त्याएको थियो, यो घटना पनि एउटा युद्धको मैदान जस्तै थियो, तर त्यो खरानीबाट हामी उठ्यौं ।’

६० वर्ष नाघिसकेका गुरुङले आगलागीले आफ्नो वर्षौंको मिहिनेत खरानी बनाए पनि आफूभित्र २५-२६ वर्षको युवाको जस्तो जोस र क्रोध (सकारात्मक अर्थमा) पैदा भएको बताए ।

‘मलाई हार्ने छुट छैन, म भागेर कहाँ जाने ? यही देश र माटोमा बस्नु छ,’ उनले थपे ।

पुनर्निर्मित भवनको सुरक्षाबारे बोल्दै अध्यक्ष गुरुङले सुरक्षा मापदण्डमा कुनै सम्झौता नगरिएको बताए । ‘यो भवन पहिले पनि जापानी स्ट्रक्चरल डिजाइनमा बनेको थियो, जुन भूकम्प प्रतिरोधी थियो,’ उनले भने, ‘अहिले पुनर्निर्माण गर्दा हामीले रेट्रोफिटिङ, ज्याकेटिङ र कार्बन फाइबर जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरेर यसलाई अझ बलियो र सुरक्षित बनाएका छौं ।’

उनले यो भवन केवल व्यापारिक केन्द्रमात्र नभई हजारौं मानिसको आवतजावत हुने थलो भएकाले ‘पूर्ण सुरक्षा’ प्रत्याभूत गरिएको बताए ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?