१५ फागुन, काठमाडौं । बेलायतको नर्थ इस्ट लिङ्कनशायरस्थित ग्रिम्सबी मिन्स्टर चर्चमा आगामी अप्रिल ९ देखि चार हप्ताका लागि सूर्यको विशाल स्वरूप झल्काउने एउटा विशेष कलाकृति प्रदर्शन गरिने भएको छ ।
कलाकार ल्यूक जेरामले निर्माण गर्नुभएको यस कलाकृतिको नाम प्राचीन ग्रीक पौराणिक कथाका सूर्य देवताको नामबाट ‘हेलियोस’ राखिएको छ ।
यो कलाकृति नासाबाट प्राप्त तथ्याङ्क र सूर्यको सतहका ४ लाख भन्दा बढी उच्च–रिजोलुसनका तस्वीरहरू प्रयोग गरेर तयार पारिएको हो ।
यस ५ मिटर व्यास भएको र करिब ५० केजी तौलको कलाकृतिलाई भित्रबाट उज्यालो पारिएको छ, जसले गर्दा सूर्यको सतहको वास्तविक स्वरूप देख्न सकिन्छ ।
ग्रिम्सबीको कला परोपकारी संस्था ‘द कल्चर हाउस’ ले यस क्षेत्रमा पहिलो पटक यति प्रभावशाली प्रदर्शनी आयोजना गर्न पाउनु उत्साहजनक रहेको बताएको छ ।
प्रदर्शनीको क्रममा डन्कन स्पिकम्यान र सारा एन्डरसनले तयार पारेको विशेष ’सराउन्ड साउन्ड’ पनि बजाइनेछ ।
कलाकार जेरामका यसअघिका पृथ्वी र चन्द्रमाका कलाकृतिहरू पनि विश्वभर प्रसिद्ध भएका थिए र सन् २०२२ मा उनको पृथ्वीको कलाकृति ग्रिम्सबी मिन्स्टरमै प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4