- संविधान पनि कुन दिन फालिन्छ, ठेगान छैन
- अनुहारले लहर ल्याउला, तर परिवर्तनका लागि त स्पष्ट विचार र क्रान्तिकारी कार्यदिशा नै चाहिन्छ
- जनताले विचारसहितको विकल्प खोजेका हुन्
नेपालको सत्ता र संसदीय राजनीतिका खेलाडी मध्येका एक व्यक्ति हुन्- राजेन्द्र महतो । मधेशका मुद्दाहरू भन्दै लामो समय क्षेत्रीय राजनीतिमा रहेका उनी अहिले देशभरका पहिचान पक्षधर शक्तिहरू मिल्नुपर्छ भन्दै राष्ट्रिय मुक्ति पार्टी गठन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सर्लाही–२ बाट ‘जाँतो’ चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका महतोसँग सर्लाहीको ईश्वरपुरमा अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको कतिऔं चुनावी प्रतिस्पर्धा हो? एउटै व्यक्तिले पटक–पटक चुनाव लड्नुपर्ने आवश्यकता किन पर्दो रहेछ ?
जबदेखि बहुदलीय व्यवस्था र लोकतन्त्र आयो, म निरन्तर चुनाव लडिरहेको छु। जनप्रतिनिधि हुनका लागि चुनाव त लड्नै पर्यो। जनताको आवाज सदनसम्म पुर्याउन, उनीहरूको सेवा गर्न र विकासका गतिविधि अगाडि बढाउन निर्वाचित हुनु अनिवार्य छ। त्यही प्रयोजनका लागि म जनताको प्रतिनिधि बन्न फेरि पनि चुनावी मैदानमा आएको हुँ।
२०७९ को चुनाव हारेपछि तपाईंले ‘अधुरा क्रान्ति‘ नामक पुस्तक पनि लेख्नुभयो। हरेक चुनावमा कि क्षेत्र परिवर्तन गर्नुहुन्छ, कि दल। तपाईंको यो ‘अधुरो क्रान्ति‘ चाहिं कहिले पूरा हुन्छ?
लक्ष्य प्राप्त नभएसम्म त क्रान्ति अधुरै रहने भयो नि! मेरो ३५ वर्षको अधिकार र पहिचानको राजनीतिमा मैले धेरै आरोह-अवरोह पार गरेको छु। एकता र विभाजनका कारण दलका नामहरू परिवर्तन भएका हुन्। शक्ति निर्माणका लागि एकता गर्दा पुराना नाम छोड्नुपर्यो, फेरि विभाजन हुँदा नयाँ नाम राख्नुपर्यो। यो त राजनीतिक प्रक्रिया नै भयो।
तर, यसले त अस्थिरता देखिंदैन र?
मेरो ३५ वर्षको अनुभवले के भन्छ भने—यो अवधिमा धेरै नक्कली नेताहरू आए, जो व्यक्तिगत स्वार्थका लागि मात्र राजनीतिमा छिरे। कांग्रेस र कम्युनिष्ट जस्ता पार्टीहरू त शासक वर्गीय पार्टी मात्र हुन्; उनीहरू शासन मात्र गर्न चाहन्छन्, उत्पीडितलाई न्याय दिन चाहँदैनन्। त्यसैले, वास्तविक अधिकार र पहिचानका लागि मेरो संघर्ष जारी छ र यो लक्ष्य नपुगेसम्म जारी रहन्छ।
विगत ३५ वर्षदेखि देशमा शासन गर्ने त कांग्रेस र कम्युनिष्ट नै हुन् भन्नुभयो, तर त्यो सत्ता र शासनमा त तपाईंहरू पनि कुनै न कुनै रूपमा साझेदार हुनुहुन्थ्यो नि ? यसरी आफूलाई पूर्णतः अलग राखेर ढाकछोप गर्न मिल्छ र?
यो चिन्तन र सोचले काम चल्दैन। शासनको मुख्य साँचो कि कांग्रेससँग रह्यो, कि एमाले वा माओवादीसँग। हामी त सत्ताका ‘साक्षी किनारा’ मात्रै थियौँ। तपाईं जस्ता पत्रकारले यसरी बोल्दिँदा जनतामा भ्रम पर्न सक्छ।
भ्रम कसरी भयो र? सरकारमा त तपाईंहरू पनि सहभागी हुनुभयो नि, सहयोगी त बन्नुभएकै हो नि ?
सहयोगी किन भइयो भने, हाम्रो एजेन्डा स्थापित गर्न हामीसँग एक्लै बहुमत थिएन। बहुमत नभएपछि ठूला दलको सहयोग लिनै पर्यो। उनीहरूलाई सहयोग नगरेसम्म हाम्रा मुद्दा सम्बोधन हुँदैनथे। तर, पटक-पटक धोका खाइयो। विभिन्न आन्दोलन र सरकारमा सहभागी हुँदा गरिएका सम्झौताहरू ती ‘शासक वर्गीय पार्टी’ ले कहिल्यै कार्यान्वयन गरिदिएनन्।
त्यसो भए ३५ वर्षको यो राजनीतिक यात्रालाई कसरी विश्लेषण गर्नुहुन्छ त?
मेरो अनुभवमा यो ३५ वर्ष ‘धोखाधडीको राजनीति’ मात्र भयो। मधेसलाई केवल ‘भोट बैंक’ को रूपमा प्रयोग गरियो। कांग्रेस-कम्युनिष्टहरू ‘हामी ठूलो पार्टी हौं, हामीलाई मत देऊ’ भन्छन्, मधेसका सोझा जनताले भरोसा गरेर ९० प्रतिशत मत उनीहरूलाई नै दिए। ३५ वर्षसम्म प्रधानमन्त्री उनीहरूकै भए, नीति निर्माण उनीहरूले नै गरे।
तर नीति निर्माणको तहमा त तपाईं पनि पुग्नुभएको हो नि?
यो कुराले मलाई अचम्म लाग्छ। यो ढाकछोप गर्ने विषय नै होइन। समस्या के हो भने, नेपाल सबै नेपालीको हो, यो एक ‘बहुराष्ट्रिय राज्य’ हो। नेपाल निर्माण हुँदा नै ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ भनिएको होइन? तर विडम्बना, यहाँको संविधान र शासन एउटै जात र वर्गको पकडमा राखियो। मेरो लडाइँ नै यही हो— यो बहुराष्ट्रिय राज्यमा सबैका लागि शासन र सबैका लागि संविधान हुनुपर्छ।
३५ वर्षको राजनीतिमा यहाँसम्म आइपुग्दा म विभिन्न एकता र विभाजनको शिकार भएँ । आज ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान अन्तर्गत ‘राष्ट्रिय मुक्ति पार्टी’ निर्माण गर्नुको पछाडि पनि ठोस कारण छ। मेरो अनुभवले के भन्छ भने—एक्ला-एक्लै लडेर कसैले केही गर्न सक्दैन।
त्यसो भए यो नयाँ पार्टी र अभियानको मुख्य उद्देश्य चाहिं के हो त ?
यो देशमा जो-जो उत्पीडनमा परेका छन्—चाहे ती मधेसी हुन्, आदिवासी जनजाति, थारु, दलित वा मुस्लिम—सबैको अपनत्व हुने नेपाल बनाउनु पर्छ। नेपाल एकल जातीय राज्य होइन, त्यसैले शासन पनि एकल जातीय हुनु हुँदैन।
तपाईं देशको डेमोग्राफी हेर्नुस् अनि शासन संरचना हेर्नुस्; कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सरकारका सबै अंग एकल जातीय संरचनाले भरिभराउ छन्। नेपालको चरित्र र यसको निर्माणको आधार यो होइन। यस्तो अवस्थामा शासन चलाउनै मिल्दैन।
तपाईंले यसअघि पनि धेरै पटक पार्टीका नाम परिवर्तन गर्नुभयो। अहिले फेरि ‘राष्ट्रिय मुक्ति पार्टी’ बाट ‘जाँतो’ चुनाव चिन्ह लिएर मैदानमा हुनुहुन्छ। यसरी बारम्बार नाम फेर्दा जनता अलमलमा पर्दैनन्?
नाम परिवर्तन भए पनि म एजेन्डाकै लागि हिँडिरहेको छु। यो ‘जाँतो’ चुनाव चिन्ह हाम्रो तीनवटा पार्टीको साझा चिन्ह हो। यो एकताको प्रतीक हो।
एजेन्डाको कुरा त गर्नुभयो, तर तपाईं पटक–पटक सांसद बन्ने र हरेक सत्ता गठबन्धनमा मन्त्री बन्न जाने स्वभावले गर्दा धेरैले तपाईंलाई ‘अस्थिर’ र ‘सत्तामुखी’ नेता पनि भन्छन् नि ?

लोकतन्त्र हो, कसैले केही भन्नलाई त छुट छ। तर मेरो ३५ वर्षको राजनीतिमा मैले सडक, सदन र सरकार—यी तीनवटै प्लेटफर्मलाई संघर्षको माध्यम बनाएको छु। म सडकमा लड्दा टाउको फुटाएको व्यक्ति हुँ।
विराटनगर नाकामा नाकाबन्दी गर्दा मलाई त मारेरै फालेका थिए। म सडक संघर्षबाट कहिल्यै पछि हटेको छैन। तर सडकले मात्र पुग्दैन, सदनको रोष्टमबाट पनि बोल्नुपर्छ। यदि कसैले देश बेच्न लाग्यो भने त्यसको विरुद्ध सदनबाटै आवाज उठाउनुपर्ने हुन्छ।
सदनको रोष्टममा गएर आफ्नो पीडा, विचार र यो लुटतन्त्रविरुद्ध बोल्नुपर्छ । यी नक्कली राष्ट्रवाद फैलाउने ‘देशबेचुवा’ हरूलाई त टुँडिखेलमा झुन्ड्याउनुपर्छ भनेर मैले सदनमै भनेको हुँ। यस्ता कुरा लुकाउनु हुँदैन, त्यसैका लागि पटक-पटक सदनमा पुग्नुपर्छ । र, सरकारको प्लेटफर्ममा गएर पनि आफ्ना मुद्दा राख्न सक्नुपर्छ। म एक मिनेटमै भन्छु— पछिल्लो पटक म छोटो अवधिको लागि उपप्रधानमन्त्री भएँ। पदभार ग्रहण गर्नेबित्तिकै मलाई सोधियो, अब के गर्नुहुन्छ ?
अनि तपाईंले के जवाफ दिनुभयो त?
मैले प्रष्ट भनेँ— यो नेपाल एकल राष्ट्रिय राज्य होइन, यो ‘बहुल राष्ट्रिय राज्य’ हो। यसका लागि अब ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को तयारी गर्छु। यति भन्नासाथ मेरो पुतला जलाइयो, मलाई गाली गरियो।
तर त्यो बेला चर्को विरोध भएपछि तपाईंले वक्तव्य निकालेर आफ्नै भनाइको खण्डन पनि त गर्नुभएको थियो नि? धेरैले त मन्त्री पद जोगाउनका लागि खण्डन गर्नुभयो पनि भने नि होइन ?
त्यो त ‘नश्लवादी चिन्तन’ बोक्नेहरूले गर्ने टिप्पणी हो। मैले अन्तर्वार्तामा यो देश बहुराष्ट्रिय राज्य हो भन्दा उनीहरूले यसलाई विखण्डनकारी र देश विभाजनको कुरा भनेर व्याख्या गरे। मैले तिनलाई भनें— तिमीहरूले २०७२ मा मधेसी र जनजातिमाथि गोली ठोकी-ठोकी बनाएको ‘रक्त-संविधान’ को धारा ३ मै विविधता र बहुलताको कुरा लेखेका छैनौं ? मैले त त्यही संविधानको मर्म बोलेको हुँ। मेरो ‘स्ट्यान्ड’ त्यही थियो।
तर संविधानको शपथ खाएर मन्त्री भइसकेपछि त त्यसको अक्षरशः पालना गर्नुपर्ने होला नि?
कस्तो कुरा गर्नुभएको तपाईं? संविधान मानेर क्रान्ति हुन्छ? संविधान त परिवर्तनका लागि पो क्रान्ति गरिन्छ त! पञ्चायत कालमा सबै ‘पञ्च’ नै थिए, यदि संविधान मात्रै मानेर बसेको भए बहुदल कसरी आउँथ्यो? संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र मात्रै मानेर हिँडेको भए गणतन्त्र कसरी आउँथ्यो?
तैपनि, संविधान त मूल कानुन हो नि ?
संविधानमा भएका गलत कुरा परिवर्तन गर्नकै लागि लड्ने हो। नेपालमा ७० वर्षमा सातवटा संविधान फेरिनुको कारण नै यही मानसिकता हो। दुनियाँमा कतै नभएको जात्रा नेपालमा छ। जनताको माग अनुसार संविधान संशोधन र परिमार्जन भएन भने त्यो संविधान फालिन्छ। त्यसैले संविधानको दास बनेर होइन, यसलाई जनताको अनुकूल बनाउन संघर्ष गर्नुपर्छ।
छिमेकी भारतमा ७० वर्षमा एउटै संविधान बन्यो र सयौं पटक संशोधन भएर काम चलिरहेको छ। अमेरिकामा अढाई सय वर्षदेखि एउटै संविधान छ। तर नेपालमा चाहिं किन बारम्बार संविधान फेरिन्छ ? किनभने यहाँ संविधानलाई ‘बाइबल’ वा ‘गीता’ जस्तो अपरिवर्तनीय ठानिन्छ । ७२ को संविधान पनि कुन दिन फालिन्छ, ठेगान छैन । संविधान परिवर्तनशील वस्तु हो, यसका कमजोरीको व्यापक विरोध र सुधार हुनुपर्छ। मुख्य कुरा त मान्छेको मानसिकतामा परिवर्तन आउनुपर्छ।
अहिले चुनावी अभियानका क्रममा हामी मधेसका विभिन्न ठाउँ घुमिरहेका छौँ। विगतका चुनावमा मधेसका मुद्दाहरूमा निकै बहस हुन्थ्यो। तर यसपालि मधेसका ती एजेन्डाहरू ओझेलमा परेका हुन् कि जस्तो देखिन्छ नि? कतै तपाईंहरूले उठाउने मुद्दा कमजोर त भएका होइनन्?
मुद्दा उठाउने आवाज केही समयका लागि मत्थर भएको हुन सक्छ, तर मुद्दा कहिल्यै कमजोर हुँदैन। विगतका आन्दोलन र तिनको परिणामबाट हामीले के पाठ सिक्यौँ भने—पुरानै ढर्राबाट समस्या समाधान हुँदैन। आजभन्दा १० वर्षअघि सम्पूर्ण मधेस एक भएर लडेकै हो। तर के भयो? कांग्रेस, एमाले र माओवादी नाम फरक भए पनि मधेस र उत्पीडितका सवालमा उनीहरू एकै ठाउँमा उभिए । ७२ को संविधान जारी गर्दा उनीहरूले ‘फास्ट ट्रयाक’ बाट गोली ठोकेरै संविधान ल्याए।
हो, मधेस एक ढिक्का भएर आन्दोलनमा थियो। तर कमजोरी कहाँ भयो भने— मधेस छुट्टै लड्यो, थारुहट छुट्टै लड्यो, लिम्बुवान र पहाडका आदिवासी जनजातिहरू छुट्टै लडे। यसरी टुक्रा-टुक्रा भएर लड्दा कसैको पनि आन्दोलन सफल भएन । हामीले के बुझ्यौँ भने, यसरी छुट्टाछुट्टै लड्दा देशको नोक्सान हुन्छ, जनताले पीडा पाउँछन् र धेरैको शहादत मात्र हुन्छ।
त्यसो भए अबको तपाईंको रणनीति के हो त?
अबको रणनीति भनेकै सबै उत्पीडितहरूलाई एउटै मञ्चमा ल्याउनु हो। हिमाल, पहाड र तराईका सबै एजेन्डालाई एक ठाउँमा राख्नुपर्छ। चाहे ती मधेसी हुन्, आदिवासी जनजाति, दलित, मुस्लिम, वा पहिचानको खोजीमा रहेका खस-आर्य (बाहुन-क्षेत्री) नै किन नहुन्— सबैको आ-आफ्नो पहिचान र अधिकारको सवाल छ। यो ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले सबैको एजेन्डालाई समेटेर साझा शक्ति निर्माण गर्छ।
यो देश सबैको साझा हो भनेपछि अधिकारका लागि सबै मिल्नुको विकल्प छैन। छुट्टाछुट्टै आन्दोलन गरेर अब शक्ति क्षय मात्र हुन्छ।
तपाईंले मिल्नुपर्छ त भन्नुभयो, तर यसअघि मिलेका शक्तिहरू पनि अहिले छिन्नभिन्न देखिन्छन् नि? पहिले मिलेकाहरू अहिले किन यसरी छुट्टिएका?
हामीले केवल चुनावका लागि मात्र मिल्ने कुरा गरेका होइनौँ। चुनावमा त मान्छेले ‘कुर्सीका लागि मिले’ भनेर आरोप लगाइहाल्छन् नि। हाम्रो मुख्य कुरा ‘एजेन्डा’ मिल्नुपर्छ भन्ने हो। राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा नै छरिएर रहेका आन्दोलनहरूलाई एउटै केन्द्रमा जोड्नु हो। एजेन्डाका लागि सडकमा पनि मिल्नुपर्छ, चुनावमा पनि मिल्नुपर्छ र सदनको लडाइँमा पनि एक हुनुपर्छ।
अहिलेको चुनावमा तपाईंहरूको यो ‘गठबन्धन’ कसरी अगाडि बढेको छ त ?
अहिले हामीले जुन ‘जाँतो’ चुनाव चिन्ह प्रयोग गरेका छौँ, त्यो रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चिन्ह हो। रेशम चौधरीको पार्टी, अशोक राईको संघीय समाजवादी पार्टी र मेरो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल—हामी तीनवटा शक्ति मिलेर एकल चुनाव चिन्हमा मैदानमा छौँ। यो हिमाल, पहाड, तराई र मधेसका उत्पीडितहरू गोलबन्द हुने एउटा सुरुवात हो।
अभियान त चलाउनुभयो, तर मधेसका अन्य शक्तिहरू त अझै बाहिरै छन् नि? अघिल्लो पटक मिलेकाहरू किन छुटेका त?

हामीले त मिलाएकै हो। थारु, आदिवासी जनजाति र मधेसीको प्रतिनिधित्व हुने गरी हामी तीनवटा पार्टी त मिलेकै छौँ नि। अब जो मिलेका छैनन् वा मिल्न चाहेनन्, उनीहरूलाई नै सोध्नुस्—किन नमिलेको? किन जनताको मुद्दामा एक नभएको? हाम्रो तर्फबाट एकताको ढोका सधैँ खुला छ, तर जसले स्वार्थ हेर्छ, ऊ यो बृहत् क्रान्तिमा अटाउन सक्दैन।
तपाईंका पूर्व सहयात्रीहरूले त अघिल्लो चुनाव हारेपछि तपाईं छुट्टिएर हिँड्नुभयो भन्छन् नि?
म कहिल्यै चुनाव हारेको छैन। ३५ वर्षदेखि चुनाव लडिरहेको छु, जनताले मलाई कहिल्यै हराएका छैनन्। ४८ सालको चुनावमा १२-१४ सय मत कम हुनुलाई तपाईंको शब्दमा हार भन्नुस्, तर मेरो लागि त्यो जनताको ठूलो विश्वास थियो। दोस्रो चुनावमा ३०० मतले तल परेँ, त्यो त आफ्नै कारणले हो।
३०० मतले हार्नु चाहिँ कसरी आफ्नै कारण भयो ?
जनताले केही स-साना माग गरे, कतै ‘ह्यान्ड पाइप’ हाल्नुपर्ने कुरा गरे। मैले भनेँ—‘म अधिकार र पहिचानको लडाइँ लड्ने मान्छे, यस्ता स-साना कुरामा अल्झिन्नँ।‘ मेरो त्यही अडानका कारण केही मत घट्यो। तर सर्लाहीका जनताले मलाई सधैँ माया गरेका छन् । या त म जितेको छु, या ३०० देखि १३०० को मतान्तरमा दोस्रो भएको छु । यसलाई हार मान्नै सकिँदैन। आफ्नै व्यवस्थापन वा ओभर-कन्फिडेन्सले केही सय मत तल-माथि हुनु एउटा कुरा हो, तर जनताको आशीर्वाद मलाई सधैँ प्राप्त छ।
अहिले जेन्जी पुस्ताको उदय भएको छ। युवाहरूले वर्षौँदेखि एउटै अनुहार संसदमा देखिरहेका नेताहरू प्रति वितृष्णा पोखिरहेका छन्। पुराना अनुहार फेरिनुपर्छ भन्ने उनीहरूको माग त तपाईं प्रति पनि लक्षित छ नि, होइन र?
तपाईंको व्याख्या नै गलत भयो। तपाईंले आन्दोलनको मर्म बुझ्नुभएन। त्यो आन्दोलन केवल अनुहार परिवर्तनका लागि भएको होइन; त्यो त नीति, विचार र सिस्टम परिवर्तनका लागि भएको हो।
तर अनुहार फेरिएपछि त नयाँपन आउँछ नि, होइन र?
अनुहार मात्रै फेरेर के हुन्छ? शेरबहादुर देउवालाई फालेर गगन थापा आए तर नीति र सिद्धान्त उही रह्यो भने के परिवर्तन भयो ? केपी ओलीलाई हटाएर अर्को आए पनि विचार उस्तै भए के फेरियो? प्रचण्डको ठाउँमा अर्को आए पनि प्रवृत्ति उही त हो नि! रवि लामिछाने पनि चुनाव लडेकै हुन्। युवाहरूको त्यो ‘जेन्जी मुभमेन्ट’ विचारको विकल्पका लागि हो, बिना विचारको अनुहार मात्रै परिवर्तन गर्ने तपाईंहरूको आफ्नो व्याख्या हो।
त्यसो भए तपाईंको विचारमा वास्तविक विकल्प के हो त ?
मुलुकले विचारसहितको विकल्प खोजेको हो। विचार परिवर्तन भएन भने जुनसुकै उमेर समूहको मान्छे आए पनि केही फरक पर्दैन। नयाँ अनुहारले पुरानै विचार बोकेर शासन गर्यो भने देश जहाँको त्यहीँ रहन्छ। त्यसैले, अहिलेको आवश्यकता नयाँ विचार र नयाँ पद्धतिको हो, केवल नयाँ अनुहारको मात्र होइन।
अघिल्लो चुनावबाट मधेसमा जनमत र नागरिक उन्मुक्ति पार्टी उदाए। अहिले देशभरि नै ‘पुराना पार्टीले केही गरेनन्, अब नयाँलाई हेर्नुपर्छ’ भन्ने बहस छ। तपाईंलाई के लाग्छ, मधेसको अहिलेको वास्तविक अवस्था के हो?
शासन गर्ने पुराना पार्टीहरू—कांग्रेस, एमाले र माओवादी त अब पतन हुनैपर्छ। ९० प्रतिशत जनताको मत लिने तर थोत्रो भइसकेको ‘क्यापिटलिज्म’ र ‘कम्युनिज्म’ को खेती गर्ने? दुनियाँबाट सिद्धिसकेका यी पुराना विचार नेपालमा अब चल्दैनन्। जसले विचार फेर्न सक्दैन, त्यसको अन्त्य अनिवार्य छ।
तर नयाँ भनिएका पार्टीहरूले त तपाईंहरूलाई पनि ‘पुरानो’ कै कोटीमा राख्छन् नि ?
नयाँका नाममा आउनेहरूले पनि त प्रष्ट विचार ल्याउनुपर्यो नि! विचारविहीन विकल्प हुनै सक्दैन। जनताले ‘विचारसहितको विकल्प’ खोजेका हुन्, जुन हामीले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ मार्फत दिन खोजेका छौँ। यो ‘जेन्जी मुभमेन्ट’ मा पनि वैचारिक स्पष्टता देखिएको छैन। उदाहरणका लागि, रवि लामिछानेको पार्टीको नीति, सिद्धान्त र आदर्श हेरेर मान्छे आकर्षित भएका हुन् र?
त्यसो भए अहिलेको यो ‘क्रेज’ केका लागि त?
यो त फेस (अनुहार)को क्रेज हो। बालेन शाहको एउटा ‘फेस’ ले क्रेज देखायो। तर त्यो फेस पछाडिको नीति र सिद्धान्त के हो, त्यो कसैलाई थाहा छैन । चुनावपछि उनीहरूले देशलाई कुन बाटोमा लैजान्छन्, त्यो त हेर्न बाँकी नै छ।
बालेनको त्यो ‘फेस’ ले मधेसलाई पनि प्रभावित पारेको तपाईंले महसुस गर्नुभएको छ?
किन नपार्नु? पार्नै पर्छ नि! यो देशको इतिहासमा पहिलो पटक एउटा ‘मधेसी फेस’ ले सिङ्गो देशलाई प्रभावित पारेको छ। यो आफैँमा एउटा सन्देश हो। तर म फेरि पनि भन्छु—अनुहारले लहर ल्याउला, तर परिवर्तनका लागि त स्पष्ट विचार र क्रान्तिकारी कार्यदिशा नै चाहिन्छ।
बालेनको अनुहारले मधेशलाई मात्र होइन, देशैलाई प्रभावित गरेको छ। तर, मेरो चिन्ता कहाँ छ भने—त्यो क्रेजको नेतृत्व ‘नश्लवादी’ चिन्तनले गर्ने हो कि ? रवि लामिछाने जस्ता एकल चिन्तन बोकेका मान्छेहरूले बालेनको त्यो क्रेजलाई दुरुपयोग गर्लान् कि भन्ने मलाई डर छ। जनताले त माया गरेर ‘बालेन-बालेन’ भनिरहेका छन्, तर त्यो जनमतको सदुपयोग हुन्छ कि हुन्न भन्ने मुख्य कुरा हो।
तर बालेन त अहिले कोर मधेस छोडेर झापातिर केन्द्रित हुनुभएको नि ?
उनी झापा गएर के भयो त ? झापा पनि त यही देशको भाग हो नि। उनी झापा जाँदैमा मधेसी अनुहारको प्रभाव घट्ने होइन।
तपाईंले केपी ओलीको कुरा गर्नुभयो। मधेस आन्दोलनका बेला उहाँप्रति तपाईं निकै आक्रामक हुनुहुन्थ्यो, तर पछि उहाँकै सरकारमा उपप्रधानमन्त्री खान जानुभयो। यो त विरोधाभास भएन र?
हेर्नुस्, केपी ओलीको व्यवहार मधेसप्रति सधैँ नराम्रो रह्यो, यसमा कुनै शंका छैन। तर, राजनीतिमा आफ्ना माग मनाउन शत्रुसँग पनि संवाद गर्नुपर्ने हुन्छ। जसले मधेसका माग सम्बोधन हुँदै हुँदैनभन्थ्यो, उसैलाई संविधान संशोधनको एजेन्डामा ल्याइयो। मधेस आन्दोलनका बेला लागेका १३९ वटा मुद्दा उनकै हातबाट फिर्ता गराइयो।
सत्तामा जानकै लागि यो सब गर्नुभएको त होइन नि ?
होइन, म त ओलीको सरकारमा गएर पनि आफ्नो अडानमा टसको मस भइनँ। उहाँले ‘एकल राज्य’ भनिरहँदा मैले उहाँकै मन्त्रिपरिषद्को उपप्रधानमन्त्री भएर यो देश बहुराष्ट्रिय राज्य हुनुपर्छभनेर आफ्नो एजेन्डा राखेँ। जुन कुराको उहाँ घनघोर विरोधी हुनुहुन्थ्यो, त्यही कुरा मैले सरकारको प्लेटफर्मबाटै उठाएको हुँ।
अब सर्लाही क्षेत्र नम्बर २ को कुरा गरौँ। तपाईं यो क्षेत्रबाट पटक–पटक चुनाव लड्नुभएको छ। तर यसपालि त तपाईंसँगै हिजो एउटै पार्टीमा रहेका साथीहरू नै प्रतिस्पर्धी हुनुहुन्छ नि? तपाईं र महेन्द्र यादवको त यो चुनावी चक्कर सधैँ चलिरहन्छ। कहिले उहाँ जित्ने, कहिले तपाईँ। यसपालिको चुनावमा यो क्षेत्रमा आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ?
हेर्नुस्, यो मेरो आफ्नै क्षेत्र हो। मधेश आन्दोलनको बेला मधेसी गठबन्धनले मलाई जनकपुर पठाएको थियो, त्यसैले मैले आफ्नो क्षेत्र महेन्द्र यादवका लागि छोडेर जनकपुर (धनुषा-३) गएँ। त्यहाँका जनताले पनि मलाई भारी मतले जिताए। त्यसपछि आफ्नो जिल्ला र आफ्नै क्षेत्रमा फर्किनुपर्छ भनेर म फेरि सर्लाही आएँ।
तर अघिल्लो चुनावमा त नतिजा तपाईंको पक्षमा आएन नि?
अघिल्लो चुनावमा मेरो केही ‘नेग्लिजेन्सी’ (असावधानी) र ओभर-कन्फिडेन्सले गर्दा प्राविधिक रूपमा थोरै मतले हार भयो। साथै, पाँच-सात वर्ष जनकपुर बस्दा यहाँका कार्यकर्तासँगको सम्पर्क केही टुटेको थियो। तर यो बीचमा हामीले संगठन पुनर्गठन गरेका छौँ। अहिले कार्यकर्ताहरू पुरै सतर्क छन् र जनतामा पनि ठूलो उत्साह छ।
के अहिले नयाँ आएका कुनै पार्टीसँग तपाईंको प्रतिस्पर्धा होला ?
यहाँ कसैसँग कुनै प्रतिस्पर्धा छैन। नयाँ भनिएकाहरूको यहाँ कुनै प्रभाव पनि छैन। अहिलेको माहोल र संगठनको शक्ति हेर्दा परिणाम मेरो पक्षमा आउनेमा म पूर्णतः विश्वस्त छु ।
प्रतिक्रिया 4