+
+
Shares

यूएईका लागि नेपाली राजदूत भन्छन्- नेपाली नागरिक सुरक्षित छन्

‘उही डेब्रीहरू (अवशेष) कहिलेकाहीँ झर्न सक्छन्, इन्टरसेप्ट गरिएका वस्तुहरू खस्न सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर समग्रमा नेपालीहरू सुरक्षित छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:०१

१७ फागुन, काठमाडौं । यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली हाल सुरक्षित रहेको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले यूएईभित्र रहेका नेपालीहरू सुरक्षित रहेको स्पष्ट पारे ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेश क्याम्पसहरूमा आक्रमण गर्दै आएको छ । यूएईमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत आक्रमण हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजदूत क्षेत्रीका अनुसार आज पनि एक–दुई वटा मिसाइल प्रहारको घटना भएको छ, जुन अमेरिकी एयरबेसलाई लक्षित गरिएको थियो । यद्यपि ती आक्रमणहरू इन्टरसेप्ट गरिएको र सामान्य अवस्थामा जनजीवन सञ्चालन भइरहेको उनले बताए ।

‘उही डेब्रीहरू (अवशेष) कहिलेकाहीँ झर्न सक्छन्, इन्टरसेप्ट गरिएका वस्तुहरू खस्न सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर समग्रमा नेपालीहरू सुरक्षित छन् ।’

यूएईमा शनिबार र आइतबार सार्वजनिक बिदा छ । जसले गर्दा हिजो र आज नागरिक तथा आप्रवासीहरू घरमै बसेका छन् । अहिले रमदानको महिना समेत चलिरहेकाले बाहिरी गतिविधि न्यून छ ।

‘सरकारले नै घरमै सुरक्षित बस्नुस् भनेको छ । यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको घरभित्रै बस्नु नै हो । अहिलेसम्म यूएईमा रहेका सबै नेपाली सुरक्षित नै छन्,’ राजदूत क्षेत्रीले भने ।

यूएई सरकारले सुरक्षा र हवाई सुरक्षासम्बन्धी विस्तृत गाइडलाइन जारी गरेको छ । ती निर्देशिकाको पूर्ण पालना गर्न उनले नेपाली समुदायलाई आग्रह गरेका छन् । ‘एयर सेफ्टी र सेक्युरिटीका गाइडलाइनहरू जारी भएका छन्, त्यसको पालना गर्नु नै राम्रो हो,’ उनले भने, ‘सरकारले बाहिर ननिस्कन भनेको छ भने त्यही मान्नुपर्छ ।’

राजदूत क्षेत्रीले दूतावासले निरन्तर नेपालीहरूसँग सम्पर्क गरिरहेको पनि बताए । ‘हाम्रा साथीहरू काम गरिराख्नुभएको छ, टेलिफोन आइरहेको छ, कुराकानी भइरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको यहाँको सरकारले जे निर्देशन दिएको छ, त्यही पालना गर्नु हो ।’

उनले अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न, भीडभाडबाट टाढा रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरे । ‘झन् बाहिरतिर जाने, यताउता गर्ने गर्नुहुँदैन । कहिलेकाहीँ झुक्किन सक्छ, इन्टरसेप्ट गरिएका वस्तुका अवशेष झर्न सक्छन्,’ उनले भने ।

दूतावासले जारी गरेका सूचना र यूएई सरकारका सुरक्षा निर्देशन पालना गर्न पुन: आग्रह गर्दै राजदूत क्षेत्रीले नेपाली समुदायलाई संयमित र सतर्क रहन अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?