१९ फागुन, जनकपुरधाम । चुनावी घरदैलो अभियान अन्तिम चरणमा पुगेपछि धनुषा क्षेत्र नं. ३ की नेकपा एमाले उम्मेदवार जुली कुमारी महतोले आइतबार बिहान आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेकी महतोले जनकपुरधाम–९, ब्रह्मपुरीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै बीचमै निर्वाचन हुनुपर्दा धेरै विकासका काम अधुरै रहन गएको बताइन् ।
‘मेरो आधा कार्यकाल बाँकी नै थियो । तर देशको परिस्थितिका कारण बीचमै चुनाव हुन गयो,’ उनले भनिन्, ‘विगतको निर्वाचनमा गरेका वाचाअनुसार ३८ वटै वडामा विकासका काम भएका छन् । अझ धेरै काम गर्न बाँकी छ । अब जितेपछि ती सबै पूरा गर्छु ।’
यसअघि बिहीबार मात्र यसै क्षेत्रका नेपाली कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले जनकपुरधामको मिल्स एरियास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै आफ्नो विगतको योगदानको आधारमा मत दिन आग्रह गरेका थिए ।
उनले मधेश प्रदेशको राजधानी स्थापना, राजर्षि जनक विश्वविद्यालय र सिक्सलेन (जनकपुर–ढल्केबर–जटही) सडक निर्माणमा आफ्नो निर्णायक भूमिका रहेको दाबी गरे ।
‘भौतिक पूर्वाधार मन्त्री हुँदा गाउँ–गाउँ सडक विस्तार, रेल सेवा, हवाई सेवाको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा मेरो ठूलो योगदान छ,’ निधिले बताएका थिए ।
धनुषा–३ मा जुली महतो र विमलेन्द्र निधि २०७० का प्रतिस्पर्धी र पुराना अनुहार हुन् । उनीहरू बाहेक यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट रामललित मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राप्रपाबाट हुसैन कवाडी, जनमत पार्टीबाट गोपाल प्रसाद साह, तथा स्वतन्त्रतर्फबाट पूर्व पत्रकार दिवाकर साहसहित ४५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार डा. राजीव झा रास्वपामा प्रवेश गरिसकेका छन् भने राष्ट्रिय निर्माण दल नेपालकी उम्मेदवार सबनम खातुन निष्क्रिय हुँदै काँग्रेस उम्मेदवार निधिलाई समर्थन गरिसकेकी छन् ।

आगामी फागुन २१ गते हुने चुनावको मौन अवधि सुरु हुन अब केही समय मात्र बाँकी रहँदा मधेश प्रदेशको राजधानी रहेको यस क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ । पुराना उम्मेदवारहरू विगतमा गरेका कामको प्रचार गर्दै आगामी योजनाका एजेन्डा अघि सारिरहेका छन् । पुरानाले नगरेका काम आफूले गर्ने भन्दै नयाँ उम्मेदवारहरुले मत मागिरहेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम यसै क्षेत्रमा पर्छन् । तर जनकपुरधामको सबभन्दा ठूलो समस्याको रुपमा रहेको फोहर व्यवस्थापन अझै हुन सकेको छैन । अझै पनि जनकपुरधामको गल्लगल्लीको सडक तथा खाली जग्गामा डम्पिङ साइड छ । जसले सांस्कृतिक सहरलाई गिज्याइरहेको छ । तर, पूर्ण फोहोर व्यवस्थापनका लागि नत अहिलेसम्म ल्यण्डफिल साइट, न त डम्पिङ साइट नै तय गर्न सकेको छ । तर पुराना अनुहारका उम्मेदवारले यो मुद्दालाई गौण राखेका छन् । यसमा उनीहरुको विगतमा पनि खासै भूमिका देख्न सकेको छैन ।
जुलीले जनकपुरधामको रिंगरोड निर्माणको डिपीआर तयार भएकाले त्यो कामको पूर्णता, वैवाहिक हब, खेलकूदको विकास, स्वास्थ्य उपचारको जनकपुरधाम बाहिर जानुपर्ने बाध्यताको अन्त्य लगायतको एजेण्डा राखेकी छन् । उनले आफू धनुषामै दलहरुबाट एक मात्र महिला उम्मेदवार रहेकाले मत दिएर जिताउनु पर्ने धारणा राखिरहेकी छन् ।
नयाँ अनुहार नेकपाका उम्मेदवार रामललित मण्डल विगतमा निर्वाचित नेताहरूले राजनीतिक विकृति–विसंगति बढाएको, भ्रष्टाचारमा लिप्त भएको र क्षेत्रमा ठोस काम गर्न नसकेको आरोप लगाउँदै आफूलाई मत दिएर जिताउन आग्रह गरिरहेका छन् ।
‘जनताले जिताएर पठाएका नेताहरूले राजनीति विकृत बनाएका छन्, भ्रष्टाचारमा डुबेका छन् । एउटै पनि ठोस काम गर्न सकेनन्,’ उनी भन्छन् । शुद्ध खानेपानी, कृषिमा आत्मनिर्भरता, स्थानीय उत्पादनको प्रोत्साहन, रोजगारी सृजना, सार्वजनिक सेवामा सुशासन र नियम–कानुनको कार्यान्वयन उनका मुख्य चुनावी प्रतिबद्धता हुन् ।
चुनावी प्रतिस्पर्धामा रहेका रास्वपा उम्मेदवार मनिष झा भने परम्परागत राजनीतिक अभ्यास अन्त्य हुनुपर्ने भन्दै मत मागिरहेका छन् ।
‘अब परिणाममुखी र डेलिभरी दिने राजनीति हुनुपर्छ,’ उनी भन्छन् । जेनजी आन्दोलनका क्रममा राज्यबाट भएको दमनले पुराना दलहरूको जनताप्रतिको दृष्टिकोण स्पष्ट भएको उनको दाबी छ, र यही परिवर्तनको चाहनालाई उनले आफ्नो जितको आधार मानेका छन् ।
रास्वपाका केन्द्रीय प्रवक्ता समेत रहेका झा जनकपुरधामलाई अध्याधुनिक राजधानीका रूपमा विकास गर्ने, रामजानकी रंगशाला निर्माण, सांस्कृतिक–बौद्धिक केन्द्रको विकास, हवाई सेवा विस्तार, सबै पालिकामा सम्पर्क कार्यालय स्थापना, वृक्षारोपण र पर्यावरण संरक्षण, जलाशय सरसफाइ, कुटी संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारजस्ता एजेन्डालाई उनले आफ्नो स्थानीय चुनावी प्रतिबद्धता बनाएका छन् ।
जसपा नेपालका उम्मेदवार परमेश्वर साह मधेशवादको नारा उठाउँदै संघीयता, समावेशिता खतरामा परेकाले बचाउन मत मागिरहेका छन् ।
स्वतन्त्र उम्मेदवार पूर्व पत्रकार दिवाकर साह विकृति विसंगति अन्त्य गर्न अफूलाई मतदान गर्न आह्वान गर्दै मतदाता फकाइरहेका छन् ।
पुरानालाई नयाँको चुनौती
चुनावी मैदानमा यसपटक पुराना अनुहारलाई नयाँ अनुहारले कडा चुनौती दिएको छ । संगठनात्मक रूपमा बलिया मानिएका पुराना प्रतिस्पर्धी—नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा एमालेकी जुली महतो छन् । उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झाले प्रत्यक्ष चुनौती दिइरहेका छन् ।
२०७४ को निर्वाचनताका आम मतदातामा मधेश केन्द्रित दलप्रति देखिएको सहानुभूति यसपटक कमजोर देखिँदा जसपा नेपालका उम्मेदवार परमेश्वर साहलाई पनि जित निकाल्न सहज देखिँदैन । साह २०७४ को प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ३ (ख)बाट राजपा नेपालबाट प्रदेश सांसद जितेका थिए । यस क्षेत्रमा संगठनात्मक रूपमा कांग्रेस र एमालेभन्दा केही कमजोर देखिएका नेकपा उम्मेदवार रामललित मण्डल जित निकाल्न संघर्षरत्त छन् ।
२०७४ मा एमालेकी जुली महतोले पाँचदलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै जित हासिल गरेकी थिइन् ।
महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत पाएका थिए । तेस्रो स्थानमा जनमत पार्टीका शम्भु साहले ७ हजार ३७४ मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरू ७ सय मतसमेत कटाउन सकेनन् ।
निधि २०७९ को निर्वाचनमा उनले समानुपातिक प्रणालीमार्फत सांसद पद सुरक्षित गरेका थिए ।
निधि र जुली २०७० को संविधानसभाक पुराना दुई प्रतिस्पर्धी हुन् । त्यस चुनावमा निधिले १ हजार ४९२ मतान्तरले जित निकालेका थिए । सो निर्वाचनमा निधिले १५ हजार ३१ मत र महतोले १३ हजार ५३९ मत पाएकी थिइन् ।
यस चुनावमा पुराना दुई अनुहारको प्रतिस्पर्धामा नयाँको लहरले रोचक बनेको छ । निधिको गृहनगरसमेत पर्ने यस क्षेत्रमा उनी २०५६ सालदेखि २०७९ बाहेक सबै निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका छन् । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनले जीत हासिल गरे । तर २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग २ हजार ९०३ मतान्तरले पराजित भए । त्यस निर्वाचनमा महतोले ३० हजार ७५० मत पाउँदा निधि २७ हजार ८४७ मतमा सीमित भएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा मा निधि एमालेका उम्मेदवार हरिदेव मण्डललाई ५ हजार ६४६ मतान्तरले पराजित गर्दै विजयी भए । सो निर्वाचनमा निधिले १५ हजार ५८२ मत प्राप्त गर्दा मण्डलले ९ हजार ९३६ मत पाएका थिए ।
निधिले राष्ट्रिय राजनीतिको दृष्टिकोणबाट पनि आफ्नो जित आवश्यक रहेको धारणा राख्छन् । ‘मधेशी जनता संघीयताको पक्षमा छन् । लोकतन्त्र, संविधान र प्रणालीको रक्षाका लागि नेपाली काँग्रेस र उसका उम्मेदवारलाई मत दिएर विजय गराइनेमा मलाई विश्वास छ’ उनी भन्छन् ।
धनुषा क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ वडासहित जम्मा ३८ वडा पर्दछन् । जनकपुरधामका २५ वडामध्ये १७, नगराइन नगरपालिकाका सबै ९ वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका सबै ६ वडा, धनौजी गाउँपालिकाका सबै ५ वडा र विदेह नगरपालिकाको १ वडा यस क्षेत्रमा समेटिएका छन् ।
प्रतिक्रिया 4