+
+
Shares

भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते ९:४४

१८ फागुन, काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो ।

चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७:०२ बजेसम्म रहनेछ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने सोसाइटीले जनाएको छ । चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘खण्डग्रास चन्द्रग्रहण घरको छत, खुला चौर वा नजिकैको डाँडाजस्ता खुला स्थानबाट हेर्न सकिनेछ,’ नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रोदयसँगै सुरु हुने भएकाले वरपरको उचाइयुक्त स्थानबाट अवलोकन गर्दा अझ राम्रो देख्न सकिन्छ ।’

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण हुन्छ ।

पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन ।

चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?