ढुङ्गे युग, कृषि युग हुँदै १६औँ शताब्दीमा औद्योगिक युगमा प्रवेश गर्दा संसारको स्वरूप बदलिएको थियो। कारखाना, रेलवे र बडेमानका पानीजहाज देख्दा मानिसहरूलाई लागेको थियो- दुःखका दिन गए। तर, बाफबाट चल्ने इन्जिनदेखि इन्टरनेटसम्म आइपुग्दा सहरीकरण र सुविधा जति नै बढे पनि विपन्नमाथिको शोषण र आर्थिक असमानता घटेन। मेसिनले नयाँ रोजगारी सुरु गर्यो, पुरानाको खोस्यो।
आज हामी चौथो औद्योगिक क्रान्तिमा छौँ। त्यस्तो युगमा जहाँ मेसिनले हाम्रा हात मात्र होइन, मस्तिष्क नै प्रतिस्थापन गर्ने सामर्थ्य राख्छ।
पहिलो औद्योगिक क्रान्तिले मेसिन ल्यायो, दोस्रोले विद्युत् र सामूहिक उत्पादन, तेस्रोले कम्प्युटर र अटोमेसन दियो। तर, चौथो औद्योगिक क्रान्ति आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र ‘बिग डेटा’ मा आधारित छ। यस अर्थमा, चौथो औद्योगिक क्रान्तिले वस्तु मात्र उत्पादन गरिरहेको छैन, यसले सामाजिक भाष्य पनि जन्माइरहेको छ। पहिले कारखाना र जमिनका लागि लडाइँ हुन्थ्यो, अहिले सूचना र नागरिकको सोचमाथि नियन्त्रण जमाउन ठूला ‘टेक’ कम्पनीहरू सङ्घर्षरत छन्।
प्रविधिको यो दौडले लोकतन्त्रलाई मजबुत बनाउँदै छ कि कमजोर? हेर्न बाँकी नै छ। तर, हामी त्यस्तो समयमा छौँ, जहाँ सत्य र झुटबीचको भेद प्रमाणित गर्न जोकोहीलाई मुस्किल छ। सन् २०२३ सेप्टेम्बरमा स्लोभाकियामा भएको आम निर्वाचन होस् वा सन् २०२४ नोभेम्बरमा अमेरिकामा भएको आम निर्वाचन, झुटले थोरबहुत फरक पारेकै थियो।
स्लोभाकियामा ४८ घण्टाको मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमा एउटा अडियो क्लिप भाइरल भयो, जसलाई लिबरल पार्टीका नेता मिचेल सिमेका र पत्रकार मोनिका टोडोभाबीचको कुराकानी भनेर दाबी गरिएको थियो। यसमा उनीहरूले ‘रोमा अल्पसङ्ख्यक’ समुदायको भोट किनेर चुनावमा धाँधली गर्ने योजना बनाएको सुनिन्थ्यो।
त्यो अडियो यति वास्तविक लाग्थ्यो कि साधारण मतदाताले त्यसलाई सहजै पत्याउन सक्थे। मौन अवधिमा लाग्ने आचारसंहिताले सत्य उजागर हुनबाट छेक्यो, झुट फैलनबाट रोक्न सकेन। निर्वाचनपछि तथ्यजाँच गर्ने संस्थाहरूले उक्त अडियो एआईबाट बनाइएको पुष्टि गरे। निर्वाचनमा सिमेकाको पार्टी दोस्रो स्थानमा खुम्चिनुमा यो गलत प्रचार एउटा कारक रहेको निष्कर्ष निकालियो।
अमेरिकामा २०२४ मा डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनको केही दिनअघि मात्रै भाइरल भएको एउटा भिडियोमा तत्कालीन राष्ट्रपति जो बाइडेनले आफूलाई मत नदिन आह्वान गरिरहेका थिए। यसले उनको छविमा थोरबहुत असर गरेकै थियो।
नेपालको निर्वाचन इतिहासमा ‘बुथ कब्जा’ लोकतन्त्रको ठूलो चुनौती थियो। लाठी, ढुङ्गा र धाकधम्कीका भरमा मतदातालाई तर्साउने वा मतपेटिका नै साट्ने प्रवृत्ति हावी थियो। तर, प्रविधिको विकासले त्यो अध्याय लगभग अन्त्य गरिदिएको छ। आज हरेक नागरिकको हातमा स्मार्टफोन छ। कुनै पनि ठाउँमा हुने धाँधलीको भिडियो केही मिनेटमै फेसबुक वा टिकटकमा सार्वजनिक हुन्छ।
तर, सुरक्षाको यो आभासभित्र अर्को ठूलो जोखिम लुकेको छ। अब कसैले तपाईंको भोट हाल्ने हात समात्नु पर्दैन, उनीहरूले तपाईंको ‘दिमाग’ नै कब्जा गरिदिन सक्छन्। यसलाई भनिन्छ- ‘डिजिटल बुथ कब्जा’। सामाजिक सञ्जालका ‘एल्गोरिदम’ हरूले तपाईंलाई त्यही कुरा मात्र देखाउँछन्, जुन तपाईं सुन्न वा देख्न चाहनुहुन्छ। यसले मानिसलाई यतिसम्म कट्टर बनाइदिन्छ कि ऊ आफ्नो राजनीतिक आस्थाभन्दा बाहिरको सत्यलाई स्वीकार्नै सक्दैन। जब नागरिकले के साँचो र के झुटो भनेर छुट्याउन छाड्छ, लोकतन्त्रको मेरुदण्ड त्यहीँनिर भाँचिन्छ।
‘बोट’ हरूले स्वचालित रूपमा लाखौँ ‘फेक’ कमेन्ट वा भिडियो कमेन्ट गरेर ट्रेन्डिङ बनाउँछन्। यिनले गलत सूचना फैलाएर एल्गोरिदमलाई ध्रुवीकृत सामग्री ‘फिड’ गर्छन्। २०२४ र २०२५ मा विश्वका विभिन्न देशमा भएका चुनावहरूमा यस्ता ‘बोट’ हरूले मतदातालाई प्रभावित गरेका थिए।
प्रविधि कम्पनीहरूसँग तपाईंको व्यक्तिगत तथ्याङ्क हुन्छ। तपाईंले खाता खोल्दा नै विभिन्न विवरण त्यसमा दिनुभएको हुन्छ। त्यसैका आधारमा लक्षित विज्ञापन वा प्रायोजित भिडियो तपाईंको सामाजिक सञ्जालको भित्तासम्म आउँछ। एकपटक क्लिक गरिसकेपछि उस्तै पोस्टको बाढी लाग्छ।
नेपालमा प्रविधि साक्षरताको अभावमा भ्रामक सूचनाले निम्त्याएका क्षतिका ताजा उदाहरण स्लोभाकिया वा अमेरिकाका उदाहरणभन्दा कम दर्दनाक छैनन्।
जस्तो, जेनजी आन्दोलनका क्रममा एउटा हल्ला फैलियो: ‘प्रहरीले दमन गरेर ३२ जना युवाको हत्या गर्यो र उनीहरूको शव नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लुकाएर राख्यो।’ आन्दोलनमा कलिला बच्चाहरूको ज्यान जाने गरी भएको दमनले सर्वसाधारणलाई उसै आक्रोशित बनाइदिएको थियो, त्यसमा ‘घिउ’ थप्ने गरी केही युट्युब च्यानलहरूले यस्तो अपुष्ट खबरलाई सनसनी बनाएर फैलाइदिए। नतिजा, भोलिपल्ट बिहानै संसद् भवन जल्यो। अनि मात्रै हल्ला व्यर्थ चलेको थाहा भयो।
आन्दोलनकै दौरान कतिपय युट्युबरले झापाको एक नगरपालिकाका मेयरको घरमा ८० किलो सुन र दुई बोरा चाँदी भेटिएको दाबी गर्दै भ्रामक भिडियो बनाए। आक्रोशित भीडले मेयरको घर र नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गर्यो। ‘भ्युज’ को लोभमा देश कसरी ध्वस्त हुन सक्छ भन्ने २४ भदौको उदाहरण सुदूर भविष्यसम्म इतिहास बनेर बस्नेछ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको अपुष्ट र अप्रमाणित दाबी फैलिएपछि अन्तर्राष्ट्रिय स्तरको ‘हिल्टन’ होटल जल्यो। नेपालमा अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बिथोलियो। तर, देउवाको लगानी रहेको पुष्टि ‘जेन जी’ ले आजसम्म गर्न सकेको छैन।
हिटलरका प्रवक्ता तथा नाजी प्रचारक जोसेफ गोयबल्स भन्थे, ‘एउटै झुटलाई हजारपटक बोलियो भने त्यो सत्य बन्छ।’ आजको डिजिटल युगमा हिटलरहरूले गोयबल्स खोज्नुपर्दैन। एआईले नै उनीहरूको अभाव पूर्ति गरिदिन्छ। १० जना मानिसले कसैलाई ‘नराम्रो’ भनेर लेखिदिए भने एआईले त्यसैलाई सत्य मानेर प्रचार लाखौँसमक्ष पुर्याइदिन्छ।
अहिलेको अर्को खतरनाक पक्ष विश्वासको क्षय पनि हो। जब कुनै नेताको वास्तविक भ्रष्टाचार वा काण्डको भिडियो सार्वजनिक हुन्छ, उसले सजिलै भनिदिन्छ: यो एआईले बनाएको ‘डिपफेक’ हो । कुन साँचो र कुन गलत भनेर छुट्याउन समय लाग्छ, भ्रष्टहरू उन्मुक्त भएर हिँड्छन् ।
यसरी, चौथो औद्योगिक क्रान्तिले सूचनामा मात्र होइन, आर्थिक–सामाजिक क्षेत्रमा पनि गहिरो खाडल खन्दै छ। प्रविधिमाथिको नियन्त्रण न किसान–मजदुरको हातमा छ, न स्वदेशी उद्यमीसँग; यो त एलन मस्क वा मार्क जुकरबर्गजस्ता खर्बपतिहरूको हातमा छ।
डिजिटल युगले बाँकी विश्वको निद्रा नै खल्बल्याइदिएको छ। नेपालजस्तो देशमा, जहाँ भर्खरै गाउँ–गाउँमा सडक पुगेको छ, त्यहाँका मानिसहरूले आफ्नो जीवनस्तरलाई सामाजिक सञ्जालमार्फत अमेरिकासँग दाँजेर हेर्न थालेका छन्। यसले एउटा यस्तो असन्तुष्ट पुस्ता जन्माइरहेको छ, जो आफ्नो समाज र माटोको वास्तविकतासँग जोडिनुको साटो ‘पश्चिमा न्यारेटिभ’ बाट निर्देशित छ। समस्याको मौलिक समाधान खोज्नुको साटो एल्गोरिदमले देखाएको सपनाको पछाडि दौडिरहेको छ।
यसपटकको आम निर्वाचनमा यी चुनौतीहरू अझै पेचिलो बन्ने निश्चित छ। पुराना दलहरूको कार्यशैलीप्रति जनतामा चरम निराशा छ, यो स्वाभाविक हो। तर, यो निराशालाई ‘डिजिटल स्टन्ट’ मार्फत क्यास गर्न खोज्ने शक्तिहरूले भविष्यमा योभन्दा धेरै निराशा उत्पन्न गराउने जोखिम छ।
निर्वाचनमा अब उम्मेदवारले कति विकास गर्यो वा उसको एजेन्डा के हो भन्नेभन्दा पनि उसको कुन भिडियो कति ‘भाइरल’ भयो भन्ने कुराले जित–हार तय गर्ने खतरा बढेको छ।
प्रविधि आफैँमा नराम्रो होइन। एआईले चिकित्सा, शिक्षा र अनुसन्धानमा चमत्कार गर्न सक्छ। तर, जब यो प्रविधि लोकतन्त्रलाई ध्वस्त पार्ने हतियार बन्छ, तब समाजले यसको प्रतिरोध गर्नैपर्छ। यसका लागि नागरिकस्तरबाटै सचेतना जरुरी छ। मतदाता शिक्षा राम्रोसँग नपुग्ने र भारी मत बदर हुने समाजमा हामी आफैँ लापरवाह हुँदा ‘डिजिटल साक्षरता’ भन्दा पहिले ‘डिजिटल्ली भ्रम’ मौलाउने निश्चित छ।
यी चुनौती निस्तेज गर्न राज्यका स्रोतसाधनलाई निष्पक्ष र प्रभावकारी ढङ्गले प्रयोग गर्नेतर्फ पनि ध्यान दिनुपर्छ। नेपाल प्रहरी र साइबर ब्युरोलाई केवल फेसबुकको गालीगलौज हेर्नेमा सीमित राख्नु हुँदैन। डिपफेक र एआईमार्फत हुने राजनीतिक हस्तक्षेप रोक्न सक्ने अत्याधुनिक प्रविधि र कानुन ल्याउनुपर्छ। त्यसको प्रयोगका लागि प्रहरी र कर्मचारीलाई तयार बनाउनुपर्छ।
युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार बनाउनुपर्छ। ‘भ्युज’ का लागि देश जलाउने सूचना प्रवाह गर्नेलाई कडा कानुनी दायरामा ल्याउनैपर्छ। यी सबै प्रक्रिया त्यतिबेला मात्रै सुरु हुन सक्छन्, जब मतदाता स्वयम् जिम्मेवार हुन्छन्।
हामी एउटा यस्तो समयमा छौँ जहाँ सूचना नै शक्ति र विष पनि हो। चौथो औद्योगिक क्रान्तिले हामीलाई अवसरको ढोका त खोलेको छ, तर सँगसँगै ‘डिजिटल तानाशाही’ र ‘अराजकता’ को जोखिम पनि निम्त्याएको छ। हिजोको बुथ कब्जाको प्रतिरोध गरेका थियौँ, अब डिजिटल कब्जाबाट आफ्नो ‘मस्तिष्क’ र ‘निर्णय क्षमता’ जोगाउने पालो हाम्रो हो।
संसार विचित्रको छ, हामी जसको विरोध गर्छौँ, अप्ठ्यारो पर्दा त्यही चाहिन्छ। जस्तो: खाद्य गुणस्तर चित्त नबुझे पनि भोको बस्न सक्दैनौँ। नेताको आचरणमा प्रश्न उठाए पनि मत नहाली रहन सक्दैनौँ। किनकि, जीवनरक्षाका लागि भोजन र लोकतन्त्रको रक्षाका लागि मत अपरिहार्य छन्। ठीक यसैगरी आजको समाजमा प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ। यसको प्रयोगबाट टाढा भाग्न खोज्दा हामी असान्दर्भिक हुनेछौँ। प्रविधिमाथिको रोकपछि उठेको ‘जेन जी’ विद्रोहको मर्म पनि यही थियो।
प्रविधिबाट हामीले लिन सक्ने धेरै कुराहरू छन्। कृषकदेखि शिक्षकसम्म, विद्यार्थीदेखि बिरामीसम्म समाजका हरेक वर्गले यसबाट लाभ उठाउन सक्छन्। तर यसले सुविधा दिएसँगै उत्तरदायित्व पनि माग गर्छ। हाम्रोजस्तो विकासशील समाजमा आफू मात्रै जिम्मेवार भएर पुग्दैन, सचेतना फैलाउन जरुरी छ। नत्र, हाम्रो समाज र राजनीतिको निर्धारण जनताले होइन, अदृश्य एल्गोरिदम र डिपफेकले गर्ने जोखिम रहन्छ।
(पत्रकार थापा अमेरिकाको टेक्सासमा बसोबास गर्छन्।)
प्रतिक्रिया 4