+
+
Shares

मसाज गर्दा किन आउँछ मज्जा ? वैज्ञानिकले पत्ता लगाए खास कारण

घरमै प्रयोग गर्न मिल्ने गर्दन मसाजका उपकरण विकास गर्ने सम्भावनाबारे पनि वैज्ञानिकले छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाका वैज्ञानिकहरूले मुसामा अनुहार र गर्दनको हल्का मसाजले दिमागको प्राकृतिक सफाइ प्रक्रिया तीव्र बनाउने पत्ता लगाएका छन्।
  • मसाजले दिमागबाट बग्ने सेरेब्रोस्पाइनल फ्लुइडको प्रवाह सामान्यभन्दा करिब दोब्बर छिटो हुने वैज्ञानिकहरूले उल्लेख गरेका छन्।

के तपाईंले कहिल्यै गर्दन वा अनुहारको मसाज गराउनुभएको छ ? केवल ५/१० मिनेटको मसाजले शरीर हलुका हुने, मन शान्त हुने र ताजगी महसुस हुने गर्दछ । मसाज गर्दा यस्तो मज्जा किन आउँछ होला ? वैज्ञानिकहरूले यसको खास कारण पत्ता लगाएका छन् ।

दक्षिण कोरियाका वैज्ञानिकहरूले गर्दन र अनुहारको हल्का मसाजले दिमागको प्राकृतिक सफाइ प्रक्रिया तीव्र बनाउने महत्वपूर्ण तथ्य सार्वजनिक गरेका छन् । इन्स्टिच्यूट अफ बेसिक साइन्सका अनुसन्धानकर्ताहरूले मुसामा गरेको प्रयोगबाट यस्तो निष्कर्ष निकालेका हुन् । अध्ययनअनुसार अनुहार र गर्दनको छालामा हल्का यान्त्रिक मसाज गर्दा दिमागबाट बग्ने सेरेब्रोस्पाइनल फ्लुइडको प्रवाह सामान्यभन्दा करिब दोब्बर छिटो भएको पाइएको छ ।

वैज्ञानिकहरूका अनुसार दिमागले दैनिक रूपमा हानिकारक प्रोटिन र फोहोर पदार्थ उत्पादन गर्छ । यी पदार्थ समयमै बाहिर ननिस्किएमा अल्जाइमर र पार्किन्सनजस्ता गम्भीर स्नायुरोगको जोखिम बढ्न सक्छ । दिमागले यो फोहोर सेरेब्रोस्पाइनल फ्लुड मार्फत लिम्फेटिक नलीहरूको सहयोगले शरीरबाहिर निकाल्ने गर्छ । अनुसन्धानमा अनुहार र गर्दनमुनि रहेका लिम्फेटिक नलीहरूलाई हल्का मसाज गर्दा तिनको कार्यक्षमता उल्लेखनीय रूपमा बढ्ने देखिएको छ ।

अध्ययनको अर्को महत्वपूर्ण पक्ष भनेको यो विधि धेरै उमेरका मुसामा पनि प्रभावकारी देखिनु पनि हो । उमेरसँगै कमजोर हुँदै गएको दिमागको सफाइ प्रणाली मसाजपछि पुनः सामान्य स्तरमा फर्किएको वैज्ञानिकहरूले बताएका छन् । साथै दिमागबाट अनुहारका लिम्फ नोड्ससम्म जाने केही नयाँ जैविक मार्गहरू पनि पहिचान गरिएको छ जुन मार्गहरू वृद्ध अवस्थामा पनि सक्रिय रहने देखिएका छन् ।

वैज्ञानिकहरूका अनुसार यो खोजले भविष्यमा अल्जाइमरजस्ता स्नायुरोग रोकथाम वा त्यसको गति कम गर्ने सस्तो र सुरक्षित उपाय विकास गर्न मद्दत पुग्न सक्छ । साथै घरमै प्रयोग गर्न मिल्ने गर्दन मसाजका उपकरण विकास गर्ने सम्भावनाबारे पनि वैज्ञानिकले छलफल गरेका छन् ।

यद्यपि हालसम्मको अध्ययन मुसामा मात्र सीमित रहेको र मानिसमा यसको प्रभाव पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?