+
+
Shares

माथिल्लो डोल्पाका तीन मतदान केन्द्रमा अझै पुगेन निर्वाचन सामग्री

निर्वाचन आयोगले कार्य तालिका बनाएर सोमबार साँझसम्म मतदान केन्द्रमा कर्मचारी पठाइसक्नुपर्ने भने पनि भौगोलिक विकटताका कारण निरन्तर प्रयास गर्दा पनि पठाउन नसकिएको सीडीओ ढकालले जानकारी दिइन् ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन १८ गते १८:४४

१८ फागुन, डोल्पा । माथिल्लो डोल्पाका २३ मध्ये ३ मतदान केन्द्रमा अझै निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन नसकिएको प्रशासनले जनाएको छ ।

निर्वाचनका तीन दिन मात्रै बाँकी रहँदा तीन उच्च हिमाली केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याउन नसकिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

शनिवार एउटा, आइतबार दुई वटा र सोमबार एउटा हेलिकप्टर माथिल्लो क्षेत्रका २० मतदान केन्द्रमा निर्वाचन सामग्रीसँगै कर्मचारी र सुरक्षाकर्मी ओसार्न प्रयोग भएको उनले बताए ।

‘माथिल्लो डोल्पाको डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकाका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामाग्रीसहित कर्मचारी पठाइसकिएको छ,’ सीडीओ ढकालले भनिन्, ‘शे-फोक्सुन्डो गाउँपालिकाका ११ मध्ये तीन वटा मतदान केन्द्रमा पुर्‍याउन सकिएको छैन । अन्य सबै ठाउँ पुगिसकेको छ ।’

उनका अनुसार शे-फोक्सुन्डो गाउँपालिकाको कराङ, साल्दाङ र धुङ्दार मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याउन सकस भएको हो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत तीन दिनदेखि बिहानैबाट उडान गरेपनि डोल्पामा दुई बजेपछि तीव्र हावा लाग्न सुरु हुने भएकाले सोमबार पनि सबै उडान गर्न नसकिएको उनले जानकारी दिइन् ।

मंगलबार बिहानसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाउने समेत सीडीओ ढकालले जानकारी दिइन् । निर्वाचन आयोगको कार्य तालिकाअनुसार सोमबार साँझसम्म मतदान केन्द्रमा कर्मचारी पठाइसक्नुपर्ने भनिए पनि निरन्तर प्रयास गर्दा पनि भौगोलिक विकटताका कारण पठाउन नसकिएको उनको भनाइ छ ।

तल्लो डोल्पाका छ वटा पालिकामा पर्ने मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डोल्पामा स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र छन्, भने ३८३ जना कर्मचारी खटाइएको छ । डोल्पामा कुल २४ हजार ११५ मतदाता रहेका छन् ।

निर्वाचनमा छ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा, नेकपा एमालेबाट लंकबहादुर रोकाय, नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी र स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी चुनावमा होमिएका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले एमालेलाई सघाउने भनिसकेका छन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्ट र मितेरी नेपाल पार्टीका उम्मेदवार जुनु भण्डारी कांग्रेसमा प्रवेश गरेका छन् ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?