+
+
Shares

गुल्मीका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १२:३१

१९ फागुन, गुल्मी । गुल्मी जिल्लामा रहेका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारीहरु खटिएका छन् । जिल्लाभर कुल १४५ मतदानस्थलअन्तर्गत २८४ मतदान केन्द्र तोकिएका छन् ।

ती सबै केन्द्रमा आवश्यक सामग्री पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार निर्धारित समयमै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका हुन् ।

मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको उनले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन् ।

तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । निर्वाचनको सबै तयारी पूरा भएसँगै अब मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन हुने विश्वास गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदान केन्द्रमा ‘हेल्थ डेक्स’

गुल्मीमा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मतदातामैत्री बनाउन नयाँ अभ्यास सुरु गरिएको छ । जिल्लाका १४५ वटै मतदान स्थलमा स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको ‘हेल्थ डेक्स’ राखिने भएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेरेले यसपटक मतदाताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरिएको बताए । मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रत्येक मतदान केन्द्रमा स्वास्थ्य सहयोग उपलब्ध गराइने जानकारी दिए ।

झण्डै २ हजार कर्मचारी खटिए

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत, सहायक अधिकृत तथा अन्य कर्मचारी गरी कुल १ हजार ७०८ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । त्यस्तै १ हजार ८७४ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।

आवश्यकता अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी गैहेले बताए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र रहेका छन् ।

४३ जना उम्मेदवार

गुल्मी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४३ जना उम्मेदवारमध्ये २० जना विभिन्न दलबाट र २३ जना स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर–१ मा कुल २१ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको छ ।

यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलबाट १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति-सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए । प्रशासनले निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गैह्रे ले बताए ।

जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?