१५ फागुन, गुल्मी । गुल्मीको ग्रामीण भेगलाई मुख्य सडक सञ्जालसँग जोड्ने छल्दी–गुरुवा–ठाढुंगा–इस्मा सडक अब कालोपत्रे हुने चरणमा पुगेको छ । वर्षौंदेखि सुस्त गतिमा अघि बढिरहेको आयोजनाले पछिल्लो समय गति लिएको हो ।
इस्मा गाउँपालिकाको वडा नम्बर २ स्थित छल्दीबाट सुरु भएर वडा नम्बर ३ को ठाढुंगा हुँदै इस्मा अर्जैसम्म पुग्ने सडकको छल्दी–ठाढुंगा खण्ड (५.६ किलोमिटर) कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । यो सडकले गुरुवा, हस्तिचौर, मल्दी, उजुङ, ठाढुंगा र इस्मा अर्जै लगायतका बस्तीलाई जोड्छ ।
सडक स्तरोन्नतिसँगै स्थानीय बासिन्दाको दैनिकी सहज हुने, कृषि उपज ढुवानीमा सुविधा पुग्ने र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।
यो आयोजना सडक डिभिजन कार्यालय पाल्पामार्फत सञ्चालन भइरहेको छ । २०७९ साल वैशाख २६ गते ठेक्का सम्झौता भएको थियो । प्रारम्भिक समयसीमा २०८१ वैशाख २५ गतेसम्मको भए पनि काम समयमै नसकिएपछि म्याद थप गरी २०८३ असारसम्म पुर्याइएको छ ।
सडक निर्माणको जिम्मा रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभीले पाएको छ । हालसम्म करिब ३ किलोमिटरमा सब–बेस र बेस तयारीको काम सकिएको रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभी तम्घास निर्माण कम्पनीका प्रमुख हरिकुमार श्रेष्ठले बताए । बाँकी भागमा ग्राभेल मिलाउने, नाला निर्माण र कालोपत्रे पूर्वतयारी भइरहेको उनले जानकारी दिए ।

गत वर्ष बिल भुक्तानीमा ढिलाइ हुँदा केही समय काम रोकिएको थियो । कुल लागत २४ करोड ७२ लाख रुपैयाँ रहेको यस आयोजनामा बजेट अभाव, वर्षायाम र प्राविधिक समस्याले ढिलाइ भएको बताइएको छ ।
स्थानीय मनिराम नेपालीका अनुसार सडक कालोपत्रे भएपछि वर्षायाममा हिलो र धुलोको समस्या कम हुने विश्वास छ । यस सडकले इस्मा क्षेत्रलाई जिल्ला सदरमुकाम तथा व्यापारिक केन्द्रसँग प्रत्यक्ष जोड्ने भएकाले स्थानीय आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ ।
निर्माण सम्पन्न भएपछि क्षेत्रको सामाजिक र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4