News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत विभिन्न तालिम र कार्यशाला सञ्चालन गरिरहेको छ।
- चैत महिनामा ड्रोन, भ्वाइस एक्टिङ, फिल्म लाइट–ग्याफर, प्रोस्थेटिक मेकअप, एआई कार्यशाला र फोटो–भिडियो पत्रकारिता तालिम आयोजना गरिने छ।
- फागुन अन्तिम सातामा चलचित्रकर्मीको शारीरिक तन्दुरूस्तीका लागि पौडी तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ कार्यक्रम अन्तर्गत नेपाली फिल्म क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण, तालिम तथा कार्यशाला सञ्चालन गरिरहेको छ ।
आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिम आयोजना गरिएको हो । यसअघि घोषणा गरिए अनुसार पटकथा लेखन, अन्तर्राष्ट्रियस्तरको डल्बी एटमस साउण्ड मिक्सिङ् तालिम, घोडाचढी आदि तालिम भैसकेका छन् ।
आगामी दिनमा आयोजना हुन लागेका ड्रोन सञ्चालन तालिम, भ्वाइस एक्टिङ तथा डबिङ तालिम, फिल्म लाइट–ग्याफर तालिम, प्रोस्थेटिक मेकअप तालिम, एआईसम्बन्धी कार्यशाला, फोटो तथा भिडियो पत्रकारिता तालिम तथा पौडी तालिमको समय तालिका सार्वजनिक गरिएको छ ।
चलचित्रकर्मीको शारीरिक तन्दुरूस्ती, सुरक्षा सीप तथा पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी तालिम २०८२ फागुनको अन्तिम सातामा आयोजना गरिने छ ।
चैत १ देखि ३ गतेसम्म भ्वाइस एक्टिङ तथा डबिङ तालिम प्रशिक्षक अमित डेओन्दीको नेतृत्वमा सञ्चालन हुनेछ । त्यस्तै चैत ९ देखि १७ गतेसम्म ड्रोन तालिम सञ्चालन हुनेछ भने फिल्म लाइट–ग्याफर तालिम चैत महिनाको दोस्रो सातामा, प्रोस्थेटिक मेकअप तालिम प्रशिक्षक आयाज शेखद्वारा चैत महिनाको अन्तिम सातामा, एआई कार्यशाला चैतको पहिलो सातामा तथा फोटो तथा भिडियो पत्रकारिता तालिम चैतको अन्तिम सातामा सञ्चालन गरिने छ ।
नेपाली फिल्म क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिलाई आफ्नो पेशागत दक्षता अभिवृद्धिका लागि यस सुनौलो अवसरको सदुपयोग गरी तालिम तथा कार्यशालामा सहभागिताका लागि बोर्डमा सम्पर्क गर्न आग्रह गरिएको छ । फिल्म क्षेत्रमा पछिल्लो ५ वर्षदेखि निरन्तर सक्रिय चलचित्रकर्मीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
पहिलो आवेदनलाई पहिलो प्राथमिकता दिई प्रशिक्षार्थीको छनोट हुने विकास बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4