+
+
Shares

बाजुराका १० मतदान स्थल यातायातको पहुँच बाहिर

प्रकाश सिंह प्रकाश सिंह
२०८२ फागुन १९ गते १८:३४
हिमाली गाउँपालिका-३ स्थित हिमाल भक्ति आधारभूत विद्यालयमा रहेको मतदान स्थल । बाजुराको सबैभन्दा टाढा रहेको मतदान स्थल यही रहेको छ ।

१९ फागुन, बाजुरा । बाजुराका जिल्लाका १० वटा मतदान स्थल यातायातको पहुँचमा नरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

बाजुरामा ७७ वटा मतदान स्थल छन्, जसमा १० वटा मतदान स्थलमा गाडी नपुग्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

त्रिवेणी नगरपालिका-५ किम्नीमा रहेको रामेश्वरी मावि, गौमुल गाउँपालिका-१ मा रहेको अम्लिस मावि, जगन्नाथ गाउँपालिका-४ बागापानीमा रहेको मालिका मावि मतदान स्थलमा गाडी नपुग्ने उनले बताए ।

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका-१ को मण्डाली आधारभूत विद्यालय खोलीकोट र २ नम्बर वडामा रहेको बिन्दासैन आधारभूत विद्यालय फयालगाउँ मतदान स्थलमा पनि यातायातको सुविधा नरहेको उनको भनाइ छ ।

सबैभन्दा विकट रहेको हिमाली गाउँपालिकाका ५ वटा मतदान स्थलसम्म यातायात नपुग्ने उनले बताए । यी ठाउँका मतदान स्थलमा तीन दिन पैदल हिँडेर कर्मचारीहरू पुगेका छन् ।

हिमाली-१ मा रहेको बिच्छयाँ मावि, वडा नम्बर १ मा रहेको सुनन्दा मावि, वडा नम्बर २ मा रहेको ठूलाकोट आधारभूत विद्यालय, ३ नम्बरमा रहेको गंगा आधारभूत विद्यालय र सोही वडाको हिमाल भक्ति प्रावि गुम्बामा रहेको मतदान स्थलसम्म यातायातको सुविधा नरहेको उनले बताए ।

प्रजिअ निरौलाका अनुसार बाजुराको सबै मतदान स्थल र केन्द्रमा कर्मचारी पुगिसकेका छन् । हिमाली गाउँपालिका-१, २ र ३ मा रहेका मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्ने निरौलाले बताए ।

बाजुरामा ७७ वटा मतदान स्थल र एक सय १८ वटा मतदान केन्द्र छन् । बाजुरामा ८७ हजार ८ सय ६१ जना मतदाता छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।

२०७९ को प्रदेश र संघको चुनावमा बाजुरामा बिभिन्न मतदान स्थलामा झडप सँगै फर्जि मतदान भएको थियो । त्रिवेणी नगरपालिका ७ मा दुइजना युवाको मृत्यु समेत भएको थियो । यो पटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न बाजुरामा उच्च सुरक्षा सर्तकता बढाएको पाइएको छ ।

केही दिन पहिला गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बाजुरा पुगेका थिए ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?