+
+
Shares

मध्यपूर्व तनाव : युद्धग्रस्त भूमिमा फोटो-भिडियो मोहले जोखिममा नेपाली

रिपोर्ट गरिदिने दुबई प्रहरीको चेतावनी, नेपाल सरकारले भन्यो- १७ लाख नेपाली परिवार चिन्तामा पर्न सक्छन्

युद्ध चर्किरहेका बेला ती देशमा बस्ने नेपालीहरू फोटो-भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने क्रम बढ्दो छ । इरानबाट प्रहार भएको मिसाइल खसेको ठाउँमा जाने र फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ फागुन १९ गते २०:१४

१९ फागुन, काठमाडौं । केही दिनअघि दुबई प्रहरीले चेतावनी दिएको भिडियो सार्वजनिक भयो । धेरैको भिडभाडमा दुबई प्रहरीका एक अधिकारीले फोटो तथा भिडियो नखिच्न, सामाजिक सञ्जालमा नहाल्न चेतावनी दिएका थिए ।

इरानले प्रहार गरेको मिसाइलको ‘फलिङ डेब्रिस’ को फोटो तथा भिडियो खिच्न जम्मा भएको भीडलाई लक्षित गर्दै प्रहरी अधिकारीले उक्त खालको चेतावनी दिएका थिए ।

‘गलत कुराको भिडियो नबनाउनुहोस् । यस्तो कुरामा जो पनि माहिर छन्, जे पनि हुन्छ भिडियो बनाउन लागिहाल्छन् । गलत भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्छन् । यो तपाईँहरूको लागि फाइदा हुँदैन,’ दुबई प्रहरीले बोलेको भिडियोमा भनिएको छ, ‘यसले तपाईँहरूलाई नै घाटा हुन्छ ।’ त्यसैले अरुले पनि त्यस्ता भिडियो बनाएका भए म्यासेज गरेर डिलिट गर्न सुझाव दिन प्रहरीले सुझाइरहेका छन् । ‘यसले कसैलाई पनि फाइदा हुँदैन । त्यसको इनामको रूपमा रिपोर्ट मिल्छ’, दुबई प्रहरीले अगाडि भनेको छ ।

इजरायल-अमेरिका र इरानबिचको मिसाइल आक्रमणपछि सामाजिक सञ्जालमा अफवाह फैलाउन क्रम बढ्दो क्रममा छ । फेक फोटो तथा भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने क्रम बढेसँगै यूएई, कतार, साउदी अरेबियालगायतका देशले कडाइ गरेका छन् । दुबई प्रहरीले त त्यस्ता फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको खण्डमा रिपोर्ट गर्ने चेतावनी नै दिएको छ ।

युद्ध चर्किरहेका बेला ती देशमा बस्ने नेपालीहरू फोटो-भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने क्रम बढ्दो छ । इरानबाट प्रहार भएको मिसाइल खसेको ठाउँमा जाने र फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

सम्बन्धित देशमा रहेको नेपाली दूतावासले समेत त्यस्तो नगर्न अनुरोध गर्दै आएको छ । तरपनि त्यस्ता खालका घटना बढिरहेकोतर्फ नेपाल सरकारले समेत सचेत गराएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अफवाह फैलाउन तथा गलत फोटो भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले त्यस्ता खालका फोटो भिडियो नखिच्न अनुरोध गरे ।

‘एआईको जमाना छ, कन्टेन्ट क्रिएसनहरू सजिलो हुँदै गएका छन् र अफवाहहरू फैलिन सक्ने प्रबल सम्भावना पनि छ र केही फैलिसकेको अवस्था पनि छ,’ सहसचिव खड्काले भने, ‘हुँदै नभएको कुराहरू देखाइदिने र १७ लाख प्लस नेपालीहरू भएको ठाउँमा कुनै एउटा सानो कुरा हुँदै नभएको कुरा देखिँदा परिवारलाई र समग्र हामी सबैलाई चिन्ता पर्नु स्वाभाविक छ ।’

यस्तो अवस्थामा सत्य तथ्य जानकारी सम्प्रेषण गर्नु अति नै महत्त्वपूर्ण हुने उनले बताए । ती क्षेत्रमा रहेका नेपाली संयमित रहन, सजग रहन र सुरक्षित रहनका लागि उनले अनुरोध गरे ।

‘जुन त्यो फलिङ डेब्रिसको नजिकै गएर अथवा कुनै त्यस्तो संवेदनशील ठाउँमा बाहिर ननिस्कन भनेको ठाउँमा बाहिर निस्केर जोखिम मोलेर कन्टेन्ट क्रिएट गर्नु त्यो निकै जोखिमपूर्ण हुन्छ । यस्ता कुराहरू नगर्नलाई हामी आग्रह गर्दछौँ,’ सहसचिव खड्काले भने ।

सुरक्षित रहनका लागि एड्भाइजरी जारी भएको र त्यसको अक्षरशः पालना गर्न समेत अनुरोध गरे ।

‘संवेदनशील अवस्था छ, घटनाहरू घटिरहेका छन् । अनपेक्षित घटनाहरू समेत घटिरहेका छन् र यस्तो बेलामा सूचना र जानकारीको प्रवाह अति नै महत्त्वपूर्ण हुन्छ,’ सहसचिव खड्काले भने ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?