२० फागुन, कोलोराडो । कोलोराडोवासी नेपालीभाषीले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र असत्यमाथि सत्यको विजय भएको खुसियालीमा एकआपसमा रङ दलेर हर्षोल्लासका साथ होली मनाएका छन् ।
नेपालीहरूको साझा संस्था ‘नेपाली घर’ को आयोजना तथा यहाँस्थित सङ्घ-संस्थाहरूको सहभागितामा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रङ दलेर उनीहरूले होली मनाएका हुन् ।
कार्यक्रमको सुरुमा पण्डित जीवन बराल गुरुले विधिवत् पूजा सम्पन्न गरी होलीको महत्त्वमाथि प्रकाश पारेका थिए। उनले सबैलाई प्रसाद लगाइदिएपछि एकआपसमा रङ लगाउने कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा कोलोराडोमा क्रियाशील सङ्घ-संस्थाका प्रतिनिधि, ‘भ्वाइस अफ नेपाल’ कार्यक्रमका प्रस्तोता सुशील नेपाल, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतिलाई मन पराउने स्थानीय तथा नेपालीभाषीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपालीभाषीहरूले हातमा विभिन्न थरीका रङ लिएर ‘डिजे मणी’ को साङ्गीतिक प्रस्तुतिमा नाच्दै–गाउँदै आ–आफ्ना दौँतरीहरूलाई रङ लगाउन व्यस्त देखिन्थे।
होली गीतको तालमा नाच्दै होली खेलिरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू आफ्नो संस्कृति र चाडपर्वको जगेर्ना गर्न कम्मर कसेर लाग्छन् भन्ने प्रस्ट हुन्थ्यो ।
कार्यक्रममा नेपाली घरका अध्यक्ष वसन्त लम्सालले उपस्थित सबैलाई स्वागत गर्दै हाम्रो भाषा–संस्कृति संरक्षण तथा बालबालिका एवं स्थानीयलाई यसको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउँदा गर्वको महसुस भएको भन्दै कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
नेपालमा फागुन शुक्ल अष्टमीको दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी पारेर सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि विधिवत् रूपमा होली सुरु भएको मानिन्छ । नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ। होली नेपालसँगै भारत, पाकिस्तान, जापान, थाइल्यान्ड, क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशहरूमा भव्यताका साथ मनाइन्छ ।


प्रतिक्रिया 4