+
+
Shares
निर्वाचन २०८२ फिचर :

मन भारी बनाएर मतदान : बिहान दुई पटक रोएर आएँ

‘फरक पृष्ठभूमिमा चुनाव हुँदैछ । यो एक किसिमको बाध्यताको उपज जस्तो देखिन्छ,’ मीनराज ज्ञवालीले चुनावको विश्लेषण गर्दै भने, ‘केहीमा उत्साह छ, तर धेरैमा बाध्यताले मतदान गर्नुपरेको अनुभूति पनि देखिन्छ ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ फागुन २१ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर नगरपालिका-१० बाघभैरव मतदान केन्द्रमा मतदाताले नयाँ जनप्रतिनिधि रोज्ने आशा राखेका छन्।
  • मतदाताले संघीय संरचनाको पूर्ण कार्यान्वयनका लागि कानुन पारित हुनुपर्ने बताएका छन्।
  • मतदानमा सहभागीता कम हुनुको कारण युवा विदेशमा हुनु र मध्यावधि निर्वाचन हुनु रहेको विश्लेषण गरिएको छ।

२१ फागुन, काठमाडौं । प्राचीन मठ–मन्दिर, साँघुरा गल्ली र परम्परागत नेवारी बस्ती । कीर्तिपुर नगरपालिका-१० मा पर्ने बाघभैरव मतदान केन्द्रमा बिहानैदेखि सुस्त-सुस्त मतदाताको आवतजावत छ ।

घडीको सुईले ११ बजेको जनाउ दिइसकेको छ । तर अपेक्षाकृत यहाँ भिड देखिँदैन । उपस्थित केही मतदाता शान्त भई पालो कुरिरहेका छन् । कसैलाई हतारो छैन । तर, यस्तो लाग्छ- मतदाताको मनमा परिवर्तनको छटपटी छ ।

जसमध्ये एक थिइन्– पठुवानानी महर्जन । उनी श्रीमान् धर्म महर्जनसँगै मत हाल्न आएकी छिन् ।

महर्जन दम्पतीले प्रतिनिधिसभामा चुनिने नेतृत्वले परिवर्तन गरोस् भन्ने आशा राखेको छ ।

‘हामी नयाँ खोज्न चाहन्छौं,’ पठुवानानीले भनिन्, ‘पुराना नेताहरूले राम्रो गरेनन् । त्यसैले नयाँ रोज्न चाहन्छौं ।’

२३ र २४ भदौको जेनजी आन्दोलनमा मृत्यु भएका युवा सम्झेर उनी बेलाबेला भक्कानिन्छिन् ।

‘कलिला छोराछोरी मेरेको सम्झिँदा मन भारी हुन्छ । बिहान दुई पटक रोएर आएँ,’ उनले भावुक हुँदै भनिन्, ‘ती नेताहरूको आफ्नै छोरा–छोरी परेको भए के हुन्थ्यो ? उनीहरू चुप लागेर त बस्दैनथे होलान् ।’

पठुवानानीलाई एकचोटी नयाँ जनप्रतिनिधिलाई अवसर दिउँ भन्ने लागेको छ । ‘पुरानालाई भोट दिँदादिँदा वाक्क भइसकियो । केही समस्या समाधान भएन,’ उनी भन्छिन्, ‘गरिबलाई कसैले हेरेको छैन । धनी मान्छे नेताको पछि लागेर चहलपहल गर्छन् । अवसर उनीहरूकै वरिपरि घुम्छ ।’

धर्म महर्जनका अनुसार उनीहरू परिवर्तनका लागि सबै जना एक ठाउँमा उभिनुपर्ने सोचसहित परिवार भित्र सल्लाह गरेरै नयाँ उम्मेदवार रोज्ने निष्कर्षमा पुगेका हुन् ।

ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको कीर्तिपुर राजनीतिक चेतनाको हिसाबले पनि उस्तै सक्रिय मानिन्छ । कीर्तिपुर–१० का मतदाताहरू जनप्रतिनिधिबाट स्पष्ट दृष्टिकोण र नीतिगत परिपक्वता चाहन्छन् ।

त्यसमध्ये एक हुन्, सरलगोपाल महर्जन । ‘मैले त बिहानै भोट हालिसकेँ,’ उनले भने, ‘यहाँ चहलपहल ठिकठाक छ ।’

धर्मका अनुसार कीर्तिपुर सधैं राजनीतिक परिवर्तनको अग्रभागमा उभिएको क्षेत्र हो ।

‘कीर्तिपुरको परिचय नै राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका खेल्ने हो । अहिले जुन ‘पपुलिजम’ को हावा चलिरहेको छ । यहाँका सचेत र विवेकशील मतदाताले त्यस्तो हावालाई परास्त गर्ने छन्,’ गोपाल भन्छन् ।

बाघभैरव क्षेत्रका मतदातासँग कुरा गर्दा स्थानीय विकासभन्दा पनि संघीय संरचना कार्यान्वयनबारे बहस बढी सुनिन्छ ।

महर्जनका अनुसार संघीयता पूर्ण कार्यान्वयन हुन अझै महत्वपूर्ण कानुनहरू पारित हुन बाँकी छन् ।

‘हामी भन्छौं, प्रदेशले काम गरेन, प्रदेश चाहिँदैन । तर प्रदेशलाई बलियो बनाउने संघीय निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन जस्ता कानुनहरू अहिलेसम्म पास गर्न सकेका छैनौं,’ गोपाल भन्छन्, ‘यस्ता ऐनहरू कार्यान्वयन भए मात्र जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउँछन् ।’

गोपालको भनाइमा संघीय संसद्‌को भूमिका समन्वयकारी र नीतिगत हुनुपर्छ । सानातिना विकास र स्थानीय समस्याको समाधान स्थानीय तहले गर्ने, प्रदेशले ठूला योजनामा काम गर्ने र संघीय संसद्‌ले समग्र नीतिगत तथा कानुनी ढाँचा निर्माणमा केन्द्रित हुनुपर्ने उनको तर्क छ ।

यही क्रममा हामीले लाइनमा बसिरहेका मीनराज ज्ञवालीसँग कुराकानी गर्‍यौं ।

‘म अहिले लाइनमा छु । परिवारका केही सदस्यहरू भित्र जानुभएको छ । उहाँहरूको सामान लिएर म यतै बसिरहेको छु,’ उनले भने ।

मतदानको अनुभव उनका लागि नयाँ होइन । मीनराजले २०४८ सालदेखि मतदान गर्दै आएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदै आएका मीनराजलाई यसपालिको चुनाव केही फरक लागेको छ ।

‘फरक पृष्ठभूमिमा चुनाव हुँदैछ । यो एक किसिमको बाध्यताको उपज जस्तो देखिन्छ,’ उनले चुनावको विश्लेषण गर्दै भने, ‘केहीमा उत्साह छ, तर धेरैमा बाध्यताले मतदान गर्नुपरेको अनुभूति पनि देखिन्छ ।’

जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रश्नमा मीनराज भन्छन्, ‘देशलाई हाक्नसक्ने व्यक्तिको खोजीमा छु । जनताको पीरमर्का बुझ्ने र नेपाललाई माया गर्ने मान्छे चाहिन्छ ।’

मीनराजलाई उम्मेदवारहरूको केही घोषणापत्र सकारात्मक सन्देश दिएको छ । तर परम्परागत शैलीले अब काम गर्दैन भन्ने सोचाइमा पुगेका छन् ।

‘व्यक्ति पुरानो वा नयाँ जे भए पनि शैली नयाँ हुनुपर्छ, एजेन्डा स्पष्ट हुनुपर्छ,’ उनी भन्छन् ।

मतदान केन्द्र परिसरमै भेटिए कृष्ण ढुंगाना । शान्त स्वभाव, स्पष्ट विचार बोकेका उनी २०४८ सालदेखि निरन्तर मतदान गर्दै आएका मतदाता हुन् ।

‘भोट हालिसक्नु भयो ? भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘हालेँ, बिहानै ।’

चार दशकभन्दा बढी समयदेखि मतदान प्रक्रियामा सहभागी हुँदै आएका कृष्ण वर्तमान निर्वाचन प्रणालीप्रति भने सन्तुष्ट देखिँदैनन् । उनका अनुसार नेपालले अँगालेको प्रत्यक्ष निर्वाचन प्रणालीले व्यक्ति केन्द्रित राजनीति बढाएको छ ।

‘हामी व्यक्ति चुन्ने पद्धति बोकेर हिँडिरहेका छौं । यो पञ्चायतकालदेखि नै देखिएको संस्कार हो,’ उनी भन्छन्, ‘लोकतन्त्र दलविहीन हुँदैन । त्यसैले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार हो ।’

उनको तर्क स्पष्ट छ, ‘प्रतिनिधिसभा सदस्य विकासका ठेक्का लिन होइन, कानुन बनाउन जाने हो । त्यसैले विचार, सिद्धान्त र व्यवहारमा परिपक्व नेतृत्व चुनिनुपर्छ ।

दिउँसो १२ बज्दासम्मको अवस्थालाई तुलना गर्दा यस पटक मत खस्ने दर अघिल्ला निर्वाचनभन्दा कम देखिएको कृष्णको आकलन छ ।

‘यसअघि यो समयमा धेरै मत खसिसक्थ्यो । खाना खाइसकेपछि त झन् भिड हुन्थ्यो । तर अहिले त्यो चाप देखिएको छैन,’ उनी भन्छन् ।

मतदाता घट्नुका कारणबारे उनले केही सम्भावित कारण औंल्याए :

पहिलो- युवा मतदाताहरू विदेशमा छन् ।

दोस्रो- यो मध्यावधि निर्वाचन हो, असामान्य समयमा भएकाले मानिसहरू किन अर्को भोट दिनु भन्ने भाव आएको हुनसक्छ ।

तेस्रो- एक वर्षअघि मात्र कीर्तिपुरमा उपनिर्वाचन भएको थियो । त्यसैले पटकपटक मतदानप्रतिको मोह अलिकति घटेको हुनसक्छ ।

‘मतदानप्रतिको मोह अलिकति घटेको देखिन्छ,’ कृष्णले भने, ‘तर लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता अनिवार्य छ ।’

त्यही भिडभाडबीच भेटिए कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन । २०४३ सालदेखि निरन्तर मतदान गर्दै आएका उनी यस पटकको निर्वाचनलाई फरक अनुभूतिका रूपमा लिन्छन् ।

अहिले व्याप्त भ्रष्टाचार अन्त्य गर्ने खालको जनप्रतिनिधि चुनियोस्,’ रमेशले भने, ‘ देशलाई समृद्धितर्फ लैजाने नेतृत्व चाहिएको छ ।’

उनका अनुसार, जेनजी आन्दोलनपछिको चुनाव भएकाले जनअपेक्षा उच्च छ । अपेक्षाअनुसार राजनीतिक एजेन्डा त्यही अनुपातमा स्पष्ट हुन नसकेको उनी बताउँछन् ।

रमेशको बुझाइमा संघीय संसद्को मूल दायित्व देशलाई कुन दिशातर्फ लैजाने, कस्ता कानुन बनाउने र सबल राष्ट्र निर्माणका लागि कस्तो नीतिगत संरचना खडा गर्ने भन्ने हो । तर व्यवहारमा भने साना–तिना योजनामै बहस सीमित हुँदै गएको उनी ठान्छन् ।

पूर्वमेयरको हैसियतले स्थानीय र संघीय अधिकार क्षेत्रबीचको सीमारेखा उनले नजिकबाट देखेका छन् । संघीयताको मर्म अझै व्यवहारमा स्थापित हुन नसकेको उनको संकेत थियो ।

यही चहलपहलबीच भेटिइन्, अर्की मतदाता पम्फा लामिछाने । उनी भर्खरै खाना खाएर मतदान गर्न केन्द्रतर्फ पुगेकी थिइन् ।

पहिले भिडभाडमा भोट हालेको उनको अनुभव थियो । तर यस पटक भने माहोल फरक छ ।

‘पहिले पहिले भिडभाड हुन्थ्यो । तर अहिले बाटोमा पनि त्यस्तो भिडभाड देखिएको छैन,’ उनले छोटो जवाफ दिइन् ।

पम्फाको ध्यान भने भिडभन्दा बढी प्रतिनिधिको चरित्र र व्यवहारतर्फ छ ।

‘हामीले चाहेको प्रतिनिधि स्वच्छ छवि भएको, देश र जनताको हितमा काम गर्ने हुनुपर्छ,’ पम्फा सुनाउँछिन् ।

मतदान गरेर पठाएपछि प्रतिनिधिहरूले पुरानै कार्यशैली दोहोर्‍याउने प्रवृत्तिप्रति उनको गुनासो छ ।

अब आउने जनप्रतिनधिले जितेपछि फर्केर आफ्नै क्षेत्रमा आउन्, जनताको सुख–दुःख सुनुन् भन्ने उनले अपेक्षा राखेकी छिन् ।

‘चुनेर पठाएको व्यक्ति हाम्रो अभिभावक हो,’ पम्फा भन्छिन्, ‘टोल–छिमेकमा के भइरहेको छ ? कसलाई के मर्का परेको छ ? बाटो–घाटो कस्तो छ ? यी सबै कुरा बुझ्ने जनप्रतिनिधिको खोजीमा छौं ।’

उनी थप्छिन्, ‘नेताले सधैँ आफ्नै लागि र आफ्ना छोराछोरीका लागि मात्रै हेरेर भएन । हाम्रा छोराछोरी विदेशमा पसिना बगाइरहेका छन् । सबैलाई समान अवसर हुनुपर्छ ।’

चुनावी मैदानमा सबैले ‘हामी राम्रै गर्छौं, हामी तपाईंकै हो’ भन्ने वाचा गर्ने तर जितेपछि व्यवहार नदेखिएको उनले गुनासो गरिन् ।

‘अहिलेसम्म चुनिएकाले नेताले हाम्रो समस्या बुझेनन्, अब आउने नयाँ जनप्रतिनिधिको सोचमा परिवर्तन देख्न चाहन्छौं,’ पम्फा भन्छिन् ।

कीर्तिपुर–१० बाधभैरवको मतदान केन्द्रमा भिड कम देखिए पनि मतदाताको अपेक्षा देशलाई स्थिरता दिने र जनमुखी नेतृत्व खाँचो छ ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–१० बाट विनोद श्रेष्ठ नेकपा एमाले, हिमाल कार्की नेपाली कांग्रेस, रुपा महर्जन नेकपा, प्रदीप विष्ट रास्वपालगायत दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार छन् । यस क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् ।

फोटो र भिडियो : शंकर गिरी ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?