News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं-४ मा पहिलो पटक मतदान गर्ने युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारी सिर्जनामा नयाँ सरकारबाट अपेक्षा राखेका छन्।
- निर्वाचन आयोगको प्राविधिक कमजोरीका कारण बुढानीलकण्ठ–१० का अनुप पोखरेल मतदान गर्नबाट वञ्चित भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा मतदानको दिनको माहोल निकै रोचक देखियो । यो क्षेत्रमा नेपाली कांग्रेसका वर्तमान सभापति गगनकुमार थापाले तीन पटक चुनाव जितेका थिए। तर यस पटक उनी सर्लाही–४ मा सरेपछि कांग्रेसबाट सचिन तिमल्सेना उम्मेदवार छन् ।
यहाँ नेकपा एमालेबाट राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल र अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ । मतदानको दिन स्थानीय मतदाताहरूसँग कुराकानी गर्दा ‘भोट फर चेन्ज’ को नारा प्रमुख रूपमा गुञ्जिएको थियो । मतदानको दिन काठमाडौं–४ को वातावरण शान्तिपूर्ण र उत्साहपूर्ण थियो ।
मतदान केन्द्रहरूमा युवा मतदाताहरूको भीड देखियो, जसले ‘भोट फर चेन्ज’ को नारा लगाइरहेका थिए । पुराना मतदाताहरूले पनि परिवर्तनको आशा व्यक्त गरे । विभिन्न उमेर समूहका मतदाताहरूसँग कुरा गर्दा उनीहरूले यो निर्वाचनलाई ‘परिवर्तनको अवसर’ का रूपमा हेरेको पाइयो ।
धेरै मतदाताले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी सिर्जना, विकास र युवालाई अवसरमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
पहिलो भोटको उत्साह
गोल्फुटारकी २१ वर्षीया अनुष्का घिमिरले आफ्नो पहिलो भोट हाल्दा अलि नर्भस भएको बताइन् । ‘फर्स्ट भोट हो, अलिकति नर्भस थियो,’ उनले भनिन्, ‘तर वातावरण एकदम शान्त र अर्गनाइज्ड थियो ।’
उनले जेनजी आन्दोलनलाई स्मरण गर्दै पुरानो नेतृत्वलाई धेरै अवसर दिइसकेको र अब नयाँलाई चान्स दिनुपर्ने धारणा राखिन् । ‘यत्रो वर्ष केही नभएपछि नयाँलाई हेरौं, राम्रो हुन्छ कि,’ उनले भनिन् । नयाँ सरकारबाट उनले देशको विकास र भ्रष्टाचार अन्त्यको अपेक्षा राखेकी छन् ।
२२ वर्षीया अस्मी ढकालले पनि पहिलो भोट हाल्दा केही असहज महसुस गरिन् । ‘एक भोटले देशको सरकार छान्नमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा पाएपछि धेरै नर्भस थिएँ’ उनले भनिन् । जेनजी आन्दोलनमा लगाएको आउटफिटमै मतदान केन्द्र पुगेकी उनले राम्रो छनोट गरेको आशा व्यक्त गरिन् । उनको सुझाव छ सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र कूटनीतिमा ध्यान दिनुपर्छ । ‘नेपाल सानो राष्ट्र हो, जे छ त्यसलाई राम्रो बनाऔं’ उनले भनिन् ।

कपनकी २० वर्षीया श्रीजना कटवालले आन्दोलनमा हिंसात्मक घटनाको त्रास अझै मनमा रहेको सुनाइन् । ‘अस्ति प्रदर्शनमा नसोचेको कुरा भयो’ ढकालले भनिन्, ‘आज पनि केही होला कि भन्ने डर थियो ।’ मतदानपछि भने खुसी महसुस गरेको उनले बताइन् । उनको अपेक्षा छ अबको नयाँ बन्ने सरकारले युवाहरूलाई रोजगारी, शिक्षा र प्रगतिको अवसर दिनेछन् ।
धुम्बाराहीकी पुजा राना मगरले पनि पहिलो पटक भोट हालेको बताइन् । ‘भोट फर चेन्ज भन्ने सुनेपछि भोटिङ कार्ड बनाएँ’ उनले भनिन्, पहिले त डर पनि लागेको थियो कसरलाई भोट दिने होला भनेर तर पछि धेरै सोच विचार गरेर भोट दिँदा आत्मविश्वास बढ्यो ।’
चुनावपछि देशमा सकारात्मक परिवर्तनको अपेक्षा राखेकी पुजाले । यो चुनावले नेपाल विश्वका १९२ देशसँग प्रतिस्पर्धी बन्न सक्ने बाटो खोलोस् भन्ने उनको चाहना छ ।
पुराना मतदाताहरूको अनुभव
७९ वर्षीय हरिहर पौडेल काठमाडौं–८, बुढानीलकण्ठका पुराना बासिन्दा हुन् । मतदानमा भाग लिएको लामो अनुभव उनीसँग छ । २०३६ सालको जनमत संग्रहमा डडेल्धुरामा क्षेत्र अधिकृत भएर काम गरेका थिए । प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ को चुनावमा पर्सा क्षेत्र नम्बर ३ मा मतदान अधिकृत थिए । २०५२ मा सरकारी सेवाबाट अवकाश पाएपछि भने उनले काठमाडौंबाटै मतदान गर्दै आएका छन् ।
उनले यो निर्वाचनलाई अलि विशेष ठानेका छन् । एक महिनाअघिसम्म पनि आजको दिनमा निर्वाचन हुँदैन होला जस्तो लागेको थियो पौडेललाई । ‘एक महिना, अझ १० अघिसम्म पनि चुनाव हुन्छ भनेर खासै विश्वास लागेको थिएन तर शान्तिपूर्ण तरिकाले चुनाव भयो’ उनी भन्छन् ।
मतदानको माहौल धेरै राम्रो र उत्साहपूर्ण हुनु स्वागतयोग्य र प्रशंसनीय भएको उनले बताए ।
‘भदौ २३–२४ को घटनाले युवा र बुढा दुवैलाई नयाँ सोच लिएर आउनेलाई मौका दिन प्रेरित गरेको छ’ उनले भने ।
उनको सुझाव – सुशासन र भ्रष्टाचार मुक्त सरकार । ‘बिस्तारै परिवर्तन आउँछ, तर दिशा सही हुनुपर्छ’ उनले भने ।
बुढानिलकण्ठ-८ का ७४ वर्षीय कैलाश प्रसाद अर्यालले धेरै निर्वाचन देखेका छन् । संविधानसभा र विभिन्न चुनावमा मत दिएका उनले पुरानोलाई धेरै मौका दिइसकेको बताए । ‘पुरानोलाई हेरिसक्यौं, अब नयाँलाई हेरौं’ उनले भने । यदि नयाँले गरेनन् भने अर्को पटक सचेत गराउन सकिन्छ भन्ने उनको विश्वास छ ।
सरकारबाट भ्रष्टाचार अन्त्यलाई पहिलो प्राथमिकता दिनुपर्ने र विकासका काम अघि बढाउनुपर्ने सुझाव उनको छ । ‘आशा गरेकाहरूले निराश नबनाउन’ अर्याल भन्छन् ।
७० वर्ष नजिककी शान्ती पौडेलले सबैलाई सुख र आनन्द होस् भन्ने आफ्नो चाहना रहेको बताइन् । ‘बुढेसकालमा हामीलाई केही चाहिँदैन, सबै जनताले सुख पाउन्’ उनले भनिन् । शान्तिपूर्ण मतदानपछि नयाँ सरकारले सबैलाई चित्त बुझाउने गरी शासन चलाउनुपर्ने उनको अपेक्षा छ ।
परिवार र समाजको प्रभाव
लामो समयदेखि कुनै एक दलको समर्थममा रहेका रामहरी घिमिरेले यस पटक भोट परिवर्तन गरेको सुनाए । ‘मेरा १०० जना जति परिवारका सदस्य वा नजिकका आफन्तहरूले पहिले मैले भनेकै व्यक्तिलाई मतदात गर्थे तर यसपटक हामी सबैले परिवर्तन रोजेका छौँ’ घिमिरेले सुनाए ।
पुरानाले वर्षौंदेखि अवसर पाए पनि केही नगरेको उनको गुनासो छ । युवा पुस्ताको चाहनाका कारणले बाध्य भएर नयाँलाई मौका दिने निर्णय गरेको उनले बताए ।
अन्जु दाहाल र सृजन गौतम बुढानीलकण्ठ वडा नम्बर १० का मतदाता हुन् ।
उनीहरूले जेन्जी आन्दोलन भदौ २३–२४ गतेको घटना पछि उत्पन्न परिवर्तनको लहरमा प्रभावित भएर भोट फर चेन्ज को पक्षमा मतदान गरेको बताए ।
नयाँ सरकारले पुरानो र युवा दुवैलाई प्राथमिकता दिएर नीति बनाउनुपर्ने उनीहरूको धारणा छ ।
प्राविधिक समस्याले गुमेको मतदाता अधिकार
बुढानीलकण्ठ– १० का अनुप पोखरेल मतदानका लागि योग्य व्यक्ति हुन् । तर, मतदानको दिन निर्वाचन प्रक्रियामा ठूलो समस्या भोगेको उनको गुनासो छ । उनी मतदान गर्न निकै उत्सुक थिए, तर प्राविधिक कमजोरीका कारण भोट नै हाल्न पाएनन् ।
पोखरेलले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत फारम भरेका थिए । वेबसाइटमा ‘सक्सेसफुल’ भनेर देखाएको पनि थियो । तर मतदान केन्द्रमा पुग्दा लिस्टमा नाम भेटिएन ।
निर्वाचन आयोगको प्रविधिक कमजोरीले गर्दा मतदान गर्नबाट वञ्चित हुनुपरेको उनको गुनासो छ ।
उनी भन्छन् ‘यो समस्या मेरो मात्र त हैन होला अरूले पनि यस्तौ समस्या भोगेको हुन सक्छ ।’
आगामी दिनमा यस्तो कमजोरी हुन नदिने निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया 4