२१ फागुन, सुर्खेत । जेनजी विद्रोहपछि भएको निर्वाचन कर्णालीमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अनलाइनखबरको टिम प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न मतदान केन्द्र पुग्दा मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भएका थिए ।
बिहान ११ बजे वीरेन्द्रनगर- १० को मंगलगढी विद्यालयमा रहेको मतदान केन्द्रमा पुग्दा चर्को घाममा पनि मतदाताको बाक्लो उपस्थिति थियो । पुरुषको लाइनमा तीन-चार जना थिए । तर महिलाको लाइन भने विद्यालय अगाडिको मुख्य सडकसम्मै थियो ।
त्यहीँ भीडमा थिइन्, ममता नगाल (५२) । उनले एक घण्टाको लाइन पार गरेपछि मतदाता गरेर आएको बताइन् । ‘महिलाको लाइन यति लामो किन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भनिन्- चुलोबाट बल्ल छुट्टी मिल्यो महिलालाई । पुरुषहरू सबै बिहानै भोट हालेर गए ।
ममतालाई यो पटकको चुनावले २०६४ को झल्को दिइरहेको छ । उनका अनुसार त्यो बेला माओवादी १० वर्षे द्वन्द्वबाट शान्ति प्रक्रियामा आएर चुनावमा होमिएको थियो । माओवादी नयाँ भएकाले धेरैमा छुट्टै आशा, केही विश्वास र अब देश भन्छ भन्ने एक खालको भरोसा थियो ।
‘त्यो बेला माओवादीको नाम उच्चारण नगर्नेहरूले पनि माओवादीलाई भोट हाले । कारण थियो, पुरानाप्रतिको वितृष्णा र देशमा केही हुन्छ भन्ने आस’, उनले भनिन्, ‘यो चुनावमा पनि धेरैमा त्यस्तै उत्साह र आशा देखेँ ।’

दिउँसो १ बजे वीरेन्द्रनगर–७, को श्रीकृष्ण साधारण माविको मतदान केन्द्रमा पुग्दा त्यहाँ पनि मतदाताको बाक्लो भीड थियो । त्यही भीडमा रहेकी २० वर्षीया सीमा ढकाल पहिलो पटक मतदान गरेकामा खुसी देखिन्थिन् । भोट हाल्नकै लागि काठमाडौंबाट आएको उनले बताइन् ।
‘मतदान गर्न एकदमै उत्साहित छु । मेरो भेट, मेरो भविष्य र परिवर्तनका लागि दिएको छु’, बुढी औँलाको रंग देखाउँदै उनले भनिन्,को कालो रेखा देखाउँदै उनले भनिन् । नयाँले केही गर्न सक्छन् भन्ने बुझाइ उनमा देखिएन । ‘नयाँले मात्रै देश बनाउँछन् भन्ने भ्रम छैन । राम्रा उम्मेदवार हेरेर भोट हालेँ’, उनले भनिन् । अब जसको सरकार बने पनि विगतका गल्ती नगरुन् भन्ने उनको अपेक्षा छ ।

सोही मतदान केन्द्रमा भेटिएका वीरेन्द्रनगर–७ कै महेश सापकोटा भने विगतभन्दा यो निर्वाचनमा केही फरक अनुभूति रहेको सुनाउँछन् । ‘मैले पाँच पटक भोट हालिसके । यस पटक जस्तो उत्साहित मतदाता मैले यो भन्दा अगाडि देखेको थिइनँ,’ उनले भने ।
वीरेन्द्रनगर–४ को भैरवस्थान माविको मतदान केन्द्रमा मतदान गरेकी प्रतिमा मल्लले सुधारको अपेक्षाका साथ भोट हालेको सुनाइन् । ‘विगतमा पाँच वर्षमा चुनाव आउँथ्यो । उम्मेदवार उनै हुन्थे । यस पटकको चुनावमा केही नयाँ अनुहार पनि देखिए । नयाँ अनुहारमा नयाँ आशा पनि देखेकी छु,’ उनले भनिन् ।

‘सन्ततिका लागि भोट हालेँ’
जेनजी पुस्ताले ‘मेरो भोट मेरा लागि’ भन्दै निर्वाचनमा मतदान गर्दा हजुरबा–हजुरआमा पुस्ताहरू पनि युवा पुस्ताकै लागि मतदान गरेको बताउनेहरू भेटिए । वीरेन्द्रनगर–७ इत्राममा ९३ वर्षीय शान्तिदेवी कोइराला नातिनीसँगै गफिँदै उनले उनकै लागि मत दिएको बताइरहेकी थिइन् ।
‘म त राणा शासनकालको मान्छे हुँ । पहिलेको भन्दा अहिले धेरै राम्रो भएको छ । अझ राम्रो होस् भनेर भोट हाल्न आएँ’, उनले भनिन् ।
उनलाई भदौ २३ र २४ को जेनजी आन्दोलनबारे जानकारी छैन । तर राणा शासनविरुद्धको आन्दोलन, ०४६ साल र ०६२/०६३ को आन्दोलनबारे राम्रोसँग थाहा छ । ‘हिजो परिवर्तनका लागि लडेर आएकाहरूले राम्रो काम गर्न सकेनन् । अब आउनेले देशको अवस्था फेर्ने आशा छ,’ कोइरालाले भनिन् ।

वीरेन्द्रनगर–१० की खगिसरा रोकाय (७०) पनि नाति–नातिनी पुस्ताले आफूले जस्तो दुःख नपाउन भनेर मतदान गर्न आएको बताइन् । घुस्रा स्कुलमा रहेको मतदान केन्द्रमा ५ औँ पटक मतदान गरेकी उनले यो पटक परिवर्तनको पक्षमा भोट हालेको बताइन् । ‘स्कुले केटाकेटीले गोली खाए । हामीले अहिलेसम्म नेताको आश्वासन मात्रै पायौँ । अब त्यसो नहोस् भनेर भोट हालेँ,’ उनले भनिन् ।
६० वर्षीय खगिसरा बुढालाई अब कुनै नेता प्रति विश्वास छैन । सबै निर्वाचनमा जिताएर पठाएका नेताहरूले बेवास्ता गरेको उनको गुनासो छ । ‘नेताहरूबाट धेरै केही अपेक्षा छैन । नेताहरूले काम गर्लान् भन्ने विश्वास नै लाग्न छाडिसक्यो’, उनले भनिन्, ‘अब हाम्रा नातिनातिनाले सुख पाउन । देशभित्र रोजगारी मिलोस् ।’
प्रतिक्रिया 4