+
टी-२० विश्वकप २०२६ :

बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डको हार, भारत फाइनलमा

२०८२ फागुन  २१ गते २३:१७ २०८२ फागुन २१ गते २३:१७
बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डको हार, भारत फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
  • ज्याकब बेथेलले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रन बनाए पनि इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो।
  • भारतले अब आइतबार न्युजिल्यान्डसँग अहमदाबादमा फाइनल खेल्नेछ।

२१ फागुन, काठमाडौं । ज्याकब बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो ।

अन्तिम १८ बलमा ४५ रन आवश्यक छँदा १७औं ओभरमा जसप्रित बुमराहले ६ रन मात्र दिए । १९औं ओभरमा हार्दिक पान्ड्याले साम करानलाई आउट गर्दै ९ रन मात्र दिएपछि इंग्ल्यान्डलाई ६ बलमा ३० रन आवश्यक थियो ।

शिवम दुबेको अन्तिम ओभरको पहिलो बलमा २ रन लिने क्रममा बेथेल रनआउट भएपछि आएका जोफ्रा आर्चरले ३ छक्का प्रहार गरेपनि पर्याप्त भएन ।

बेथेलले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रनको शानदार इनिङ खेले । सुरुवातदेखि विकेट गुमाएर दबाबमा देखिएको इंग्ल्यान्डका लागि उनले जितको सम्भावना कायमै राखेका थिए ।

बेथेलले विल ज्याक्ससँग मिलेर पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । ज्याक्सले २० बलमा ३५ रन बनाए । जस बट्लरले २७ रन बनाए ।

भारतका लागि अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल, हार्दिक पान्ड्या र शिवम दुबेले एक-एक विकेट प्राप्त गरे ।…

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रन बनाए । शिवम दुबेले २५ बलमा ४३ रन, इशान किशनले १८ बलमा ३९ रन, हार्दिक पान्ड्याले २७ तथा तिलक वर्माले २१ रन बनाए ।

इंग्ल्यान्डका विल ज्याक्स र आदिल राशिदले दुई-दुई विकेट लिँदा जोफ्रा आर्चरले एक विकेट लिए ।

भारतले अब उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय