+
+
Shares

संसदीय निर्वाचनमा महिला : तथ्यांकले बोल्छ दलका अनुदार चरित्र

कुल मतदातामध्ये झन्डै आधा हिस्सा ओगट्ने महिलालाई प्रत्यक्षतर्फ टिकट दिने मामिलामा भने दलहरूले सधैँ उपेक्षा गर्दै आएका छन् । २०१५ सालदेखि हालसम्मका ८ वटा आम निर्वाचनको तथ्यांकले पितृसत्तात्मक राजनीतिको ऐना देखाउँदै महिलालाई कसरी ‘ब्याकबेन्च’ मै सीमित राखिएको छ भन्ने तितो यथार्थ स्पष्ट हुन्छ ।

केशव सावद केशव सावद
२०८२ फागुन २४ गते १८:४६

२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि २१ फागुनमा देशभर एकसाथ शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । जारी मतगणनाको रुझानअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक ठूलो दल बन्दै दुई तिहाइ मतउन्मुख छ ।

निर्वाचन आयोगका अनुसार, यसपालि २० फागुनसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ रहेको थियो । जसमध्ये ९२ लाख ४० हजार १३१ महिला मतदाता थिए । यो कुल मतदाता संख्याको झण्डै ४९ प्रतिशत हुन आउँछ ।

सामान्यतया मतदाताकै अनुपातमा उम्मेदवारी हुनपर्ने हो । तर, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको महिला उम्मेदवारको संख्या उदेकलाग्दो देखिन्छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रहेका तीन हजार ४०६ कुल उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या मात्र ३८८ छ । यसमा पनि स्वतन्त्र उम्मेदवारकै संख्या १५७ छ ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये ११ स्थानमा मात्रै महिलालाई उम्मेदवार बनाएको थियो । बाँकी १५४ क्षेत्रमा कांग्रेसबाट पुरूष उम्मेदवार उठाइएको थियो ।

दोस्रो ठूलो दल नेकपा एमालेले १०, तेस्रो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीले ११ र वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले १६ जना महिलालाई मात्रै उम्मेदवारका रूपमा अघि सारेको थियो ।

जसमध्ये  नेपाली कांग्रेसबाट मात्र एक जना बासना थापा दैलेख–१ बाट निर्वाचित भएकी छन् । यस्तै रास्वपाबाट १३ जना महिला उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । एमाले, माओवादीले उम्मेदवार बनाएका र स्वतन्त्र उम्मेदवारी दिएका महिला उम्मेवारहरू मध्ये कोही पनि संसदीय यात्रा तय गर्न सफल देखिएका छैनन् ।

नेपालको संसदीय निर्वाचनको इतिहास हेर्दा हालसम्म आठवटा निर्वाचन सम्पन्न भइसकेका छन् । ती निर्वाचनहरूमा पनि उम्मेदवार बन्ने र निर्वाचित हुने महिलाको संख्या न्यून देखिन्छ ।

पहिलो आमनिर्वाचन : ७ उम्मेदवार, एकमात्र विजयी 

पहिलो आमनिर्वाचन (२०१५ साल) मा दलीय र स्वतन्त्र गरी सात जना महिला उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये दुई जना दलनिकट र पाँच स्वतन्त्र उम्मेदवार थिए । उनीहरूमध्ये एकजना मात्रै निर्वाचित भएकी थिइन् ।

दुईतिहाइ बहुमत प्राप्त गरेको उक्त निर्वाचनमा कांग्रेसले द्वारिकादेवी ठकुरानीलाई मात्र उम्मेदवार बनाएको थियो । उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट निर्वाचित भएकी थिइन् ।

ठकुरानी नेपालकी प्रथम महिला मन्त्री हुन् । उनलाई पहिलो जननिर्वाचित मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनाइएको थियो ।

पहिलो आमनिर्वाचनमा १०९ वटा संसदीय स्थानका लागि मतदान भएको थियो । आमनिर्वाचनमा कुल मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो । आमनिर्वाचनमा नौ वटा राजनीतिक दलका ५१८ र स्वतन्त्र २६८ जना गरी ७८६ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।

उक्त निर्वाचनमा २५ वर्ष उमेर पुगेको नेपाली नागरिक उम्मेदवारका लागि र २१ वर्ष उमेर पुगेको नागरिक मतदानका लागि योग्य मानिएको थियो । आमनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद पाँच हजार रुपैयाँ तोकिएको थियो ।

आमनिर्वाचन २०४८ : ८० उम्मेदवारमध्ये ८ महिला नेतृ निर्वाचित

प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो आमनिर्वाचन (२०४८ साल) मा दलीय र स्वतन्त्र गरी ८० जना महिला उम्मेदवार थिए । तीमध्ये आठ जनामात्रै निर्वाचित भएका थिए ।

आमनिर्वाचन २०४८ मा कुल एक हजार ३४५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए । जसमध्ये ११२६ पार्टीगत र २१९ स्वतन्त्र उम्मेदवार मध्ये २०५ जना निर्वाचित भएका थिए । २०४८ सालमा मतदाताको संख्या १ करोड ११ लाख ९१ हजार ७७७ थियो ।

२०५१ को मध्यावधिमा ८६ महिला उम्मेदवार

मध्यावधि निर्वाचन २०५१ मा ८६ मा महिलाहरू उम्मेदवार थिए । जसमध्ये सात जना निर्वाचित भएका थिए ।

३१ वर्षअघि सम्पन्न मध्यावधि निर्वाचनमा कांग्रेस र एमालेले ११–११ महिला उम्मेदवारहरू खडा गरेका थिए । जसमध्ये कांग्रेसका चार र एमालेका तीन  महिला सांसद निर्वाचित भएका थिए ।

राप्रपाबाट १३, सद्भावनाबाट ९, राष्ट्रिय जनमुक्ति पार्टी र संयुक्त जनमोर्चाबाट समान ६/६, नेमकिपा र राष्ट्रिय जनता परिषद्बाट ४/४ जना महिला उम्मेदवार थिए ।

नेकपा मार्क्सवादी र नेपा संयुक्तले ३/३ जना, जनवादी मोर्चाले २, युनाइटेड पिपुल्स पार्टी र राष्ट्रिय जनता पार्टीले १/१ जना महिला उम्मेदवार उठाउँदा १२ जना महिला स्वतन्त्र उम्मेदवार थिए ।

आमनिर्वाचन २०५६ : १४२ उम्मेदवारमध्ये १२ जना निर्वाचित 

आमनिर्वाचन २०५६ मा दलीय र स्वतन्त्र गरी १४२ महिला उम्मेदवार थिए । जसमध्ये २६ जना स्वतन्त्र थिए । यो निर्वाचनमा १२ जना महिला उम्मेदवारले संसदीय यात्रा तय गरेका थिए ।

उक्त आमनिर्वाचनमा ६३३ स्वतन्त्रसहित जम्मा दुई हजार २३८ जना उम्मेदवार थिए । आमनिर्वाचनमा ६६ लाख ५९ हजार महिला मतदाता थिए । निर्वाचन आयोगका अनुसार कुल मतदाताको संख्या एक करोड ३५ लाख १८ हजार ८३९ थियो ।

संविधानसभा निर्वाचन २०६४ : ३६३ महिला उम्मेदवार, ३० विजयी  

आमनिर्वाचन २०५६ सालपछि २०६४ सालमा निर्वाचन भएको थियो । संविधानसभाका लागि सम्पन्न उक्त निर्वाचनमा ३६३ महिला उम्मेदवार थिए । जसमध्ये ३० जना विजयी भएका थिए ।

संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेकपा (माओवादी) ले ४२, कांग्रेसले २६, एमालेले २७, मधेशी जनअधिकार फोरम नेपालले तीन, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले चार महिला नेतृलाई उम्मेदवार बनाएका थिए ।

यस्तै सद्भावना पार्टीले चार, जनमोर्चा नेपालले २८, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २७ र राष्ट्रिय जनमोर्चाले १५ जना महिला उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उतारेका थिए ।

प्रत्यक्षतर्फ कुनै पनि सिट नजितेका राप्रपाले २२, नेकपा मालेले ११, राष्ट्रिय जनशक्ति पार्टीले १४, राप्रपा नेपालले आठ उम्मेदवारहरू उठाएको थियो । स्वतन्त्रतर्फ ८१६ जना उम्मेदवारहरू थिए । जसमध्ये ७७४ पुरूष र ४२ जना महिला थिए ।

संविधानसभा निर्वाचन २०६४ मा कुल मतदाता संख्या एक करोड ६७ लाख ११ हजार ८३२ थियो । जसमध्ये ८१ लाख ३२ हजार ७३२ महिला मतदाता थिए ।

माओवादीलाई १२० सिट

संविधानसभा निर्वाचन २०६४ मा सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको माओवादीले प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा विजयको झण्डा फहराएको थियो । निर्वाचनबाट जित निकालेर माओवादीका तर्फबाट ९७ जना पुरूष र २३ जना महिलालाई उम्मेदवारहरूले संसदीय यात्रा तय गरेका थिए ।

अघिल्लो निर्वाचन (२०५६) मा सुविधाजनक बहुमत (२०५ मा १११ सिट) ल्याएको कांग्रेस संविधानसभा निर्वाचनमा ३७ सिटमा समेटिएको थियो । कांग्रेसका तर्फबाट ३५ पुरूष र दुई महिला उम्मेदवारमात्रै निर्वाचित भएका थिए ।

तेस्रो भएको एमालेले ३३ सिट ल्याएको थियो । एमालेका ३२ पुरूष र एक महिला उम्मेदवार विजयी भएका थिए । आमनिर्वाचन २०५६ मा एमालेले २०५ मध्ये ७१ सिट जितेको थियो ।

मधेशी जनअधिकार फोरम, नेपालका २८ पुरूष र दुई महिला गरी ३० तथा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का आठ पुरूष र एक महिला गरी नौ उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै सद्भावना पार्टीबाट चार (पुरूष), जनमोर्चा नेपालका दुई (पुरूष), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई (पुरूष), राष्ट्रिय जनमोर्चाका एक (पुरूष) र स्वतन्त्रतर्फ दुई जना पुरूष उम्मेदवार निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा २०७० : इतिहासकै सर्वाधिक महिला उम्मेदवार

२०७० को संविधानसभा निर्वाचनमा नेपालको संसदीय निर्वाचनको इतिहासमै सबैभन्दा धेरै महिला उम्मेदवारहरू थिए । यो निर्वाचनमा ६६७ महिला उम्मेदवारहरूले चुनावी प्रतिष्पर्धा गरेका थिए । तर, तीमध्ये १० जनामात्रै निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट छ, एमालेका तीन र माओवादीका एक महिला उम्मेदवार विजयी भएका थिए ।

कांग्रेसका तर्फबाट सिराहा–३ मा सीतादेवी यादव, महोत्तरी–२ मा किरण यादव, कास्की–२ मा शारदा पौडेल, बागलुङ–३ मा ज्ञानकुमारी छन्त्याल, दाङ–१ मा पार्वता डिसी चौधरी र दाङ–२ मा सुशीला चौधरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगका अनुसार, एमालेबाट उदयपुर–२ मा मञ्जुकमारी चौधरी, बारा–४ मा नजमा खातुन र कास्की–४ सीता गिरी (ओली) तथा माओवादीबाट रोल्पा–२ मा ओनसरी घर्ती विजयी भएका थिए ।

प्रत्यक्षतर्फ कांग्रेस २४० मध्ये १०५ स्थानमा विजयी भएको थियो । कांग्रेसबाट ९९ पुरूष र ६ महिला उम्मेदवारहरू निर्वाचित भएका थिए । कांग्रेसले २१५ पुरूष र २५ महिला उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको थियो ।

दोस्रो भएको एमाले ९१ क्षेत्रमा निर्वाचित भएको थियो । जसमध्ये ८८ पुरूष र ३ महिला उम्मेदवाहरू थिए । निर्वाचन आयोगले प्रकाशित गरेको ‘पहिलो हुने निर्वाचति हुने निर्वाचनको परिणाम पुस्तिका’ का अनुसार एमालेले २१४ पुरूष र २६ महिला उम्मेदवारहरू उठाएको थियो ।

उक्त निर्वाचनमा एकीकृत नेकपा माओवादी २६ स्थानमा समेटिएका थियो । माओवादीका तर्फबाट २५ पुरूष र एक महिला उम्मेदवारमात्रै विजयी भए । माओवादीले २१४ पुरूष र २६ महिला उम्मेदवारहरू खडा गरेको थियो ।

संविधनासभा निर्वाचन २०७० मा मतदाताको संख्या एक करोड २१ लाख ४७ हजार ८५६ थियो । जसमध्ये ८०.४८ प्रतिशत अर्थात् ९७ लाख ७६ हजार ७०३ खसेको थियो । खसेको मध्ये ३.२० अर्थात् तीन लाख १२ हजार ८४१ मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

प्रतिनिधिसभा निर्वाचन २०७४ : १४६ मध्ये ६ महिला विजयी

संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । यो निर्वाचनमा दलीय र स्वतन्त्र गरी १४६ जना महिला उम्मेदवार थिए । जसमध्ये छ जना निर्वाचित भएका थिए ।

२०७४ सालमा पहिलोपटक प्रतिनिधिसभा र प्रदेश सभाको चुनावसँगै मुलुक औपचारिक रूपमा संघीय संरचनामा प्रवेश गरेको थियो । २०७४ सालमा मंसिर १० र २१ मा गरी दुई चरणमा निर्वाचन सम्पन्न गरिएको थियो ।

हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा बाँकी ४५ जिल्लामा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार, २०७४ को निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए । जसमध्ये ७७ लाख ७६ हजार ६२८ पुरूष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिङ्गी थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ : २२७ महिला उम्मेदवार 

प्रतिनिधिसभा निर्वाचन २०७९ मा २२७ महिला उम्मेदवारहरू उठेका थिए । जसमध्ये नौ जना निर्वाचित भएका थिए ।

४ मंसिर २०७९ मा सम्पन्न भएको निर्वाचनमा कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० जना सदस्यहरू चुनिएका थिए ।

निर्वाचन आयोगका अनुसार, यो निर्वाचनमा एमालेबाट चार, रास्वपाबाट दुई, तथा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक महिला उम्मेदवार निर्वाचित भएका थिए ।

एमालेबाट जुलीकुमारी महतो, विद्या भट्टराई, ज्वाला कुमारी साह र भगवती चौधरी निर्वाचित भएका हुन् । रास्वपाबाट सोविता गौतम र डा. तोसिमा कार्की विजयी भएका थिए ।

कांग्रेसबाट सीता गुरुङ तेह्रथुमबाट निर्वाचित भएकी थिइन् भने माओवादी केन्द्रकी रेखा शर्माले दाङ–२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी कैलाली–१ बाट निर्वाचित भएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कुल मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ थियो । जसमध्ये ९२ लाख ४० हजार १३१ महिला मतदाता थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?