२५ फागुन, डोटी । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेका १२ पूर्वमन्त्री जनताबाट अस्वीकृत भएका छन् ।
फागुन २१ को निर्वाचनमा विभिन्न राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका व्यक्तिहरुलाई उम्मेदवार वनाएको थियो ।
नेकपाले अछाम क्षेत्र–१ बाट डा. भीमबहादुर रावललाई उम्मेदवार बनाएको थियो । पटक पटक संघीय मन्त्री भइसकेका रावललाई यसपटक भने जनताले विश्वास गरेनन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रावललाई नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले ५ सय २६ मतले पछि पारे । स्वारले १० हजार ७ सय ५९ मत पाउँदा रावलले १० हजार २ सय ३३ मै चित्त बुझाउनु पर्यो ।
नेकपाबाटै डोटीमा उम्मेदवार वनेका अर्का ‘हेभीवेट’ सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट पनि चुनावी लडाइँमा पछाडि परे । लगातार पाँच वर्ष मुख्यमन्त्री हुने अवसर पाएका भट्टले चुनावमा भने चौथो स्थान पाए । उनले जम्मा ५ हजार ४ सय १३ मत मात्रै पाए । सो क्षेत्रमा नेपाली कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भए ।
नेकपाबाटै कैलाली ५ मा उम्मेदवार बनेका संघीय सरकारका पूर्वमन्त्री प्रेमबहादुर आलेको संसदीय यात्रामा पनि ब्रेक लागेको छ । २०७० सालको संविधानसभाको निर्वाचनदेखि डोटीबाट लगातार जित्दै आएका आलेले यसपटक क्षेत्र परिवर्तन गरेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्दले रोके । पूर्व पर्यटन मन्त्री आले चन्दका प्रमुख प्रतिस्पर्धी पनि हुन सकेनन् । उनले ७ हजार ८ सय ७६ मत प्राप्त गरी तेश्रो स्थानमा चित्त बुझाउनु पर्यो । रास्वपाका चन्दले ३१ हजार ९ सय ५३ मत पाएका थिए ।
नेकपाबाटै उम्मेदवार बनेकी संघीय सरकारका अर्का पूर्वमन्त्री बिना मगर पनि पराजित भइन् । कञ्चनपुर क्षेत्र–१ मा प्रतिस्पर्धा गरेकी पूर्व खानेपानी मन्त्री मगरलाई रास्वपाका जनक सिंह धामीले रोके । धामीले २४ हजार ३ सय ३२ मत प्राप्त गरी जित हात पार्दा मगरले ११ हजार १ सय १० मतमै चित्त बुझाउनु पर्यो ।
चुनावी प्रतिस्पर्धामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका अर्का पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई पनि यो चुनाव फापेन । शाहलाई नेकपाले बाजुराबाट चुनावी मैदानमा उतारेको थियो । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १ सय ७३ मत पाई विजयी हुँदा शाहले ३ हजार ३ सय १ मत मात्र पाएर चौथो स्थानमा खुम्चिनु पर्यो ।
नेकपाबाटै कञ्चनपुर–३ मा उम्मेदवार बनेका प्रदेश पूर्वमन्त्री मानबहादुर सुनारलाई पनि जनताले पत्याएनन् । रास्वपाका ज्ञानेन्द्र सिंह महताले २७ हजार १ सय १८ मत प्राप्त गरी जित हात पार्दा सुनार प्रमुख प्रतिस्पर्धी समेत हुन सकेनन् । उनी ४ हजार २ सय ८४ मत प्राप्त गरी चौथो भए ।
नेकपा (एमाले) बाट कैलाली क्षेत्र–४ मा उम्मेदवार बनेका पूर्वमन्त्री लेखराज भट्ट पनि नराम्रोसँग पछारिए । एमाले उपमहासचिव समेत रहेका भट्ट ९ हजार ४ सय ४४ मत पाई प्रतिस्पर्धामा तेश्रो भए । सो क्षेत्रबाट रास्वपाका खेमराज कोइराला २८ हजार ५ सय ५६ मतका साथ विजयी भए ।
एमालेबाटै बैतडीमा उम्मेदवार बनेका दामोदर भण्डारी सघीय सरकारका पूर्वमन्त्री हुन् । उनलाई पनि यो चुनावी प्रतिस्पर्धाले निराश बनायो । सो क्षेत्रबाट रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले २२ हजार एक सय ३४ मत पाई विजयी हुँदा पूर्व उद्योगमन्त्री दामोदरले १७ हजार ९१ मतमै चित्त बुझाउनु पर्यो । उनी पनि प्रतिस्पर्धामा तेश्रो स्थानमा देखिए ।
कैलाली–३ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका पूर्वमन्त्री गौरीशंकर चौधरीलाई पनि फापेन यो चुनाव । एमालेबाटै उम्मेदवार बनेका चौधरी पाँचौ स्थानमा रोकिए । सो क्षेत्रबाट रास्वपाका जगतप्रसाद जोशीले २० हजार ३ सय ५९ मत पाइ विजयी हुँदा चौधरी ४ हजार ७ सय ५२ मतमै समेटिए ।
कञ्चनपुर क्षेत्र–१ बाट चुनावी प्रतिस्पर्धामा रहेका प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ पनि यस पटक चुनावी दौडमा पछि परे । एमालेबाट उम्मेदवार बनेका तामाङले चौथो स्थानमा चित्त बुझाउनु पर्यो । तामाङको पक्षमा ८ हजार ८८ मत पर्यो ।
नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र–२ मा पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उम्मेदवार बनाएको थियो । संघीय सरकारमा पटकपटक मन्त्री भइसकेका साउदलाई पनि यो चुनाव फलिफाप भएन । उनलाई रास्वपाका दीपक राज बोहराले फराकिलो मतान्तरले हराए । बोहराले ३३ हजार ९ सय ५२ मत पाउँदा साउदले जम्मा १० हजार ८ सय २७ मतमै चित्त बुझाउनु पर्यो ।
कांग्रेसबाटै कैलाली–१ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका अर्का पूर्वमन्त्री जनकराज चौधरीका लागि पनि यो चुनाव नमिठो भयो । रास्वपाका कोमल ज्ञवालीले १७ हजार ८ सय २६ मत पाएर विजयी हुँदा चौधरीले १२ हजार ८ सय ६७ मतमै चित्त बुझाउनु पर्यो ।
यी दुई पूर्वमन्त्रीले चुनाव जिते
सुदूरपश्चिमबाट १२ पूर्वमन्त्रीहरु चुनाव हार्दा दुई पूर्वमन्त्रीहरुले भने सफलता पाएका छन् ।
नेकपा एमालेबाट दार्चुलामा उम्मेदवार भएका संघीय सरकारका पूर्वमन्त्री गणेशबहादुर ठगुन्ना १८ हजार ८ सय ९१ मत पाई विजयी भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत पाएका छन् ।
यस्तै, अर्का पूर्वमन्त्री जनकराज गिरीले बाजुराबाट चुनाव जितेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका गिरी १७ हजार १ सय ७३ मत पाई विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मतमै चित्त बुझाउनु पर्यो ।
प्रतिक्रिया 4