News Summary
Generated by OK AI. Editorially reviewed.- लस एन्जलसमा पपस्टार रिहानाको घरमा आइतबार दिउँसो १ः१५ बजे सात राउन्ड गोली प्रहार भएको छ।
- प्रहरीले एक ३० वर्ष आसपासकी महिलालाई नियन्त्रणमा लिएको छ, जसले गोली प्रहार गरेकी थिइन्।
- घटनामा कोही घाइते नभएको र रिहाना घरभित्रै रहेको प्रहरीले जनाएको छ।
लस एन्जलस (बीबीसी । पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
लस एन्जलस प्रहरी विभागका अधिकारीहरू आइतबार स्थानीय समय अनुसार दिउँसो १ः१५ बजे गोली चलेको खबर पाएपछि घटनास्थल पुगेका थिए । प्रहरीले एक संदिग्ध व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।
एक प्रहरी अधिकारीले बीबीसीका अमेरिकी साझेदार सिबिएस न्यूजलाई दिएको जानकारी अनुसार निशाना बनाइएको घर रिहानाकै रहेको पुष्टि भएको छ । घटनास्थलबाट आक्रमणकारी राइफलका गोलीका खोका पनि बरामद गरिएको बताइएको छ ।
यस घटनामा कोही पनि घाइते भएका छैनन् । लस एन्जलस टाइम्सका अनुसार गोली चल्दा रिहाना भने घरभित्रै रहेको कानुन कार्यान्वयन निकायका एक स्रोतले बताएका छन् । प्रहरीका अनुसार ३० वर्ष आसपासकी एक महिलाले कार रोकेर घर बाहिरबाट सात राउन्ड गोली प्रहार गरेकी थिइन् र त्यसपछि तीव्र गतिमा त्यहाँबाट भागेकी थिइन् ।
उनको गाडी गायिकाको घरबाट करिब आठ माइल (१२ किलोमिटर) टाढा फेला परेको थियो, जहाँबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको पहिचान भने अझै सार्वजनिक गरिएको छैन ।
गत सेप्टेम्बरमा रिहानाले आफ्ना पार्टनर एसेप रकीसँग तेस्रो सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी थिइन् । रिहाना र रकीका यसअघि रियट र आरजेडए नामका दुई छोरा छन् । गत वर्षको मेट गालामा रिहानाले आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् ।
सन् २०२५ को फेब्रुअरीमा एसेप रकीमाथि पूर्व साथीमाथि गोली चलाएको आरोपमा चलेको मुद्दामा अदालतले उनलाई निर्दोष ठहर गरेको थियो । उक्त सुनुवाइका क्रममा रिहाना आफ्ना दुई छोरालाई समेत अदालतमा लिएर पुगेकी थिइन् ।
बार्बाडोसमा जन्मिएकी रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । उनले सन् २००० को दशकको सुरुवातमा ‘पोन डे रिप्ले’ र ‘अम्ब्रेला’ जस्ता गीतमार्फत अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन् । हालै उनले आफ्नो पहिलो एल्बम सार्वजनिक भएको २० वर्षको वर्षगाँठ पनि मनाएकी छन् ।
यसबीच रिहानाले संगीतसँगै विभिन्न व्यवसाय पनि सुरु गरेकी छन् । उनले लोकप्रिय मेकअप ब्रान्ड ‘फेन्टी ब्यूटी’ तथा अन्तर्वस्त्र कम्पनी समेत सञ्चालन गर्दै आएकी छन् । फोर्ब्सका अनुसार ३७ वर्षीया रिहानाको कुल सम्पत्ति एक अर्ब डलरभन्दा बढी रहेको अनुमान गरिएको छ । यस घटनाबारे प्रतिक्रिया लिन बीबीसीले रिहानाका प्रतिनिधिसँग सम्पर्क गरेको जनाएको छ ।
प्रतिक्रिया 4