News Summary
Generated by OK AI. Editorially reviewed.- राप्ती लोकमार्गको राम्री–हर्नेटी खण्डमा सडक स्तरोन्नति तथा कालोपत्र निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
- निर्माण कम्पनीले २०८४ जेठ ४ गतेसम्म काम सक्ने लक्ष्य राखेको छ र हाल सडक चौडा पार्ने काम ९० प्रतिशत सकिएको छ।
- सल्यानबाट निर्वाचित सांसद रमेशकुमार मल्लले निर्माण स्थल अनुगमन गरी गुणस्तर र छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
२८ फागुन, सल्यान । सल्यानसहित पश्चिम रोल्पा, पूर्वी र पश्चिम रुकुमलाई जोड्ने महत्वपूर्ण सडक राप्ती लोकमार्ग जीर्ण बनेको छ ।
दशकअघि ओटासिल प्रविधिबाट कालोपत्र गरिएको यो सडक निर्माण भएको केही समयमै बिग्रिन थालेपछि दाङको तुलसीपुरदेखि रुकुमपश्चिमको खौलासम्म जोखिम छ ।
सडक जीर्ण हुँदा जोखिम बढेपछि दाङ-सल्यान खण्डका विभिन्न स्थानमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको छ ।
लोकमार्गको राम्री–हर्नेटी खण्डमा सडक विस्तार र कालोपत्र निर्माण गर्ने काम जारी छ । सुरुमा काम सुस्त भए पनि सम्बन्धित निकायको ताकेता, स्थानीय दबाब तथा जनप्रतिनिधिको चासोका कारण अहिले निर्माण कार्यले गति लिएको हो ।
संघीय सरकारले राप्ती लोकमार्गअन्तर्गत राम्री–हर्नेटी र खारखोला–सम्दीमोडसम्म करिब ११ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि गत वर्ष करिब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सडक डिभिजन कार्यालय दाङले गरेको ठेक्का अनुसार पिके निर्माण सेवाले करिब ४४ करोड रुपैयाँमा दुई वर्षभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको छ ।
निर्माण कम्पनीकातर्फबाट काम गरिरहेका इन्जिनियर प्रेम भण्डारीका अनुसार गत वर्ष जेठमा सम्झौता भएको यो योजना २०८४ जेठ ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समयभन्दा अगावै काम सक्ने गरी कामलाई तीव्रता दिइएको छ ।
‘२०८४ जेठ ४ गतेसम्म सम्पन्न गर्ने गरी गत वर्ष जेठ महिनामा सम्झौता गरेका हौं। सम्झौता भएको समयभन्दा पाँच-छ महिना अगावै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं’, उनले भने ।
अहिले सडक चौडा पार्ने काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ भने नाला तथा पर्खाल निर्माण पनि अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर अशोक चौधरीले जानकारी दिए । उनका अनुसार समग्र योजनाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
‘अहिले सडक चौडा पार्ने काम ९० प्रतिशत सकिएको छ। नाला तथा पर्खाल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । कामले तीव्रता लिएको छ’, उनले भने, ‘समग्र योजनाको करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
नवनिर्वाचित सांसदले गरे अनुगमन

यसैबीच सल्यानबाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले मंगलबार निर्माणाधीन सडकको स्थलगत अनुगमन गरेका छन् । उनले दाङ–सल्यान सडकखण्ड अन्तर्गत हर्नेटी-राम्री खण्डमा भइरहेको सडक विस्तार तथा स्तरोन्नतिको कामबारे निर्माण कम्पनी र प्राविधिक टोलीसँग जानकारी लिंदै कामलाई तीव्र गतिमा अघि बढाउन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।
‘राप्ती लोकमार्ग यस क्षेत्रको लाइफलाइन हो । यसको स्तरोन्नति छिटो सम्पन्न हुनुपर्छ । सल्यान, रोल्पा र रुकुमका नागरिकको सहज यात्राका लागि हामीले जसरी पनि पहल गरेर पूर्णरूपमा स्तरोन्नति गर्छौं’, उनले भने ।
वर्षायाममा हिलो तथा अन्य समयमा अत्यधिक धुलोका कारण यात्रुले समस्या भोग्नुपर्ने अवस्था रहेको भन्दै त्यसको नियन्त्रणका लागि आवश्यक तयारी गर्न पनि निर्माण कम्पनीलाई उनले आग्रह गरे ।
यी ३ खण्डमा हुँदैछ काम
अहिले राप्ती लोकमार्गका विभिन्न खण्डमा तीनवटा निर्माण कम्पनीले स्तरोन्नति, विस्तार तथा मर्मतका काम गरिरहेको छन् ।
सडक डिभिजन कार्यालय दाङका अनुसार राम्री-हर्नेटी खण्डमा पिके निर्माण सेवा, राम्री–कपुरकोट खण्डमा आरडी उज्ज्वल लोकमणि जेभी र बागचौर-खौला खण्डमा सुरत टक्सार जेभीले काम गरिरहेका छन् ।
राप्ती लोकमार्ग स्तरोन्नति सम्पन्न भएमा आवतजावत सहज हुने, यात्रु सुरक्षामा सुधार आउने तथा जिल्लाको आर्थिक, सामाजिक गतिविधि र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4